Tuesday, November 14, 2017

बर्ग संघर्षबाट उदाएका रामचन्द्र झाको चुनाव जित्ने दावी

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम..................
धनुषाको निर्वाचन क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रका केन्द्रिय नेता रामचन्द्र झाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । विगतमा पटक पटक प्रत्यक्षबाट सांसद भईसकेका झा भने दोस्रो संविधान सभामा माओवादी केन्द्रबाट धनुषाको क्षेत्र नं.१ बाट पराजय भोगेका थिए । पहिलो संविधान सभामा एमालेबाट जितेका झा प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री समेत भएका थिए । पछि एमाले छाडेर माओवादी गएका झा माओवादी समेत परित्याग गरी नयाँ शक्तिमा गएका झा स्थानीय तहको चुनाव अघि पुनः माओवादीमा फर्किएका थिए । उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका रामकृष्ण यादवसँग हुने अनुमान गरिएको छ । यादव अहिले नेपाल सरकारको कृषि मन्त्री हुन । उनी पहिलो र दोस्रो संविधान सभामा धनुषा क्षेत्र नं. २ बाट लगातार सभाषद भएका थिए । दुवै पटक निरन्तर जित्न सफल भएका यादव तेस्रो पटक समेत ह्याट्रिक लगाउने उद्देश्यले चुनावी मैदानमा ओर्लिएका छन् ।
संघीय समाजवादी फोरम नेपालबाट सोही क्षेत्रमा प्रतिनिधि सभाका लागि उमाशंकर अरगरियाले उम्मेदवारी दर्ता गराएका छन् । फोरम लोकतान्त्रिकको दुई नं. प्रदेशका संयोजक समेत रहेका अरगरियाले चुनावको मुखैमा फोरममा प्रवेश गरेका हुन । विजयकुमार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गरेपछि अरगरिया सहित धनुषाको अधिकांश फोरम लोकतान्त्रिकका नेताहरु फोरममा प्रवेश गरेका थिए । दोस्रो संविधान सभाको चुनावमा धनुषाको क्षेत्र नं. १ बाट फोरम लोकतान्त्रिको टिकट लिएर प्रत्यक्ष निर्वाचनमा लडेपनि अरगरिया पराजित भएका थिए । रामचन्द्र झा जित्ने हुन वा होइनन् त्यो भने मंसिर २१ गते हुने निर्वाचन पछि प्रष्ट हुनेछ । तर, कम्यूनिष्ट नेताका रुपमा स्थापित रामचन्द्र झा भने जित हुनेमा ढुक्क छन् ।
रामचन्द्र झाको राजनीतिक यात्रा
रामचन्द्र झा २०३१ साल देखि राजनीतिमा सक्रिय भएका हुन । खास गरेर ग्रामिण क्षेत्रमा वर्ग संघर्षको आन्दोलनबाट राजनीति करियर उनले सुरुवात गरेका हुन । त्यतिबेला कम्यूनिष्ट पार्टीका जल्दो बल्दो नेता थिए सुर्यनाथ रान । त्यसपछि तत्कालिन माले कोओर्डिनेशन केन्द्रका राजनीतिमा स्थापित थिए योगेन्द्र साह । धनुषा निर्वाचन क्षेत्र नं.१ र २ मा ती दुवै जना कम्यूनिष्ट नेताहरुले आफ्नो प्रभाव बढाईरहेका थिए । सोही क्रममा झा ती नेताहरुको सम्पर्कमा आए । त्यसपछि झाको गाउँ लगमामा संगठनात्मक गतिविधिहरु हुन थाल्यो । गाउँ देखि इलाका सम्मको संगठन बनाउन उनी लागि परे ।
२०३६ सालको जनमत संग्रहमा पनि झा क्रियाशिल भएर लागेका थिए । धनुषाको यदुकुहामा जनमत संग्रहमा बहुदलको पक्षमा भाषण गरेर उनी चर्चित भएका थिए । क्रमशः २०४६ सालमा संयूक्त जनआन्दोलनको घोषणा भएपछि आन्दोलनमा बाममोर्चाको तर्फबाट झालाई धनुषाको कमाण्डर नै नियूक्त गरिएको थियो । २०४६ सालको आन्दोलनमा उनी मालेसँग आवद्ध थिए । गाउँ कमिटि देखि इलाका कमिटि, क्षेत्रिय कमिटि हुँदै जिल्ला कमिटिसम्मको नेतृत्व गरेका झा एमालेमा जनकपुर अञ्चल कमिटीको इन्चार्ज समेत बनेका थिए । एमालेको राजनीतिमा उनी केन्द्रिय कमिटि हुँदै पोलिट व्यूरोसम्म पुगेका थिए ।
चौथो महाधिवेशनबाट मुलतः राजनीतिमा प्रवेश गरेका झा माले हुँदै एमालेमा लागेका थिए । २०६९ सालसम्म एमालेमा आबद्ध रहेका झा एमाले परित्याग गर्दै तत्कालिन नेकपा माओवादीमा प्रवेश गरेका थिए । फेरी माओवादी परित्याग गर्दै नयाँ शक्ति पार्टीमा सह संयोज कबनेका झा स्थानीय तहको दोस्रो चरणको निर्वाचन अघि पुनः नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा एमालेबाट धनुषा क्षेत्र नं.१ मा निर्वाचित भएपछि बनेको पहिलो सरकार अर्थात पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा झा स्थानीय विकास मन्त्री बनेका थिए ।
पहिलो पटक व्यवस्थापिका संसदमा निर्वाचित भएपछि उनी प्रतिनिधि सभाको सदस्यको हैसियतले केही विकास निर्माणका कामहरुको सुरुवात गरेका थिए । धनुषाको क्षेत्र नं. १ त्यतिबेला अत्यन्तै विकट र दुर्गम क्षेत्रको रुपमा थियो । सवारी साधन जाने वा भनौ सदरमुकामबाट साईकल समेत लिएर जान अत्यन्तै कठिनाई हुन्थ्यो । जोगियाराको पुल, यदुकुहाको कुरनमा पुल लगायत कतिपय पुलहरु निर्माण गराएर उनले सदरमुकाम सम्म जोडेका थिए । साना साना सडकहरु निर्माण गराउन उनले भुमिका निर्वाह गरे । वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अध्यक्ष भएपछि जनकपुर सहरमा सडकहरु निर्माण गराउन उनले भुमिका निर्वाह गरेका थिए । उनको कार्यकालमा नै उक्त परिषदले विकास निर्माणको काममा हात हालेको थियो । जनकपुर सहर भित्रको ११ वटा सडक खण्डहरुमा पक्की सडक बनाइएको थियो । त्यस अघिसम्म धर्मसंस्कृतिको लागि मात्र परिषदले काम गर्ने गथर््यो ।
स्थानीय विकास मन्त्री भएपछि हुलाकी सडक निर्माण गर्नका लागि उनको ठुलो योगदान रह्यो । साईकल समेत चलाउन नसकिने उक्त सडकमा माटो र ग्राभलको काम भएपछि पहिलो पटक उक्त सडक खण्डमा सार्वजनिक सवारी साधनहरु समेत चल्न थाल्यो । कमला पुलको शिलान्यास गराएर धनुषा र सिरहा जिल्ला जोड्न ठुलो भुमिका निर्वाह गरेका थिए । स्थानीय विकास मन्त्रीको हैसियतमा जनकपुर नगरपालिका मार्फत विभिन्न ८४ वटा सडकहरुको लागि बजेट विनियोजन गराइएको थियो ।
सदनमा लडाकु सांसदको रुपमा उदय
२०५१ को मध्यावधि चुनावमा धनुषाको निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदवार शिवधारी यादवलाई पराजित गरी पहिलो पटक उनी सदनमा पुग्न सफल भएका थिए । जिल्लाको स्थानीय राजनीतिमा आक्रामक, जुझारु तथा लडाकु नेताको रुपमा छवि बनाएका झाले सदनमा समेत जुझारुपन देखाएर सिंगो राष्ट्रमै एक आक्रामक नेताको रुपमा पहिचान बनाउन सफल भएका थिए ।
पहिलो पटक संसदमा पुग्दा  रामचन्द्र झा सदनमा सशक्त ढंगले प्रस्तुत हुँदै एउटा मिलिटेन्ट फोर्सको रुपमा आफ्नो पहिचान स्थापित गरेका थिए । २०५२ सालको असोज महिनामा तत्कालिन नेकपा एमालेका महासचिव मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकार विरुद्ध संसदमा अविश्वास प्रस्ताव लगिएको थियो । कांग्रेसका तर्फबाट सभामुख रामचन्द्र पौडेल थिए । मतदानका लागि सबै ढोकाहरु बन्द गराइएको थियो । तर, सभामुख पौडेलले सुटुक्क पुर्व प्रधानमन्त्री सुर्य बहादुर थापाका लागि ढोका खोलिदिए ।  जुन कि नगर्नु पर्ने थियो । त्यही भएर एमाले सांसद रामचन्द्र झा, निल बहादुर तिलिमा पुन लगायत ४÷५ जना सांसदहरुले थापाका लागि ढोका खोल्ने मर्यादापालकलाई  आक्रमण गरी थापालाई समेत हातपात गरेका थिए । झाका अनुसार नियम भनेको सबैको लागि बराबर हुन्छ । तर, कोही पुर्व प्रधानमन्त्री हुँदैमा नियम तोडेर उसको लागि ढोका खोल्न त हुँदैन । त्यसका लागि नै प्रतिवाद गरिएको थियो ।
अर्को प्रसङ्ग २०५५ सालतिरको हो । एमालेका अमृत कुमार बोहरा स्थानीय विकास मन्त्री भएको बेला स्थानीय निकाय स्वायत्त शासन ऐनमा एउटा राम्रो प्रावधान राखिएको थियो । उक्त ऐनमा स्थानीय निकायका पदाधिकारीले भ्रष्टाचार र जनविरोधी काम गरेको पाइएमा सम्वन्धित पार्टीको निर्णय सिफारिसमा  स्थानीय निकायका उक्त पदाधिकारीलाई पदबाट फिर्ता बोलाउन सकिने प्रावधान राखिएको थियो । स्थानीय निकायमा भ्रष्टाचार र जनविरोधी कार्य गर्नबाट स्थानीय पदाधिकारीलाई रोक्नका लागि उक्त व्यवस्था गरिएको थियो । जुन, धेरै राम्रो व्यवस्था थियो ।
तर, कांग्रेस र एमालेबाट फुटेर गएको मालेको सरकारले उक्त व्यवस्थालाई परिवर्तन गर्न सदनमा लगेको विधेयक जवरजस्ती पास गर्न खोज्दा झाले कालर समातेर घोक्रेठ्याक लगाउँदै सभामुख  रामचन्द्र पौडेलको कालर समातेर आसनबाट तान्न खोज्दा मनमोहन अधिकारीले रोकेका थिए । त्यतिबेला एमालेले ३१ दिन सम्म लगातार संसद अवरोध गरेका थिए । तत्कालिन मन्त्री राधाकृण मैनालीलाई समेत उनले सदनमा घोक्रेठ्याक लगाउँदै सभामुख माथि आक्रमण गरेका थिए । यद्यपि हो हल्लाकाबीच कांग्रेसले उक्त विधेयक संसदमा पास गरेको थियो । यसरी हेर्ने हो भने संसदमा उनी अत्यन्त आक्रामक र सशक्त ढंगले प्रस्तुत भएका थिए । यति मात्र होइन त्यो बेलाको संसदमा तराई मधेसका सवालमा प्रश्नकालमा सबैभन्दा वढी प्रश्न गर्ने भुमिका पनि उनले अत्यन्त गम्भीरताका साथ उठाउने गरेका थिए । त्यसपछि उनी मिलिटेन्ट फोर्सबाट एउटा विकास पुरुषको छवि बनाउने तर्फ केन्द्रित भएका थिए । जसअनुसार उनी बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको अध्यक्ष र स्थानीय विकास मन्त्री हुँदा धनुषाको विकासका लागि ठुलै पहल गरेका थिए । 
२०३१ सालदेखि नै मोहनविक्रमले नेतृत्व गरेको चौथो महाधिवेशनमा आबद्ध झा २०३९ सालमा तत्कालीन नेकपा (माले) को सम्पर्कमा आएका थिए । २०४० सालमा उनी अध्ययन गर्न भागलपुर गए । त्यहाँ उनले समाजशास्त्रमा स्नाकोत्तर गरे । २०४५ सालमा त्रिवि सेवा आयोगमा परीक्षा दिए । लिखितमा पास भएर मौखिक परीक्षाको तयारी हुँदै थियो, जनआन्दोलनको तयारी चल्न थाल्यो । २०४६ सालभन्दा पहिलेदेखि नै कम्युनिष्टहरूको संसर्गमा रहे पनि उनले सक्रिय रूपमा राजनीतिचाहिँ २०४६ सालको आन्दोलनसँगै थालेका हुन् ।
२०४७ मा नेकपा एमाले गठनसँगै राजनीतिमा होमिएका उनी २०४८ को पहिलो संसदीय निर्वाचनमा धनुषाबाट सांसदका लागि भएको चुनावमा हारे । तर २०५१ को मध्यावधिमा चाहिं क्षेत्र नं २ बाट जिते । यस बीचमा उनी २०४९ सालको जिल्ला विकास समितिको चुनावमा धनुषामा सभापतिको उम्मेदवार भएका थिए, तर पराजित हुनुर्पयो । २०५६ मा पनि उनले चुनाव हारे । २०६४ को संविधासभा चुनावमा पुनः विजयी भए । संविधासभापछि बनेको एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्चको सरकारमा स्थानीय विकास मन्त्री भए ।
एमालेमा विद्रोह
नेकपा एमालेबाट राजनीतिक करियर सुरुवात गरेका उनी अन्ततः एमालेबाट पनि निस्कनु पर्यो । खास गरेर उक्त पार्टी एउटा खास सम्प्रदायको प्रतिनिधित्व गर्ने पार्टीमा मात्रै रुपान्तरण हुने, मधेस, आदिवासी जनजाति, उपेक्षित वर्गहरुको प्रतिनिधित्व नै गराउन नखोज्ने अवस्था देखेपछि उनी एमाले पार्टी परित्याग गरी माओवादीमा लागेका थिए । तत्कालिन एमाले उपाध्यक्ष अशोक राईको अगुवाईमा एमाले परित्याग गरे पनि झा भने राईसँगै गएनन् । राईले संघीय समाजवादी पार्टी नै खोले भने झा केही दिन स्थिर बसेर माओवादीमा प्रवेश गरे ।
एमाले राजनीतिक मुद्दाका हिसाबले कमजोर हुँदै गएको र पार्टीभित्र विधि स्थापना र व्यक्ति व्यवस्थापन गर्ने कुरामा समेत चुक्दै जानु, संविधानका अन्तरवस्तु र राज्य पुनःसंरचनाका मुद्दामा एमाओवादी नजिक देखिनु,  हेटौंडा महाधिवेशनपछि एमाओवादीले प्रतिस्पर्धात्मक प्रणालीलाई पूर्णरूपमा स्वीकारिसकेको अवस्थामा झा माओवादी प्रति आकर्षित भएका थिए । पार्टीभित्र राजनीतिक मुद्दा, संगठन व्यवस्थापन, विधि व्यवस्थापन लगायतका विषयमा विमति राख्दै आएपनि उनले राखेका सैद्धान्तिक विमति र व्यक्ति व्यवस्थापनका मुद्दालाई एमालेले सधै बेवास्ता गरेपछि उनी अन्ततः पार्टीबाट राजीनामा दिन बाध्य भएका थिए । नेकपा एमालेले एक हदसम्म उनलाई अवसर पनि नदिएको होइन तर निर्णायक तहसम्म भने लगेन । पोलिट व्यूरोसम्म मात्र राख्ने नीति निर्माण गर्ने तह स्थायी समिति वा पदाधिकारी सम्म नलग्ने एमालेको साम्प्रदायिक चरित्रका कारण उनी असन्तुष्ट भएका थिए । खास गरी पहिलो संविधानसभाको निर्वाचनका क्रममा मधेस मुद्दामा एमाले पार्टीको प्रवृतिले पार्टी परित्याग गर्न झन् ठुलो मद्दत गरेको थियो ।
एमाओवादीमा पनि विद्रोह
नेकपा एमाले परित्याग गरेर एमाओवादीमा लागेका झा उक्त पार्टीमा पनि संतुष्ट हुन सकेनन् । खासगरी संगठनको सवालमा एमाओवादी भन्दा एमाले कै ठीक रहेको उनले महसुस गरे । हुन त उक्त पार्टी भित्र प्रचण्ड, बाबुराम भट्टराई र नारायण काजी श्रेष्ठ गरी ३ वटा गुट रहेपनि उनी भने अध्यक्ष प्रचण्डकै खेमामा बसे । एमाओवादीमा आईसकेपछि उनको पार्टी भित्रको अन्तरसंघर्ष र आफ्नै क्षेत्रभित्रको अन्तर संघर्षका कारण दोस्रो संविधानसभाको चुनावमा आफ्नै पार्टीबाट श्रवण बरबरियाले बागी रुपमा उम्मेदवारी दिएपछि चुनावमा पराजित हुनु परेको थियो । अन्तर संघर्ष त एउटा कारण छँदै थियो तर उक्त चुनावमा मत पेटिका र मत पत्र नै विभिन्न चलखेल गरी परिवर्तन गरिएका कारण आफु पराजित हुनुपरेको झाको ठहर छ । यद्यपि उनी पार्टी भित्र सक्रिय रहे । तर, एमाओवादीको महाधिवेशनमा उनलाई स्थायी कमिटि सदस्यमा नलगिएपछि उनी निराश भएका थिए । हुन त प्रचण्डले जसरी पनि झालाई स्थायी कमिटिमा ल्याउनुपर्छ भनेर निर्देशन जारी गरेपनि केही नेताहरुले धोका दिएपछि उनी पोलिट व्यूरोमा सिमित हुन पुगे । र, जुन मुद्दाका लागि उनी एमाओवादीमा आएका थिए उक्त मुद्दालाई विसर्जन गरेर जसरी संस्थापन पक्ष एकहोरो ढंगले संविधान निर्माण गरी दिपावली समेत मनाउन लागेपछि उनी पार्टीबाट विद्रोह गर्न बाध्य भए ।
मधेसमा आन्दोलन भईरहेको, ४० जना भन्दा वढी मानिसले ज्यान गुमाईसकेको अवस्थामा पार्टीले दिपावली मनाउनु उनको लागि ठुलो धोका भएको ठहर गर्दैै बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी बनाउन तिर लागे । नयाँ शक्तिमा उनलाई सहसंयोजक बनाईयो । तर, उक्त पार्टीले पनि उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालसँग एकता नगरेपछि उनी नयाँ शक्ति परित्याग गर्दै पुनः माओवादी केन्द्रमा फर्किएका छन् । माओवादीले संविधान संशोधनको मुद्दालाई आत्मसाथ गरिसकेको हुनाले र सदनमा भोटिङ्ग हुँदा संशोधनको पक्षमा मतदान समेत गरेकाले माओवादीमा फर्किन झालाई कठिनाई भएन ।


२०७४ कार्तिक २६ गते आईतबार


No comments:

Post a Comment