Thursday, September 24, 2015

जलेश्वरमा सहिदको सहादतलाई सलाम !

सहिद विरेन्द्र कुमार विच्छा र उनको श्रीमति र छोरा छोरी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेस आन्दोलनका क्रममा महोत्तरी जिल्लाले ६ जनालाई गुमाउनु परेको छ । प्रहरीले गोली चलाउँदा एउटै परिवारका हजुरबुवा र नाती, महिला, बालक लगायत ६ जना नागरिक गुमाउनु पर्दा महोत्तरी जिल्लावासी अहिले ठुलो शोकमा परेका छन् ।
समाजसेवी गणेश चौधरीको सहादत
’मेरा बुबा र छोराको के दोष थियो?’

ट्युसन सकिएपछि रोहन चौधरी घरतिर हिँडे । बाटोमा भेटिएका मामा विनोद चौधरीले ’झडप हुँदैछ छिटो घर जाऊ’ भनेपछि उनले हिँडाइको गति बढाए । तर महेन्द्र चोक काट्नै पाएनन् । प्रहरीले चलाएको गोलीले उनलाई भेट्यो । उनी ठाउँका ठाउँ ढले । १० कक्षामा पढ्दै गरेका १७ वर्षीय रोहनको मृत्युले जलेश्वर नगरपालिका(७ बजराहीको चौधरी परिवार शोकमा डुबेको छ । घरमा रुवाबासी चलिरहेको छ । बुधबार दिउँसो ३ बजेको त्यो घटनापछि अर्धअचेत उनकी आमा बबिताले एक दाना अन्न खाएकी छैनन् । रोहनका किताब, स्कुलको परिचयपत्र र मोबाइल हेर्दै भक्कानिन्छिन् । छिनछिनमा बेहोस हुन्छिन् । बर्बराइरहन्छिन, ’हमर बेटाके फिर्ता दिय (मेरो छोरा फिर्ता देऊ), मेरो छोराको के दोष थियो?’
रोहन जलेश्वरस्थित शिशु ज्ञान निकुञ्ज इङलिस बोर्डिङ स्कुलमा पढ्थे । ’पढाइमा राम्रो थियो, उसको इच्छा बुझेर डाक्टर वा इन्जिनियर बनाउने सपना थियो,’ विनयले भावविह्वल हुँदै भने ।
शुक्रबार फेरि त्यही परिवारमा अर्को बज्रपात आइलाग्यो । गाउँमा छिरेर प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा रोहनका हजुरबुबा ६० वर्षीय गणेशको ज्यान गयो । गणेश शुक्रबार साँझ हिँडडुल गर्न रतवाडा गाउँनजिक रहेको हटिया पुगेका बेला प्रहरीले गोली प्रहार गरेको थियो । बायाँ आँखामै गोली लागेर उनी साइकलसहित सडक किनाराको खेतमा ढलेका थिए । उनको घटनास्थलमै मृत्यु भयो ।
‘दुनियाँको सारा विपत मेरै परिवारका लागि पर्खेर बसेको रहेछ,’ छोरा र बुबा गुमाएका विनयले भने, ‘मेरा बुबा र छोराले के दोष थियो? निर्दोष छोरा र बुबा मार्नेको कहिल्यै भलो हुँदैन ।’ गणेश रेडक्रस उपशाखा जलेश्वरका सभापति थिए । उनी जिल्ला शाखामा ३० वर्षसम्म मन्त्री भएका थिए । उनले जनवानी साप्ताहिक, प्रभात पत्रिकामा सम्पादक रहेर समेत काम गरेका थिए । त्यसैगरी राष्टिूय समाचार समितिका महोत्तरी सम्वाददाता भएर समेत उनले काम गरेका थिए । यति मात्र होइन उनी रेडक्रस आँखा उपचार केन्द्रको व्यवस्थापक समेत रहेका थिए ।  भोज राज घिमिरे गृहमन्त्री भएका बेला जलेश्वर नगरमा उनी नगर पञ्चायतका उपसभापति समेत बनेका थिए । इस्माइल अन्सारी सभापति भएका बेला उनी उपसभापति भएका थिए । महोत्तरीका प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानीत पत्रकार कुमरकान्त झा भन्छन,“ उनी सदैव राजसंस्था र पञ्चायती व्यवस्थाका पक्षधर थिए । जब उनी नगरको उपसभापति भएर जनमत संग्रहमा बहुदललाई पराजित गरी निर्दललाई जिताउन भुमिका निर्वाह गरे तब उनलाई २०३६ साल तिर तत्कालीन राजा वीरेन्द्र शाहले सेवा पदकसमेत प्रदान गरेका थिए ।” पुर्व मन्त्री समेत रहेका तमलोपाका नेता गणेश तिवारी नेपाली भन्छन,“ गणेश चौधरी विशुद्ध समाजसेवी हुनुहुन्थ्यो । उनको जन्म नै समाज सेवाको लागि भएको थियो । सरल जिवन र उच्च विचार राख्ने उहाँमा महात्मा गान्धीजीको अन्स हेर्न सकिन्थ्यो । प्रहरीले उनको हत्या गरेर जघन्य, अक्षम्य अपराध गरेको छ ।” उनी रेडक्रस र पत्रकारिताका अतिरिक्त शिक्षा क्षेत्रमा पनि गम्भीर थिए । महोत्तरीको जलेश्वरमा मनिपाल इन्जिनियरिङ्ग कलेज संचालन गराउनमा उनले ठुलो योगदान निर्वाह गरेका थिए । त्यसैगरी उनी जलेश्वर क्याम्पसको संस्थापक सदस्य पनि थिए ।
गुरु पुर्णिमाका अवसरमा रोहण चौधरीले लेखेको पत्र
आदरणीय सम्मानीय गुरु वर्ग, सम्पुर्ण विद्यार्थी साथी भाईहरु  । म आज गुरु पुर्णिमाको विशेष दिनमा उज्जयालो भविष्य दिने यहाँ उपस्थित गुरु वर्गहरुका बारेमा केही भन्न गईरहेको छु । हामी आज जे पनि छौ त्यो सबै गुरुको कारणले नै हो । यदि आज अहिले यो संसारमा गुरु नभएको भए हामी बाँदर जस्तै हुन्थ्यौं । गुरु हाम्रो जीवनको महान सम्पती हो । हामीले गुरुलाई भगवानको रुपमा मान्ने गर्छाैं । हामीले गुरुको कारणले नै विद्या हासिल गर्न पाएका छौं । यदि गुरु नभएको भए आज कोही पनि व्यक्ति शिक्षित हुन सक्ने थिएन होला । गुरुको कारणले नै हामी सहि र गलत छुट्याउन सक्छौं । गुरुले गर्दा नै शिक्षित हुन्छौं र आफ्नो भविष्य बनाउन सक्छौं । शिक्षा विनाको जीवन अधुरो हो भने गुरु विनाको जीवन पनि अधुरो नै हो । यदि हामी विद्यालय गयौं र त्यहाँ गुरु नै छैन भने त्यो विद्यालयको केही पनि काम छैन । गुरुले गर्दा नै मानिस डाक्टर, इन्जिनियर, पायलट बन्छन् । गुरुलाई हामीले सधै सम्मान गर्नुपर्छ । उहाँहरुलाई सधै खुशी राख्नुपर्छ । र, कहिले पनि अपमान हुने काम हामीले गर्नु हुँदैन । विद्यालयमा हामी धेरै कुराहरु सिक्छौं । त्यो सबै गुरुहरुबाट प्राप्त गछौं । विद्यालयमा गएर हामीले थाहा नभएका कुराहरु सिक्छौं । यदि गुरुहरु नभईदिएको भए आज हाम्रो देशको अवस्था धेरै कमजोर हुन्थ्यो । गुरुको चित्त दुखाउनु भनेको आफ्नो बुवा र आमाको अपमान गर्नु हो । हामीले कुनै पनि नराम्रो काम गर्नु हुँदैन, जुन कामले गुरुको चित्त दुखोस् । यति भन्दै म तपाईहरुको माझमा एउटा कविता भन्न चाहन्छु । गुरु ब्रम्हा, गुरु विष्णु, गुरु देवो महेश्वर । गुरु भनेको ब्रम्हा, विष्णु र परमेश्वर हो । गुरु भनेको साक्षात देवता हो । गुरुलाई हामी सबैले सम्मान गर्नुपर्छ । यति भन्दै म आफ्नो दुई शव्द समाप्त गर्दछु, धन्यवाद ।
सहिद विच्छाको परिवारमा विजोग
सहिद रामविवेक यादव र उनको श्रीमति ।
महोत्तरीको पिगौना ६ का ३५ बर्षिय विरेन्द्र कुमार विच्छाको पारिवारिक अवस्था अत्यन्त दयनिय छ । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका विच्छाको गत शुक्रबार १० बजेर ७ मिनेटमा नर्भिक अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थियो । जनकपुरको राराब क्याम्पसमा स्नातकोत्तरमा अध्ययनरत विच्छा गाउँकै नजिक रहेको प्रकौली स्थित शान्ति निकेतन स्कुलमा पढाएर परिवारको जीवन यापन गर्थे । पिता देव चन्द्र विच्छा र माता उर्मिला विच्छाको सन्तानको रुपमा रहेका विरेन्द्र विच्छाको सहादत पछि उनको परिवारमा रुवावासी भएको छ । उनको श्रीमति सिम्पी विच्छाको अहिले सम्म होस आउन सकेको छैन । एक महिना अघि मात्र जन्मिएका उनका छोराको नामाकरण पनि गर्न सकिएको थिएन । त्यसैगरी २० महिनाको उनको एउटा छोरी रहेको छ ।
महिलाले पनि सहादत दिए
गाउँमा छोराको भविष्य राम्रो हुँदैन त्यहि भएर हातिलेट( ९ घर भएकी ४१ वर्षीया रामशिला मण्डलको अनुरोधमा उनका श्रीमान शम्भु मण्डलले पाँच वर्ष अघि सदरमुकाम जलेश्वर नगरपालिका (४ राजदेवी मन्दिर नजिक डेरा गरी बस्न थाले  । आफ्ना १४ वर्षीय छोरा सरोज मण्डल र १५ वर्षीय छोरा सन्तोष मण्डललाई जलेश्वरकै बोर्डिङस्कुलमा भर्ना गराएर उनीहरुको भविष्य उज्वल पार्ने विभिन्न प्रयास गरी रहेका थिए । तर जलेश्वरको शंकर चोकमा कर्फयु उल्लघंन गरी भई रहेको प्रर्दशन हेर्न शंकरचोक पुगेकी रामशिला मण्डललाई शुक्रबार भदौ २५ गते प्रहरीले चलाएको गोली टाउकोमा लागेपछि उनी त्यँही ढलिन, उनी ढले लगतै उनका छोरा छोरीको भविष्य पनि त्यँही ढल्यो ।
जे सपना बोकेर उनी गाउँ छाडेर सदरमुकाम जलेश्वर आइपुगिन् अव त्यही सपना पुरा नहुने भयो  । ’राम्रो अध्ययन अध्यापन गराए छोरालाई ठुलो मान्छे बनाउने उनको चाहना थियो,’ रामशिलाका देवर विरेन्द्र मण्डलले भने, ’तर अव उनी आफैं यो दुनियामा नरहेपछि उनका छोरा छोरीको भविष्य नै अन्यौलमा पर्ने भयो ।’  राप्रपा नेपाल कमल थापाको पार्टीका सक्रिय जिल्ला सदस्यसमेत रहेकी रामशिला गोली हानिएको दिन आन्दोलनमा सहभागी थिइनन् । उनी जलेश्वर २ शंकरचोक नजिक एउटा घरको ओत लागेर प्रर्दशन हेरिरहेकी थिइन् । त्यतिकैमा उनको टाउँका गोली लागेको देवर विरेन्द्र मण्डलले बताए ।
प्रहरी र प्रर्दशनकारीबीच भइरहेको झडपमा ढुंगा हान्ने आन्दोलनकारीलाई केही नहुनु, तर झडप हेरेर बसेकी आफनी भाउजुलाई गोली प्रहार गरेपछि उनको परिवारमा ठुलै बज्रपात भएको विरेन्द्रले बताए । रामशिलाका श्रीमान् शम्भु मण्डल डाम्ही मडै गाविसका प्राविधिक सहायक रहेका र उनले नै कमाएका पैसाले सबै परिवार खुशी खुशी बाचिरहेका थिए । तर, घरलाई ठिक ढंगबाट डोर्याएर लग्ने श्रीमतीको मृत्यु भएपछि श्रीमान शम्भु पनि विक्षिप्त भएका छन् । रामशिलाका दुवै छोरा पनि आमाको मृत्युले अन्त्यतै दुखित भएका छन् । छोराहरुले जलेश्वर ४ मा रहेको डेराको कोठामा आमालाई खोजी रहेका हुन्छन् ।  राति सुत्दासमेत उनका छोराहरु आमा आमा भनेर बर्वराउने गरेको उनका बुबा शम्भु मण्डलले बताए । शम्भुले मधेसमा जारी आन्दोलनमा आफ्नी श्रीमतीको सहादत खेर नजाने उनको भनाइ छ ।
सहिद राम विवेकको परिवारमा बंश नै नरहने खतरा
उक्त आन्दोलनका क्रममा महोत्तरीको जलेश्वरमा सबै भन्दा पहिले गोली लागेर मृत्यु हुने व्यक्ति हुन महोत्तरी ५, महोत्तरीका २२ बर्षिय रामविवेक यादव । पिता इन्दु यादव र आमा इन्दो देवीका एक मात्र छोराको रुपमा रहेका रामविवेकको ज्यान गएपछि उनको परिवारको वंश नै खतरामा परेको छ ।
गत फागुन महिनामा विहे गरेर ल्याएकी उनकी श्रीमति अनिला देवी यादव अब आफ्नो जीवन कसरी चल्ने हो भन्ने सोचका साथ अचेत भएकी छिन् । सकारात्मक कुरा के हो भने उनी अहिले गर्भवती छिन । र उनको परिवारको आशाको किरण बाँकी रहेको छ । आर्थिक रुपले अत्यन्तै विपन्न उक्त परिवारमा अहिले ठुलो विजोग परेको छ ।
परिवारको सहारा नै गुम्यो
महोत्तरीको बखरीका २२ बर्षिय अमित कापडको पनि उक्त आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गएको छ । उनको श्रीमति गर्भवती छिन । डेढ वर्षकी एउटा छोरी पनि छिन् । उनको बुवाको अवस्था शारीरिक रुपले पनि दयनिय छ । ५ भाई बहिनी रहेका अमितले टयाक्टर चलाएर परिवारको जीविको पार्जन गर्दै आएका थिए । उनका आमा राम सुन्दर कापडी विलौना गर्दै भन्छिन,“सिंगो परिवार उसैमाथि आश्रित थियो । छोरीको विहे गर्नुछ, परिवारको लालन पालन कसरी होला ?”

महोत्तरीको जलेश्वर बजराहीमा एउटै परिवारका हजुरबुवा गणेश चौधरी र नाती रोहण चौधरी सहिद भएका छन् । बायाँबाट क्रमशः गणेश चौधरीलाई राजा विरेन्द्रले पदक सेवाबाट सम्मान गर्दै, सहिद रोहण चौधरी, किरियामा बसेका रोहणका बुवा र भाई, गुरु पुर्णिमाको अवसरमा रोहणले लेखेको पत्र ।


२०७२ आशिन ०३ गते आईतबार

No comments:

Post a Comment