Tuesday, April 28, 2015

धनुषामा बढ्दो बलात्कार

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

मंगलबार हुन त सबैको लागि मंगलमय हुन्छ । तर, ८ बैशाख २०७२ को मंगलबार मेरो जिन्दगीमा ठुलो अमंगल बनेर आयो । मेरो छोरीको अस्मिता नै लुटियो । अब के गर्ने ? ए हजुर मेरो ८ बर्षिया छोरीले उसको के विगार गरेको थियो । उसलाई त दाई भन्थिन । उससँग त होमवर्क गराउन गएकी थिईन । तर, होमवर्क गराएर फर्किनुको सट्टा जिन्दगी नै लुटाएर आइन । अब मेरो छोरीको भविष्य के हुने हो ? मेरो छोरीसँग विहे कसले गर्ला ? उसको मानसिक अवस्था अब कस्तो रहला ? यी सबै प्रश्नहरु एक पिताको हो ।
११ बैशाख २०७२ का दिन जनकपुर अञ्चल अस्पतालबाट आफ्नो छोरीलाई डिस्चार्ज गर्ने तरखरमा अस्पतालको सैयामा रुँदै(कराउँदै एक पिता द एक्सक्लुसिभ सम्वाददाता सामु आफ्नो छोरीको इन्साफ र भविष्यका लागि गुहार लगाउँदै थिए । किन लगाए त उनले गुहार ?
जनकपुर उपमहानगरपालिका ९ रामानन्द चोकमा लक्ष्मेश्वर तिवारीको घरमा बुवाआमासंग भाडामा बस्दै आएकी ८ वर्षिय एक बालिका पुजा (परिवर्तित नाम)लाई लक्ष्मेश्वरकै छोरा २० वर्षिय दिपेन्द्र तिवारीले बलात्कार गरेको थियो ।
बलात्कृत भएकी ८ वर्षिय बालिका  जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदै । 
कक्षा ३ मा पढ्दै गरेकी पुजा मंगलबार सांझ विद्यालयबाट घर फर्किइन । करिब ५ बजे तिर खाजा खाईसकेपछि पुजाकी बुवाले पुजालाई होमवर्क बनाउन भने । अनि पुजाले पापा दिपेन्द्र दाई माथि हुनुहुन्छ, उहाँसँगै होमवर्क बनाएर आउछु भनेर भनिन । अनि उनको बुबाले पनि ल जाउ, छिट्टै होमवर्क बनाएर फर्किनु भनेर उनले अनुमति दिए । संजोग कस्तो रहेछ भने त्यो बेला दिपेन्द्रको दाई, आमा, बुवा सबै घरबाट बाहिर कुनै कामले गएका थिए ।
सोही मौका छोपी करिब साबा ५ बजेतिर दिपेन्द्रले पुजालाई कोठा भित्र थुनेर जवरजस्ती बलात्कार गरेका थिए । दिपेन्द्रका बुवा आमा घरमा नरहेको बेला उनले धेरैबेर पुजालाई आफ्नो कोठामै थुनेर पटक पटक बलात्कार गरेका थिए । १ घण्टा पछि आमा नास्ता गरिरहेको र बुवा काम गरिरहेको अवस्थामा माथिबाट पुजा तल ओर्लिदा उनको सम्बेदनशिल अंगबाट रगत बगिरहेको थियो । मम्मि मम्मि मेरो जिउबाट रगत बगिरहेको छ  डराउँदै पुजाले भनेपछि आमा बुवा दौडिदै पुजातर्फ भागे । अवस्था देखेपछि पुजाकी आमाले घरको छिमेकमै बसोवास गर्ने एकजना नर्सलाई बोलाएर पुजालाई हेर्न लगाए । जब ती नर्सले पुजासँग बलात्कार भएको बताएपछि पुजाका आमा बुवाको होस नै उड्यो । ती नर्सले छिट्टै अञ्चल अस्पताल लग्नुस बताएपछि पुजालाई अञ्चल अस्पताल पु¥याइयो । त्यतिबेला अञ्चल अस्पतालमा कार्यरत प्रहरीले बस्तुस्थिति अवलोकन गरेर जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरेपछि प्रहरी उपरीक्षक गणेश बहादुर थापा आफै आएर मेडिकल जाँच गर्न लगाए । घटना लगत्तै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढायो । सुरुमा दिपेन्द्रले इन्कार गरेपनि जब दिपेन्द्रको बुवाले दिपेन्द्रलाई कुटपिट गरे अनि दिपेन्द्रले घटना गरेको स्वीकार गरेको पीडितका बुवाले बताएका छन् । सोही दिन प्रहरीले दिपेन्द्रलाई गिरफ्तार गरे भने पीडित पक्षबाट पुजाका बुवाले किटानी जाहेरी समेत दर्ता गरे । पुजाको उपचारमा संलग्न चिकित्सक डा.विजय कुमार सिंहका अनुसार पुजालाई जुनदिन अस्पताल ल्याइयो इमर्जेन्सी कक्षमा भर्ना गरियो त्यो दिन पुजाको थुप्रै ब्लिडिङ भईरहेको थियो । प्रिनियल टियर भएको थियो । एनसको तल देखि पाठेघरको मुख सर्भिक्ससम्म करिब ४ इन्चसम्म टियर थियो । धेरै रगत बगेको अवस्थामा ल्याइएको थियो । हामीले त्यो घाउलाई रिपेयर गरेर १२ गते औषधिहरु लेखेर डिस्चार्ज गरिसकेका छौं । करिब १ सप्ताहसम्म औषधि खायो भने उनी निको हुनेछिन् ।
बलात्कारका अभियुक्त दिपेन्द्र तिवारी प्रहरी हिरासतमा ।
 पीडितका बुवाका अनुसार दिपेन्द्रले पुजालाई बलात्कार गरेपछि कसैलाई भन्यो भने ज्यानले मारिदिन्छु भनेर थर्काएका समेत थिए । घरमै रहेको पाइप देखाउँदै पुजालाई डराएर दिपेन्द्रले बलात्कार गरेको भन्दै पीडित पुजाका बुवा भन्छन,“मेरो छोरीले इन्साफ पाउनु पर्छ । पीडक दिपेन्द्रलाई हदैसम्मको कारवाही हुनुपर्छ । इन्साफको लागि जस्तो सुकै संघर्ष गर्नुपरे पनि आफु पछाडी हटदिन ।” शारिरीक रुपले पोलियोको शिकार भएर विगत ८ बर्ष देखि अपाङ्गताको शिकार भएपछि व्हील चेयर चढ्ने पीडित पुजाका बुवा आफ्नो जीवन यापनका लागि सोही ठाउँमा विगत १७ वर्ष देखि तिवारीको घर भाडा लिएर बसोबास गर्दै आएका थिए । जिविको पार्जनका लागि उक्त घरको तल एउटा सटरमा सिलाई बुनाईको काम गर्दै आएका पुजाका बुवा भन्छन,“ विगत १७÷१८ वर्ष देखि म त्यो कोठामा भाडा लिएर बस्दै आएको छु ।
    घर बेटी तिवारीसँग पारिवारिक सम्बन्ध बनिसकेको थियो । मेरै अगाडी जन्मिएको दिपेन्द्रले मेरो छोरीको जिन्दगी यसरी समाप्त पार्ने छन् भनेर मैले सपनामा पनि सोचेको थिइनँ । अब मेरो छोरीको जिवन कसरी अगाडी वढ्ने हो ? मेरो छोरीले इन्साफ पाउनै पर्छ ।” २५÷२६ बर्ष देखि रामानन्द चौकको त्यही मोहल्लामा बसेका कारण भिडका भिड मानिसहरु अस्पतालमा पुगेर सोधी खोजी गर्न थालेपछि अब आफुलाई अझै यातना भईरहेको पीडित पुजाका बुबाले बताए । ११ बैशाखमा डिस्चार्ज गराई उनले पुजालाई आफन्तको घरमा लगेका छन् ।
पीडित बालिकाका बुवा शारिरीक रुपले अपाङ्ग छन् । 
उनी व्हील चेयर प्रयोगकर्ता हुन । जनकपुर अञ्चल
 अस्पतालमा राखिएको उनको व्हील चेयर ।
यता, बुधबार विहानै देखि युवा तथा नागरिक समाजका अगुवाहरुले बलात्कारीलाई कडा कार्वाहीको मांग गर्दै प्रर्दशन गरिरहेका छन् । बालिका बलात्कार गर्नेलाई सार्वजनिक रुपमा सजाय दिनुपर्ने र उनको सम्पत्तिबाट आधि सम्पत्ति पिडित बालिकालाई दिलाउनुपर्ने मांग गर्दै युवाहरुले जिल्ला प्रहरी कार्यालय धनुषामा डेलिगेशन समेत बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय डेलिगेशन लिएर पुगेका युवाहरुलाई धनुषाका प्रहरी उपरिक्षक गणेश बहादुर थापाले बलात्कारीलाई हदैसम्म कार्वाहीका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको डेलिगेसनमा सहभागि सरोज कुमार मिश्रले बताएका छन् ।
    धनुषामा बलात्कारका घटनाहरु दिन प्रति दिन वढ्दै गइरहेको छ । आर्थिक वर्ष २०७१÷०७२ को चैत्र महिनासम्मको तथ्याङक हेर्ने हो भने विगत १० महिनामा धनुषामा जम्मा १४ वटा बलात्कारका मुद्दाहरु जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । जसमध्ये १३ वटा घटनाको फर्छौट भईसकेको छ भने १४ जना प्रतिवादीहरु पक्राउ परेका छन् । र, ६ जना प्रतिवादीहरु फरार रहेका छन् । त्यसैगरी विगत १० महिनामा बलात्कारको प्रयास अर्थात जवर्जस्ती करणी उद्योग अन्तरगत कुल ७ वटा मुद्दा दर्ता भएकोमा ७ प्रतिवादीहरुमध्ये ६ जना पक्राउ परिसकेका छन् भने १ जना फरार रहेका छन् ।

२०७२ बैशाख १३ गते आईतबार

No comments:

Post a Comment