Wednesday, July 19, 2017

बैदेशिक रोजगारीको नाममा अबैध एजेन्टहरुबाट ठगिदै सर्वसाधारण

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा माची झिटकहिया ४ पर्सा टोलका विमल कुमार यादवले बैदेशिक रोजगारीको लागि आफ्नै गाउँका एजेन्ट नरेश यादवलाई राहदानी र ६० हजार रुपैयाँ दिए । इजराईल पठाईदिने भनेर ती एजेन्टले भनेपछि सोही गाउँका विमल कुमार यादवसँगै रामकुमार साह र रामकुमार यादवले पनि ती एजेन्ट यादवलाई राहदानी र ६० हजार रुपैयाँ दिए । इजराईल जानका लागि ५ लाख ७५ हजार रुपैयाँ एजेन्ट यादवले मागेपनि सुरुको किस्तामा हामी तिनै जनाले ६०÷६० हजार रुपैयाँका दरले आईएमई मार्फत दियौं, त्यसको बैंक भाउचर पनि छ भन्दै विमल कुमार यादव भन्छन,“ रकम र राहदानी दिएको १ बर्ष भन्दा वढी भईसक्यो । एजेन्टले हामीलाई न त इजराईल पठाएको छ, न त रकम र राहदानी नै फिर्ता गरिरहेको छ ।” एजेन्टसँग सम्पर्क गर्दा भोली दिन्छु, पर्सी दिन्छु भन्दै आलटाल गरिरहेको यादव बताउँछन् ।
काठमाण्डौको कपन निवासी अर्जुन राज गिरीले धनुषा नगराईनका एजेन्ट इसराफिल साहलाई बैदेशिक रोजगारीका लागि राहदानी र रकम दिए । यिनीसँग अन्य दुई जना गरी कुल ४ लाख ५० हजार रुपैयाँ र राहदानी ती एजेन्ट साहलाई १० जनवरी २०१७ मा दिए । एजेन्ट साह नेपालमा नबसि यूएईमा बस्दै आएको छ । अर्जुन राज गिरीले जनकपुरको जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरमा रहेको सुरक्षित आप्रवाशन सूचना तथा परामर्श केन्द्रमा उजुरी गरेपछि अनुसन्धान गर्दै जाँदा एजेन्ट साह नेपालको मुल निवासी नभई भारतमा बसोवास गर्दै आएको पाइयो ।भारतमा अपराध गरी फरार भई नेपाल आएको र नेपालमा आएर धनुषाको नगराईन बासी भई नेपाली नागरिकता प्रमाण पत्र लिएको भनेर बुझ्नमा आएको सूचना केन्द्रका परामर्शकर्ता प्रभात कुमार मिश्रले बताए । प्रवासी नेपाल समन्वय समिति काठमाण्डौमा उक्त केशको बारेमा जानकारी गराईएको छ, निवेदकलाई अपराध अनुसन्धान महाशाखामा उजुरी गर्नका लागि सुझाव दिइएको परामर्शकर्ता मिश्र बताउँछन् ।
धनुषाको मुखियापट्टी मुसहरनिया १ का २८ बर्षिय लक्ष्मेश्वर यादवले बैदेशिक रोजगारीमा पठाईदिन्छु भनेपछि धनुषाको हंसपुर कठ्पुल्ला ८ का एजेन्ट दशरथ मण्डललाई १ लाख ८५ हजार रुपैयाँ र राहदानी दिए । साउदी अरब पठाईदिन्छु भनेर ती एजेन्टले भनेपछि यादवले दुई पटक गरी आईएमई मार्फत १ लाख ८५ हजार रुपैयाँ दिएका थिए । विदेश पठाउँछु भनेर गाउँबाट विदा भई काठमाण्डौ पनि लगियो । १ महिना काठमाण्डौमा बसायो तर त्यो एजेन्ट मण्डलले विदेश भने पठाएनन् । पीडित यादव भन्छन,“ धेरै पटक एजेन्टसँग पैसा फिर्ता माँगे । पटक पटक छलफल पनि भयो । केही रकम एजेन्टले फिर्ता त गर्यो तर अहिले पनि ५५ हजार रुपैयाँ बाँकी नै छ ।”
महोत्तरी औरही विक्रमपुर ५ का विजय यादवले काठमाण्डौका एजेन्ट गणेश लिम्बु र सहायक एजेन्ट राजकिशोर साहलाई बैदेशिक रोजगारीका लागि ३ लाख ५० हजार रुपैयाँ दिए । दुवैको बाटो हुँदै टुरिस्ट भिजामा इराक पुर्याइयो । इराकमा पुगेपछि भिजा लागेन । यादव इराकमा अलपत्र परे । त्यहाँ जसो तसो सहयोग जुटाएर २५ दिन पछि नेपाल फर्के । नेपाल फर्केपछि त्यो एजेन्टसँग पैसा माग गर्दा दिईरहेको छैन । यादव भन्छन,“ मानव तस्करी जस्तै मलाई विदेश पठाएर अलपत्र पारियो । अहिले नेपाल आउँदा पनि त्यो एजेन्टले रकम फिर्ता गरिरहेको छैन ।”
महोत्तरी भ्रमरपुरा ९ का धिरेन्द्र ठाकुर आफ्नै गाउँका एजेन्ट अशोक यादव मार्फत बैदेशिक रोजगारीका लागि मलेशिया पुगे । मलेशियाको ग्लोव फ्याक्टूीमा प्याकेजिङ्गको काम हुन्छ भनि २ लाख रुपैयाँ एजेन्ट यादवले लिए । ठाकुरले १ लाख नगद दिएका थिए भने १ लाख रुपैयाँको कपाली तमसुक एजेन्ट यादवको नाउँमा बनाईदिएका थिए । २०७२ मंसिरमा मलेशिया पुगेपछि भने अनुसारको ठाकुरलाई काम दिइएन । भनिएको तलब भन्दा ४ सय रिङ्गिट कम दियो । एग्रिमेन्ट पेपरमा ९ सय रिङ्गिटमा श्रम स्वीकृति गराईनुका साथै ओभरटाईम जोडेर १४ सय रिङ्गिट तलब दिने सम्झौता भएको थियो । तर मलेशियामा त्यसो नभएपछि ४ महिना काम गरेर फर्किन बाध्य भए ठाकुर ।
धनुषा झोझी कटैयाका ३३ बर्षिय सुजित कुमार ठाकुरले गाउँकै एजेन्ट निर्मला देवी सिंहलाई १ लाख रुपैयाँ तिरेर यूएई गए । म्याकेनिकल हेल्परको रुपमा काममा पठाएपनि १७ दिनको स्यालरी ठाकुरलाई दिइएन । अचानक एक दिन तिमी फर्किनुपर्छ भनि जवरजस्ती राजिनामा गर्न लगाईयो । १ महिनासम्म काम पनि दिइएन । ८ घण्टाको ठाउँमा १० घण्टाको काम गराउँथ्यो । तर, तलब ८ घण्टाकै दिन्थ्यो । बाध्य भई उनी नेपाल फर्र्किए ।
गणेशमान चारनाथ नगरपालिका भरतपुर छघरियाका २० बर्षिय असरफ राईन सिरहा लहानका उसमान राईनलाई १ लाख ८५ हजार दिए । आजाद भिसामा कतार पठाईदिन्छु भनेर राहदानी र रकम लिएको ८ महिना भईसक्यो । राईनलाई ती एजेन्टले न त राहदानी फिर्ता गरेको छ न त रकम नै । ब्याजमा ऋण उठाएर एजेन्टलाई दिएको पैसा एजेन्टले फिर्ता नगरिदिएपछि राईन अहिले घरको न घाटको भएको छ ।
धनुषा लगमा गाडागुठी ५ का प्रमोद कुमार झाले जनकपुरका एजेन्ट राजकुमार साहलाई बैदेशिक रोजगारीमा पठाई दिन भन्दै राहदानी दिएको ४ महिना भईसक्यो । साउदी अरेविया पठाईदिन्छु भनेर ती एजेन्ट साहले राहदानी लिनुकासाथै झाको मेडिकल परीक्षण नै नगराई नक्कली भिसा समेत दिए । अहिले एजेन्ट साह झाको सम्पर्कमा आएको छैन । साहले राहदानी फिर्ता पाउन सकिरहेको छैनन् ।
यसरी हेर्ने हो भने धनुषा, महोत्तरी लगायतका जिल्लाहरुबाट अबैध एजेन्टहरु मार्फत मानिसहरु ठगिने क्रम बढेको छ । विदेश पठाईदिन्छु भनेर एजेन्टहरुले राहदानी र रकम समेत लिन्छन् तर विदेश पठाईदिँदैनन् । विदेशमा पठाएपनि भने अनुसारको काम र तलब नपाएपछि नेपाल फर्किन बाध्य छन् । एग्रिमेन्ट गरेर पठाएपनि विदेशमा पुग्दा कम्पनीले त्यहाँ न त काम दिन्छ न त तलब नै । एग्रिमेन्ट गरेर गएपनि १० महिना काम गराउँछन्, २ महिनाको तलब दिँदैनन् र घर पठाईदिन्छन् । नेपालमा मेडिकल जाँच गराई विदेश पठाउँछन् तर विदेशमा पुनः मेडिकल जाँच गराउँदा फेल भएर नेपाल फर्काउने गरिन्छ । बैदेशिक रोजगारीमा जाँदा ठगिएका व्यक्तिहरुको यस्तै विभिन्न खाले भनाईहरु रहेको छ ।
धनुषामा मात्रै कुरा गर्ने हो भने ५ सय भन्दा वढी मानिसहरु बैदेशिक रोजगारीका लागि एजेन्टको काम गर्ने गर्छन् । कुनै गाउँमा १० वटा भन्दा वढी एजेन्टहरु सक्रिय छन् । एजेन्टहरुको सहएजेन्टहरु पनि हुने गर्छन् । पासपोर्ट संकलन गर्ने, पासपोर्ट होल्ड गर्ने, रकम असुल्ने लगायतका कामहरु ती एजेन्टहरुले गर्दै आएका छन् । मुख्य कुरा के हो भने ती एजेन्टहरु अबैध हुन । कसैले पनि अनुमति पत्र प्राप्त गरेका छैनन् । जुन म्यानपावर कम्पनीका लागि काम गर्ने हो त्यो व्यक्तिलाई बैदेशिक रोजगारीको एजेन्टका रुपमा काम गर्नका लागि अनुमति पत्र बैदेशिक रोजगार विभागले प्रदान गर्दछ । आर्थिक कारोवार गर्ने र आर्थिक कारोवार नगर्ने भन्दै दुई किसिमको अनुमति पत्र प्रदान गरिन्छ । त्यसका लागि म्यानपावर कम्पनीले प्रति एजेन्ट २ लाख रुपैयाँ बैदेशिक रोजगार विभागमा धरौटी राख्नुपर्ने हुन्छ । त्यसैले कुनै पनि कम्पनीले आधिकारिक एजेन्ट नराखि अबैध तरिकाले एजेन्ट मार्फत रकम ठग्ने धन्दा बनाएपछि हजारौं मान्छेहरु ठगिन बाध्य भएका छन् ।
सबैभन्दा ठुलो कुरा के हो भने ती एजेन्टहरुले लिने राहदानी र रकमको कुनै भरपाई दिने गरेका छैनन् । जसले गर्दा ठगि भएपछि पनि रकम र राहदानी फिर्ता लिन मानिसहरुलाई धेरै समस्या भईरहेको छ । एग्रिमेन्ट पेपर पनि विदेश जाने बेलामा काठमाण्डौको त्रिभुवन अन्तर्राष्टिूय विमान स्थलमा मात्र दिने गरिएको छ । भने अनुसारको काम एग्रिमेन्ट पेपरमा नपाएपनि १ सय २०प्रतिशत सैकडाका दरले व्याजमा उठाएर लिएको ऋणका कारण मानिसहरु जानाजान ठगिन बाध्य भएका छन् ।
आर्थिक बर्ष २०६५÷०६६ मा १० हजार ९ सय ५० जना, आर्थिक बर्ष २०६६÷०६७ मा ११ हजार ९ सय ४२ जना, आर्थिक बर्ष २०६७÷०६८ मा ११ हजार ९ सय २३ जना, आर्थिक बर्ष २०६८÷०६९ मा ११ हजार ६ सय ४३ जना, आर्थिक बर्ष २०६९÷०७० मा १८ हजार ८ सय ९४, आर्थिक बर्ष २०७०÷०७१ मा २१ हजार ३ सय ५७ जना र आर्थिक २०७१÷०७२ मा २२ हजार २ सय ५९ जना गरी धनुषाबाट मात्रै पछिल्लो ७ बर्षमा १ लाख ८ हजार ९ सय ६८ जना बैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् । जसमध्ये १ सय ९० जना महिला पनि छन् ।
धनुषाबाट जति संख्यामा मानिसहरु गईरहेका छन् सोही अनुपातमा यस क्षेत्रका अन्य जिल्लाहरुबाट पनि मानिसहरु बैदेशिक रोजगारीमा गईरहेका छन् । बैदेशिक रोजगार विभागको शाखा कार्यालय काठमाण्डौमा मात्र भएका कारण ठगिएका व्यक्तिहरु काठमाण्डौ जान हच्किन्छन् । शाखा कार्यालय मधेसमा भए तिनीहरुले सजिलै ती ठगहरुबाट ठगिएको रकम र राहदानी फिर्ता पाउन सहज हुनाले पनि बैदेशिक रोजगार विभागको कार्यालय जनकपुरमा खुल्नु आवश्यक छ । यद्यपि यस अघिका पुष्प कमल दाहाल नेतृत्वको सरकारले बैदेशिक रोजगार विभागको कार्यालय जनकपुरमा संचालन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

२०७४ श्रावण ०१ गते आईतबार

No comments:

Post a Comment