Tuesday, October 7, 2014

मेसु मिश्रद्वारा धमाधम अवैध नियूक्ति


१९ फागुन २०६९ मा जनकपुर अञ्चल अस्पतालमा
रामवृक्ष यादव स्मृति भवन (आइसियू भवन) निर्माण कार्य सम्पन्न नहुँदै
उदघाटन गर्दै तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महत्तो ।
ठीक त्यसैगरी उपचार सुरु नहुँदै निमित्त मेसु डा.बलराम मिश्रले
आइसियूका लागि अवैध तरिकाले चिकित्सक नियूक्त गरेका छन् ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
काम कुरो एका तिर कुम्लो बोकी ठीमी तिर भन्ने उखान झैं तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महत्तोले १९ फागुन २०६९ मा भवन निर्माणको कार्य सम्पन्न नहुँदै जनकपुर अञ्चल अस्पतालको आइसियू भवन उदघाटन गरेका थिए । भवनको पर्खालमा आफ्नो नाउँ लेखाउन मात्र उनी आतुर थिए । 
जनकपुर अञ्चल अस्पतालमा आइसीयू भवन उदघाटन गरेर मन्त्री महत्तोले आफ्नो नाउँ भित्तामा लेखाएपनि उदघाटन गरेको १८ महिना वितिसक्दा पनि उपचार सूरु हुन सकेको छैन । रु. १ करोड ७८ लाखको लागतमा बनेको जनकपुर अञ्चल अस्पतालमा रामबृक्ष यादव स्मृति भवनको स्वास्थ्य मन्त्री राजेन्द्र महत्तोले उदघाटन त गरे तर त्यहाँ आइसियू भवनमा अहिले उपचार भईरहेको छैन । बरु, उक्त भवन भित्र डेन्टल चेयर लगायतका सामग्रीहरु भन्डारन गरिएको छ ।
जनकपुर अञ्चल अस्पतालका निमित्त
मेसु डा.बलराम मिश्र 
ठीक त्यसैगरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.बलराम मिश्रले उपचार सुरु नभएपनि आइसियूमा उपचारका लागि भनेर करारमा ४ जना चिकित्सकहरुलाई नियूक्त गरिसकेका छन् । डा. सुस्मिता झा, डा.निरज ठाकुर, डा. नितु झा र डा. रविन झालाई आइसियू सेवाका लागि उनले अञ्चल अस्पताल विकास समितिको तर्फबाट तलब खानेगरी  ३ महिनाको लागि करारमा नियूक्ति गरेका छन् । अब संजोग नै भन्नुपर्छ, मेसु मिश्र, तत्कालिन विकास समितिका अध्यक्ष कामेश्वर झा र नियूक्त हुने चिकित्सकहरु भुमिहार जातिका परे । फेरी अर्को संजोग के हो भने तत्कालिन स्वास्थ्य मन्त्रालयका सचिव डा.प्रविण मिश्र पनि जातिले भुमिहार नै थिए । प्रमुख कुरा के हो भने मेसु मिश्रले ती चिकित्सकहरुलाई नियूक्ति गर्दा न कुनै विज्ञापन निकालेका थिए, न त कुनै प्रतिस्पर्धा गराई छनौट गराएका थिए । यति मात्र होइन, मेसु मिश्रले ८ असोज २०७० मा स्वास्थ्य मन्त्रालय चिकित्सक सेवा महाशाखामा नेपाल सरकार सचिव स्तरको ६ असोज २०७० को निर्णयबाट आठौं तह मेडिकल अधिकृत ५ जना, पाँचौं तह स्टाफ नर्स ९ जना, चौथो तथा पाँचौं तहको हेल्थ असिस्टेन्ट तथा अहेव ४ जना पाँचौं तहको कम्प्युटर अपरेटर १ जना र श्रेणी विहिन स्वीपर गरी कुल २८ जनाको दरबन्दी स्वीकृत गरिएको थियो । सोही अनुसार निमित्त मेसु मिश्रले ४ अषाढ २०७१ मा मेडिकल अधिकृत, स्टाफ नर्स र हेल्थ असिस्टेन्ट÷अहेव पदको निमित्त ३ महिने करार नियूक्तिको लागि अन्नपुर्ण पोस्ट पत्रिकामा निवेदन दरखास्त आह्वान गरिएको थियो । तर, विज्ञापनमा मेडिकल अधिकृत ५ जना स्वीकृत दरबन्दी अनुसार नै रहेपनि स्टाफ नर्समा स्वीकृत दरबन्दी भन्दा ५ जना वढी गरी १४ जना र हेल्थ असिस्टेन्ट÷अहेव दरबन्दी अनुसार ४ जनाको विज्ञापन गरिएको थियो । स्वीकृत दरबन्दी अनुसार कम्प्युटर अपरेटर र स्वीपरको विज्ञापन नै गरिएको थिएन । यसमा पनि मेसुले अनियमितता गरेको देखिन्छ । त्यसको कारण के हो भने मेसु मिश्रले जनकपुर नर्सिङ कलेजबाट तलब खानेगरी १ जना दरबन्दीमा यस अघि नै संतोष मिश्र र दिपेन्द्र मण्डललाई नियूक्ति गरेका थिए । विना विज्ञापन र प्रकृया नै नपु¥याई गरिएको उक्त नियुक्तिलाई वैधता प्रदान गर्न उनले दाउ पेच गरेको हुनसक्ने अस्पतालमा कार्यरत कतिपय कर्मचारीहरुको भनाई छ । सोही विज्ञापन अनुसार मेसु मिश्रले निवेदन दिएकाहरुको १६ र १७ साउन २०७१ मा दिनको १० बजे देखि अन्तरवार्ता हुने र उक्त अन्तरवार्तामा स्वयम उपस्थित हुन जनकपुर अञ्चल अस्पताल विकास समितिको नाउँमा स्थानिय अखबार जनकपुर एक्सप्रेसमा १० साउन विज्ञापन प्रकाशन गरेका थिए । त्यसैगरी १६ गते स्टाफ नर्स र हेल्थ असिस्टेन्ट, १७ गते मेडिकल अधिकृत र अहेव पदको अन्तरवार्ता लिइने १४ साउन २०७१ मा अस्पतालको सूचना पाटीमा मिश्र हस्ताक्षरित सूचना टाँसियो । उक्त सूचना अहिले पनि टाँसिएकै छ । तर उक्त विज्ञापनबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञापनमा समावेशी आधार नछुटयाइएको हुनाले अन्तरवार्ता स्थगित गर्न मेसु मिश्रलाई निर्देशन दिएपछि हालसम्म उक्त अन्तरवार्ता स्थगित गरिएको छ । लिखित परीक्षा नै नलिई अन्तरवार्ताको माध्यमले आफन्त तथा आफु खुशी व्यक्तिलाई छनौट गरेर विकास समितिमा नियूक्त गर्न सकिने मेसु मिश्रको दाउलाई अख्तियारले तत्काल रोकिदिएको छ । स्रोतका अनुसार समावेशी कसरी बनाउने र आधार के हुने हो भनेर मेसुले जलेश्वर स्थित लोक सेवा आयोगलाई पत्राचार गरेका छन् ।
जनकपुर अञ्चल अस्पतालको नव निर्मित आइसियू भवन  ।
१६ असोज २०६९मा मिश्र निमित्त मेसु बनेका थिए । हालसम्म उनले जनकपुर नर्सिङ कलेज र अस्पतालको विकास समितिमा अबैधानिक तरिकाले कर्मचारीहरुको नियूक्ति गरेको बताईन्छ । स्रोतका अनुसार केही महिना अघि मात्र उनले जनकपुर नर्सिङ कलेजमा विएससी नर्सिङ शिक्षकको रुपमा शान्ति बास्तोलालाई अवैधानिक तरिकाले नियूक्त गरेका छन् । यस अघि पनि उनी मेसु भएपछि उक्त कलेजमा वार्डन निलम शर्मा, कम्प्यूटर अपरेटरमा संतोष मिश्र र दिपेन्द्र मण्डललाई नियूक्त गरेका थिए । यति मात्र होइन । शम्भु पंडितलाई मुखिया सरह डूाइभरको रुपमा नियुक्त गरिसकेका छन् । यति मात्र होइन नर्सिङ कलेजका कर्मचारीहरु श्रीचन मण्डल, राम दिनेश चौधरी, रामनृत्य मण्डल, दिलिप मेस्तर, सरोज सिंह, संतोष मिश्र, संजय यादव, प्रमिला साह, विरबहादुर साह, प्रमोद यादव, मनोज राय, सौदागर सदा लगायत करिब १८ जना कर्मचारीहरु अञ्चल अस्पतालमा खटाइएको छ । तलब नर्सिङ कलेजबाट खाने तर काम भने मेसुले अञ्चल अस्पतालमा गराउने गरेकोले कलेजमा जनशक्तिको अभाव भएको कलेजका प्रिन्सिपल जय किशोर लालले बताए । पछिल्लो समयमा मेसु मिश्रले परिवार नियोजन महाशाखा अन्तरगत काउन्सलर पदमा जयकुमार झालाई तिन महिने करारमा नियूक्त गरेका छन् । उक्त नियुक्ती पनि विज्ञापन आह्वान नगरी गरिएको अस्पताल स्रोतको दावी छ । त्यसैगरी एनेसथेसियाका लागि डा. ऋषी साहलाई ३ महिने करारमा परिवार नियोजनबाट तलब खाने गरी नियुक्त गरेका थिए । 
अञ्चल अस्पतालमा स्टाफ नर्स अनिता मण्डल, निलम कुमारी यादव, गिता श्रीवास्तव, अनमी निलम कुमारी यादव, अहेवहरु विनोद चौधरी यादव, कृष्णा चौधरी, कविता चौरसिया, ल्याब टेक्निसियन सुन्दरी कुमारी ठाकुर लगायत ८ जना कर्मचारीहरु आमा सुरक्षाको बजेटबाट ५ हजार रुपैयाँ मासिक तलब खाने गरी नियूक्त भएका छन् । त्यसैगरी विकास समितिको तर्फबाट अनमीहरु चन्द्र माया थापा, नैन तारा साह, राधा साह, रानी झा, सावित्री मण्डल लगायतका कर्मचारीहरु ५ हजार मासिक तलब खाने कर्मचारीहरु छन् । त्यसैगरी दैनिक ज्यालादारीमा विकास समितिको तर्फबाट डा.रविन्द्र सिंह, डा. अनिल ठाकुर, डा. शशि ठाकुर, डा. अवधेश कान्त झा, डा. दिपेन्द्र कुमार यादव, डा. विजय कुमार सिंह, डा. धिरेन्द्र कुमार साह, डा.महेश महासेठ, डा. भगवान केवट मलाह, कार्यरत छन् । महत्वपुर्ण के हो भने यिनीहरु मध्ये कतिपय चिकित्सकहरु २०५५ साल देखि नै ज्यालादारीमा नियूक्त भएका छन् भने कतिपय पछिल्ला २ वर्षमा नियूक्त भएका छन् । करारमा डा.रामविनय चौधरी, डा.रामजी यादव, डा.कुन्दन मिश्र, डा.कृष्णदेव दास, डा. सुशमिता झा, डा.नितु झा, डा. निरज ठाकुर नियुक्त भएका छन् । 
यसरी हेर्ने हो भने मेसु मिश्रले आफु खुशी धमाधम अवैध तरिकाले कर्मचारीहरु नियुक्ति गर्ने गरेको देखिन्छ । अञ्चल अस्पतालका सूचना अधिकृत दिवाकर प्रकाश थापा र दिपक ठाकुरसँग पछिल्लो ५ वर्षमा कति कति कर्मचारीहरुको नियूक्ति भएको हो, कुन पदमा कस्तो प्रकृतिको नियुक्ति भएको हो भन्ने सूचना माग्दा थापाले आफु नयाँ भएको कारण आफुलाई केही थाहा नभएको र दिपक ठाकुरले कर्मचारीहरुको नियुक्ति विवरण सम्बन्धि फाइल भेटन गाह्रो भएको बताएका थिए । कार्यालय सारिएपछि फाइलहरु नभेटेको उनले जवाफ दिए । पछिल्लो ५ वर्ष देखि नयाँ नियूक्ति भएका कुन कुन कर्मचारीहरुलाई तलब खुवाईराख्नु भएको छ भन्ने प्रश्न गर्दा लेखा फाँटमा बुझ्न जाँदा लेखा अधिकृत अरुण कुमार झा र नर्सिङ क्याम्पसका लेखा फाँटका कर्मचारी फुलकुमार यादवले उक्त कुरा प्रशासन फाँटबाट लिनुपर्ने भन्दै टारेका थिए । यता नर्सिङ क्याम्पसमा क्याम्पसका प्रिन्सिपल जयकिशोर लालसँग विहिबार कर्मचारी नियूक्ति विवरण माग गर्दा शुक्रबार आउनुस्, शुक्रबार गएपनि उनी नियतवस क्याम्पसै आएनन् । यी सम्पुर्ण कुराहरुले के पनि देखिन्छ भने अञ्चल अस्पतालमा मेसु मिश्रले अवैध नियूक्तिहरु गरेका छन् ।
अञ्चल अस्पतालको लेखा अधिकृत अरुण झाका अनुसार अञ्चल अस्पतालमा आर्थिक वर्ष २०७०÷०७१ मा नेपाल सरकार तर्फ ९१ जना कर्मचारीहरुको तलब बापत २ करोड ७५ लाख ५७ हजार ६ सय ६० रुपैयाँ र विकास समिति तर्फ १ सय ३९ जना कर्मचारीहरुको तलब बापत २ करोड ३२ लाख ८३ हजार ४५ रुपैयाँ खर्च भएको छ । त्यसैगरी नर्सिङ कलेजमा २९ जना कर्मचारी वापत ३ लाख ८९ हजार १ सय ३० रुपैयाँ तलब र ३६ हजार रुपैयाँ भत्ता मासिक खर्च भईरहेको फुलकुमार यादवले जनाए ।


२०७१ असोज ०५ गते आईतबार

No comments:

Post a Comment