Tuesday, September 16, 2014

जनकपुरधामको गिर्दो छविको जिम्मेवार को ?-शैलेश दास


शैलेश दास

पुर रम्यता राम जव देखी हरषे अनुज समेत विसेषी ।
बनह न बरनत नगर निकाई जहाँ जाई मन तहँइँ लोभाई ।।
((तुलसी रामायण बालकाण्ड)
रामायणलाई मान्ने हो भन्ने आजभन्दा अन्दाजी पाँच हजार वर्ष पुर्व ने जनकपुरको लोभलाग्दो अनुपम सुन्दरता देखि मर्यादा पुरुषोत्तम राम स्वयं नै हर्ष विभोर भई मोहित हुन पुगेका थिए । कालान्तरमा निश्चय पनि जनकको यो पवित्र तपोभुमिमा अनेकन उतार चढाव आएको होलान जुनकि अन्वेषकहरुले इतिहासको गर्भमा खोज्नुपर्ने विषयवस्तु हुन् ।
वर्तमान सन्दर्भमा जनकपुरको विकास गर्ने कुरा उठ्दा प्रायः यहाँ यसको धार्मिक संरक्षणको कुरा पनि सँगै उठ्न गरेको सुनिन्छ । हो, यस कुरालाई नकार्न सकिन्न कि जनकपुरको दिगो विकासका लागि यसको पौराणिकता र धार्मिक संरक्षणमाथि जोड दिइनु पर्दछ । तर के यहाँको नागरिक समाज, वौद्धिक वर्ग, प्रशासन, एनजिओ÷आइएनजीओ तथा नगरपालिका र जिल्ला विकास समिति जस्ता विकास ऐजेन्सीहरु वास्तवमा यस तर्फ इमान्दारीपुर्वक सचेष्ट छन् त ? यो खुशीको कुरा छ कि २०४६ सालको परिवर्तनपछि यहाँका धेरैजसो यूवाहरुमा पनि एक किसिमको राजनीतिक  र सामाजिक जागृति आएको देखियो । फलस्वरुप यहाँ जनकपुरमा पनि ठुलो आशा र उत्साहसाथ सामाजिक क्षेत्रमा अनेक यूवा समितिहरु स्थापित गरिए । हो, यो अर्के कुरा छ कि ती मध्ये अधिकांश यूवा समिति वा क्लब आफ्ना सामाजिक उद्देश्यप्रति त्यतिको गम्भीर भएको देखिएन वा कोही कोही केही अवस्थामा क्लबलाई नै आ(आफ्नो स्वार्थ साध्ने औजारसमेत बनाएको पाइयो । अर्कोतर्फ अन्य सरकारी एजेन्सी वा निकायहरु जनकपुरको विकास प्रति साँचो अर्थमा सम्बेदनशील र सचेष्ट भई दिएको भए जनकपुरको सामाजिक र धार्मिक अवस्था कसरी दिन प्रति दिन यस किसिमबाट दयनीय हुँदै जाने थियो त ? जनकपुरको धार्मिक संरक्षणको सवालमा बृहत्तर जनकपुरको पनि त्यत्तिकै जिम्मेवारी छ । त्यस्तै यस कुरा तर्फ यहाँका वैष्णव समुदाय र महाधीशहरुसमेतले पहल गर्नुपर्ने थियो । पगलाबाबाको जागरुकता हेरेर उनी यस तर्फ पनि लाग्ला भने धेरैको अनुमान थियो । तर उनी धर्मशाला बनाएर केहीको पेट पालन गर्ने भाँडो बनाई त्यसै चुप लागेर बसे ।
जनकपुरको लाजमर्दो दलनिकास, सडक र त्यसमाथि जथाभावी थुप्रिएका फोहोरमैलाको कुरै नगरौं । यो त जगजाहेर भईसकेको छ । जनकपुरको नाम जति पवित्र छ यो नगर उतिकै अव्यवस्थित र फोहर छ । यहाँको विकासको कुरा गर्दा एउटा के कुरा पनि विचारणीय छ भने जनकपुरको विकास कलकारखाना, उद्योग, तारे होटल र ठुल्ठुला भवन आदि ठडाउनाले मात्र पनि हुँदैन । यसको दिगो र प्रभावकारी विकासका लागि यस तीर्थस्थलको पौराणिकता उजागर हुने गरी यहाँ धार्मिक संरचना खडा गरिनुपर्छ र विष्णुपुराण तथा मिथिला महात्मामा वर्णित पवित्र सरोवर तथा यहाँका कुप, कुण्ड, कुटी, मठमन्दिर र आश्रमहरुको बचाव र वृद्धि गर्नुपर्ने हो । किनभने आममानिस र श्रद्धालु तीर्थयात्रुहरुमा यो धार्मिक स्थलहरुप्रति परम्परादेखि अगाध आस्था र विश्वासउ रहि आएको छ । मानिसहरुको मनमा रहेको यस किसिमको श्रद्धा र विश्वास नै जनकपुरको स्थायी विकासका लागि भरपर्दो पूँजी हुन् । लौ भन्नुहोस त जनकपुरमा जानकी मन्दिर( नौलखा) कसरी अस्तित्वमा आयो ? रानीको मनमा माता जानकीप्रति भएको प्रगाढ. श्रद्धा र अटल विश्वासको प्रतिफल यो नौलखा होइन र ?
तर दुःखको कुरा के छ भने आज जनकपुरका ती परम्परागत धार्मिक छवि बोकेका विन्दुहरुलाई नै विगार्ने खेल यहाँहरुमा अनायास जुन किसिमको पवित्र र धार्मिक भावना मनमा स्वतः उब्जन गरेको थियो त्यसमाथि अब आघात पुग्न थालेको छ । ती आस्थाका विन्दुहरु अर्थात पवित्र पोखरी र मठमन्दिरहरु उजाड हुन पुगेका छन् । या धेरैजसो लोप नै गरी सकिएका छन् । जनकपुरमा पस्नासाथ चौक, चौबाटो र नाकाहरुमा मद्य, मांस र माछाको खुलेआम पसलहरु त्यस्तै छ र प्रष्टै देखा पर्दछन् । जसलाई हेरेर आगन्तुक तीर्थयात्रुहरु नाक भौं मात्र खुम्चयाउदैनन् बल्कि चकित पनि हुँदा रहेछन् । मीट हाउस, माछा फ्राई र सेकुवा पसलको दृष्य देखेर तिनीहरुमा जनकपुरप्रति वितृष्णाको भाव पैदा हुँदो रहेछ । हुँदाहुँदै अब त यस्ता मस्ती पसलहरु राम र जानकी मन्दिरकै छेउ छाउमा पनि चलिरहेको देखिन्छ । जसले गर्दा तिनीहरु सोच्न बाध्य हुन्छन् कि के माता जानकीको जन्मस्थान र मर्यादा पुरुषोत्तम श्रीरामको ससुराली यै जनकपुर हो त ? र, सकेसम्म अब जनकपुरमा आउन नपरोस भन्ने नकारात्मक भावना लिई ती विचरा तीर्थलुहरु यहाँबाट फर्कने गरेका छन् ।
सयकडौं वर्ष पहिले देखि नै जनकपुरमा माछा मासु मार्नु, काटनु वर्जित थियो । तर अब त परिक्रमाभित्रै पनि केही टोलमा खसी बाख्रा काटेर मासु विक्री गर्ने गरिन्छ । जुनकि यहाँको धार्मिक परम्परा विपरितका कुरा हुन । स्मरण रहोस कि वैष्णव धर्म आचरण विपरित यस्ता काम धंदा यहाँ जनकपुर क्षेत्रमा १९३३ साल देखि नै प्रतिवन्धित थियो । जुन परम्परालाई आदर गर्दै नेपालको सर्वोच्च अदालत समेतले जनकपुरको सो धार्मिक अक्षुणतालाई कायम राख्न निर्णय गरेको देखिन्छ । तर त्यसको पालन खोई ? यस्तो अवस्थामा जनकपुरको धार्मिक छवि लोप हुँदै गयो भने यसको अस्मिता र अस्तित्वकै के ठेकान रहला र ? 

२०७१ भदौ २९ गते आईतबार

No comments:

Post a Comment