Tuesday, March 21, 2017

धनुषामा १७ स्थानीय तह, ठाउँ–ठाउँमा विरोध


लोहनालाई नगराईन नगरपालिकाबाट हटाएर जनकपुर उपमहानगरपालिकामा
राख्न भन्दै जनकपुरमा लोहनाका
स्थानीयवासीहरुद्वारा प्रदर्शन ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा जिल्लामा अब कुल १७ वटा मात्र स्थानीय तह कायम गरिएको छ । जनकपुर उपमहानगरपालिका, क्षिरेश्वर नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, नगराईन नगरपालिका, विदेह नगरपालिका, मिथिला नगरपालिका, सहिदनगर नगरपालिका, सबैला नगरपालिका, कमला सिद्धीदात्री गाउँपालिका, जनकनन्दिनी गाउँपालिका, बटेश्वर गाउँपालिका, मिथिला विहारी गाउँपालिका, लक्ष्मिनियाँ गाउँपालिका, हंशपुर गाउँपालिका र औरही गाउँपालिका कायम  गरिएको छ ।
जनकपुर उपमहानगरपालिका अन्तरगत साविकको जनकपुर उपमहानगरपालिकाको वडाहरुसँगसँगै अन्दुपट्टी वडा नं. ६,७,८,९ र मानसिंहपट्टीको वडा नं. १,२,३,४,५लाई समावेश गरी कुल २४ वटा वार्डहरुलाई कायम गरिएको छ ।  साविकको जनकपुर उपमहानगरपालिकाको वडा नं. २६ दुई अलग अलग खण्डमा रहेकोमा सो मध्ये जमुनिया टोललाई उपमहानगरपालिकाको प्रस्तावित वडा नं. १९ मा र गोपालपुरको बाँकी भागलाई क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं. १० मा विभाजन गरिएको छ । जनकपुर सदरमुकाम रहनेगरी उक्त प्रस्ताव गरिएको उक्त उपमहानगरपालिकामा १ लाख ५३ हजार ६ सय १४ कुल जनसंख्या रहेको छ । उक्त उपमहानगरपालिकाको क्षेत्रफल ८५.९९ बर्गकिलोमिटर रहेको छ ।
रघुनाथपुर गाविसलाई छुट्टै गाउँपालिका
बनाउनुपर्ने माग गर्दै संघर्ष समिति ।
त्यसैगरी मिथिला नगरपालिका अन्तरगत साविकको मिथिला नगरपालिका, तुल्सी, पुष्पवलपुर गाविस र क्षिरेश्वर नगरपालिकाको वडा नं. ८ र ९लाई समावेश गरिएको छ । मिथिला नगरपालिकाको कुल जनसंख्या ४१ हजार ३० रहेको छ । साविक मिथिला नगरपालिकाको कार्यालय ढल्केवरमा केन्द्र कायम गरिएको छ ।  १८१.९० बर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त नगरपालिकामा कुल १० वटा वडा कामय गरिएको छ ।
त्यसैगरी क्षिरेश्वर नगरपालिका अन्तरगत साविकको क्षिरेश्वर नगरपालिकाको वडा नं. ८,९ बाहेक शान्तिपुर गाविस र जनकपुर उपमहानगरपालिकाको वडा नं. २६ गोपालपुरलाई समावेश गरिएको छ । उक्त नगरपालिकाको कुल जनसंख्या ४७ हजार ४ सय ५३ रहेको छ । ६०.३९ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त नगरपालिकाको केन्द्र साविकको क्षिरेश्वर नगरपालिकालाई कायम गरिएको छ । उक्त नगरपालिकामा कुल ११ वटा वडा कायम गरिएको छ ।
त्यसैगरी धनुषाधाम नगरपालिका अन्तरगत साविकको धनुषाधाम नगरपालिका र भुतहीपटेर्वा गाविसलाई समावेश गरिएको छ । धनुषाधाम नगरपालिकाको कुल जनसंख्या ४५ हजार ६ सय ६५ रहेको छ । ९१.६४ वर्गकिलोमिटर क्षेत्रफल रहेको उक्त नगरपालिकामा कुल वडा संख्या ९ कायम गरिएको छ भने केन्द्र साविकको धनुषाधाम नगरपालिकाको कार्यालयलाई बनाइएको छ ।
त्यसैगरी सबैला नगरपालिका अन्तरगत साविकको सबैला नगरपालिका, पटेर्वा, रघुनाथपुर वडा नं. १ देखि ८, कजरारमौल वडा नं. ६ देखि ९ र खरिहानी वडा नं. १ देखि ५ र ७ देखि ९ वडालाई समावेश गरिएको छ । सबैला नगरपालिकाको कुल जनसंख्या ४५ हजार ८ सय ७९ रहेको छ । ६४.४७ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त नगरपालिकाको केन्द्र साविक सवैला नगरपालिकाको कार्यालयलाई कायम गरिएको छ भने उक्त नगरपालिकाको कुल वडा संख्या १३ कायम गरिएको छ ।
त्यसैगरी गणेशमान चारनाथ नगरपालिका अन्तरगत साविकको गणेशमान चारनाथ नगरपालिका र रघुनाथपुर गाविसको  वडा नं. ९ लाई समावेश गरिएको छ । ३७ हजार ३ सय कुल जनसंख्या रहेको उक्त नगरपालिकाको प्रस्तावित केन्द्र साविकको गणेशमान चारनाथ नगरपालिकाको कार्यालयलाई कायम गरिएको छ भने कुल ११ वटा वडाहरु  कायम गरिएको छ ।
नगराईन नगरपालिका अन्तरगत जनकपुर उपमहानगरपालिका वडा नं. १७ लोहना, नगराईन, घोडघास, लगमागाडागुठ्ठी, देवडिहा, बहुअर्वा र फुलगामा गाविसहरुलाई समावेश गरिएको छ । ४७ हजार ६ सय २८ कुल जनसंख्या रहेको उक्त नगरपालिकामा कुल १० वटा वडासंख्या कायम गरिएको छ । ४९.१९ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त नगरपालिकाको केन्द्र साविकको नगराईन गाविसको कार्यालयलाई कायम गरिएको छ ।
त्यसैगरी विदेह नगरपालिका अन्तरगत चक्कर, बफैं, गिद्धा, दुहवी, एकराही, ठाढीझिझा, इटहर्वा गाविसहरुलाई समावेश गरिएको छ । कुल ३८ हजार ८ सय ७७ जनसंख्या रहेको उक्त नगरपालिकामा कुल १० वटा वडाहरु कायम गरिएको छ । ५२.६७ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त नगरपालिकाको केन्द्र साविकको गिद्धा गाविसको कार्यालयलाई कायम गरिएको छ ।
स्थानीय तह कार्यान्वयनमा आएको छ ।
नयाँ गाउँपालिका र नगरपालिकाले नयाँ तहको
लेटर प्याडमा काम सुरु गरेको छ ।
त्यसैगरी सहिदनगर नगरपालिका अन्तरगत ननुपट्टी, यदुकुहा, पचहर्वा, चोराकोयलपुर, बालाबाखर, गोठकोयलपुर, हठ्ठिपुर हडवारा, विषरभोरा र धबौली गाविसलाई समावेश गरिएको छ । ४३ हजार ७ कुल जनसंख्या रहेको उक्त नगरपालिकामा कुल ९ वटा वडाहरु कायम गरिएको छ । ५७.३७ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त नगरपालिकाको केन्द्र साविकको यदुकुहा गाविसको कार्यालयलाई कायम गरिएको छ ।
त्यसैगरी कमला सिद्धीदात्री गाउँपालिका अन्तरगत दुवरकोट हथलेटवा, माचिझिटकहिया, लक्कर, बल्हासघारा, हरिने, सिंग्याही मडान गाविसहरुलाई समावेश गरिएको छ । ३८ हजार ८ सय ७७ कुल जनसंख्या रहेको उक्त गाउँपालिकामा कुल ६ वटा वडासंख्या कायम गरिएको छ । ६५.८५ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिकाको केन्द्र साविकको माचिझिटकहिया गाविसको कार्यालयलाई कायम गरिएको छ ।
त्यसैगरी जनकनन्दिनी गाउँपालिका अन्तरगत खजुरी चनहा, प्रखे महुवा, पतनुका, बल्हा कठाल, बल्हा गोठ र इनरुवा गाविसहरुलाई समावेश गरिएको छ । कुल २५ हजार ८५ जनसंख्या रहेको उक्त गाउँपालिकामा कुल ६ वटा वडा संख्या कायम गरिएको छ । २७.६२ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिकाको केन्द्र साविकको खजुरी चनहा गाविसको कार्यालयलाई कायम गरिएको छ ।
त्यसैगरी बटेश्वर गाउँपालिका अन्तरगत लक्ष्मीनिवास, भुचक्रपुर, बटेश्वर र बेंगाडावरलाई समावेश गरिएको छ । १९ हजार ६ सय ७९ जनसंख्या रहेको उक्त गाउँपालिकामा कुल ५ वटा वडासंख्या कायम गरिएको छ । २८.१४ वर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिकाको केन्द्र साविकको बटेश्वर गाविसको कार्यालयलाई कायम गरिएको छ ।
स्थानीय तह कार्यान्वयनमा आएको छ ।
नयाँ गाउँपालिका र नगरपालिकाले नयाँ तहको
लेटर प्याडमा काम सुरु गरेको छ ।
त्यसैगरी मिथिला विहारी गाउँपालिका अन्तरगत भुतही पटेर्वाको १ देखि ८ नम्बर वडासम्म, मिथिलेश्वर निकास, अन्दुपट्टीको वडा नं. १ देखि ५, तारापट्टी सिरसिया, मिथिलेश्वर मौवाही, ठेराकचुरी र कजरा रमौलको १ देखि ५ वडासम्म समावेश गरिएको छ । ३३ हजार ५ सय २१ जनसंख्या रहेको उक्त गाउँपालिकामा कुल १० वटा वडासंख्या कायम गरिएको छ । ३७.६० बर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिकाको केन्द्र साविकको तारापट्टी सिरसिया गाविसको कार्यालयलाई कायम गरिएको छ ।
त्यसैगरी मुखियापट्टी मुसहरनिया गाउँपालिका अन्तरगत मुखियापट्टी मुसहरनिया, बहेडाबेला, तुल्सीयाही जब्दी, तुल्सीयाही निकास र नगराईनको वडा नं. ५लाई समावेश गरिएको छ । २५ हजार ४ सय ८२ जनसंख्या रहेको उक्त गाउँपालिकामा कुल ६ वटा वडासंख्या कायम गरिएको छ । २६.८४ बर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिकाको केन्द्र साविकको तुल्सीयाही जब्दी गाविसको कार्यालयलाई कायम गरिएको छ । त्यसैगरी लक्ष्मिनियाँ गाउँपालिका अन्तरगत जनकपुर उपमहानगरपालिकाको वडा नं. २५, सिनुरजोडा, सपही र बनिनिया गाविसलाई समावेश गरिएको छ । २८ हजार २ सय ५१ जनसंख्या रहेको उक्त गाउँपालिकामा कुल ७ वटा वडासंख्या कायम गरिएको छ । ३०.६६ बर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिकाको केन्द्र साविकको लक्ष्मीपुर बगेवा गाविसको कार्यालयलाई कायम गरिएको छ ।
त्यसैगरी हंसपुर गाउँपालिका अन्तरगत मानसिंहपट्टीको वडा नं. ६ देखि ९, बघचौरा, हंसपुर कठपुल्ला, सुगा निकास, झटियाही, नौवाखोर पर्साही, सुगा मधुकरही र सोनिगामा गाविसलाई समावेश गरिएको छ । ३९ हजार १ सय ४५ जनसंख्या रहेको उक्त गाउँपालिकामा कुल ८ वटा वडासंख्या कायम गरिएको छ । ४८.७१ बर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिकाको केन्द्र साविकको बघचौरा गाविसको कार्यालयलाई कायम गरिएको छ । त्यसैगरी औरही गाउँपालिका अन्तरगत  पौडेश्वर, औरही, देउरी परवाहा, झोझी कटैया, लखौरी र धनौजी गाविसलाई समावेश गरिएको छ । ३२ हजार २ सय ९४ जनसंख्या रहेको उक्त गाउँपालिकामा कुल ८ वटा वडासंख्या कायम गरिएको छ । ३६.३२ बर्ग किलोमिटर क्षेत्रफल रहेको उक्त गाउँपालिकाको केन्द्र साविकको देउरी परवाहा गाविसको कार्यालयलाई कायम गरिएको छ ।
सबै स्थानीय तहमा खटिए कर्मचारी
 नेपाल सरकारले स्थानीय तह कायम गरे लगत्तै जिल्ला समन्वय समिति धनुषाले नयाँ कायम गरिएका गाउँपालिका र नगरपालिकाहरुमा कार्यकारी अधिकृतको रुपमा साविकको गाविस सचिवहरुलाई खटाइएको छ । नगराईन नगरपालिकामा सत्यनारायण प्रतिहस्त, विदेह नगरपालिकामा केवल कुमार दास, सहिदनगर नगरपालिकामा विन्देश्वर यादव, कमला सिद्धीदात्री गाउँपालिकामा देवकुमार गोहिवार, जनक नन्दिनी गाउँपालिकामा बासुकिनाथ झा, बटेश्वर नगरपालिकामा रघुराम कार्की, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पुष्पलाल ठाकुर, लक्ष्मिनियाँ गाउँपालिकामा रामलखन यादव, हंसपुर गाउँपालिकामा धर्मराज जोशी, मिथिला विहारी गाउँपालिकामा बजरंग चौधरीलाई कार्यकारी अधिकृतको रुपमा खटाइएको छ । खटिएका ती कर्मचारीहरु नायव सुब्बा हुन । जिल्ला समन्वय समिति धनुषाका प्रशासन फाँटका कर्मचारी ज्ञानेन्द्र कुमार झाका अनुसार कतिपय गाउँपालिकाको कार्यालयहरुले नयाँ गाउँपालिका तथा नगरपालिकाको कार्यालयको नयाँ लेटर प्याड सहित काम कारवाही  अगाडी वढाएको छ ।
विभिन्न ठाउँमा विरोध
नेपाल सरकारले कायम गरेको स्थानीय तहको संरचनालाई लिएर धनुषाका कतिपय गाउँहरुमा व्यापक विरोध भएको छ । जिल्ला समन्वय समिति धनुषाका अधिकृत स्तरका एक जना कर्मचारी सुनिल कुमार झाका अनुसार कतिपय ठाउँबाट स्थानीय संरचना संशोधन गर्नू भनेर लिखित उजुरी नै दिएका छन् ।
बालाबाखरमा विरोध
२ चैत्र २०७३ मा धनुषाका स्थानीय विकास अधिकारीलाई बालाबाखर गाउँका विभिन्न पार्टीका प्रतिनिधिहरुले लिखित ज्ञापन बुझाएर स्थानीय संरचना सच्याउन माग गरेका छन् । सहिदनगर नगरपालिकामा पर्न गएको बालाबाखर गाविसमा हाल मतदाता संख्या ६ हजार ३ सय रहेकोले उक्त गाविसलाई एउटै वार्ड बनाइएको हुँदा आम जनताहरुलाई धेरै मर्का परेको भन्दै बालाबाखर गाविसमा पर्ने चिरैया गाउँको वडा नं. २,३,९ र कुम्भकरणको वडा नं. ६,७ गरी कुल ५वटा वडाको एक वार्ड र बालाबाखर गाउँमा पर्ने वडा नं. ४,५, बेमर्खी वडा नं. १ र मुसहरीटोल वडा नं. ८ समेत जम्मा ४ वटा वडा बनाई जम्मा २ वटा वडामा संशोधन गरिदिनका लागि बालाबाखरका नयाँ शक्ति पार्टीका भरत यादव, नेपाली कांग्रेस गाउँ इकाई सभापति तेजीलाल यादव, एमाले जिल्ला कमिटि सदस्य सुरेश यादव, नेकपा माओवादी बालाबाखरका अध्यक्ष जगदेव यादव, फोरम लोकतान्त्रिक जिल्ला कमिटि सदस्य रामकुमार यादव सहितको संयूक्त हस्ताक्षर गरिएको छ ।
दुवरकोट हथलेटवामा पनि विरोध
कमला सिद्धीदात्री गाउँपालिकामा समावेश गरिएको दुवरकोट हथलेटवालाई लिएर पनि विरोध भएको छ । सिंगो गाउँलाई एउटै वडा बनाइएकोले गाउँका जनतामा मर्का पर्न गएको हुनाले  उक्त गाउँका वडा नं. १,२,३,४ र वडा नं. ६ नरहा गाउँ समेत जम्मा ५ वटा वडालाई एक वडा बनाई र मंगराहा गाउँमा पर्ने वडा नं. ५,७,८ र ९ समेत जम्मा वडा ४ को एक  वडा बनाई दुवरकोट हथलेटवालाई जम्मा २ वटा वडामा संशोधन गर्न स्थानीय विकास अधिकारी सन्तबहादुर सुनारसँग माग गरिएको छ । दुवरकोट हथलेटवाका नयाँ शक्ति पार्टी नेपालका राम प्रकाश यादव सदभावना पार्टीका केन्द्रिय सदस्य हरेराम मण्डल, फोरम लोकतान्त्रिक गाउँ इकाई कमिटिका अध्यक्ष हरिदेव मण्डल, नेपाली कांग्रेस गाउँ इकाई कमिटिका उपसभापति गंगाराम यादव र संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अरुण कुमार सिंह मण्डलले ज्ञापन बुझाई सच्याउन माग गरेका छन् ।
प्रस्तावित केन्द्रलाई लिएर विरोध
हंसपुर गाउँपालिकाको प्रस्तावित केन्द्र साविकको बघचौरा गाविसको कार्यालयलाई कायम गरिएपछि हंसपुरका स्थानीयबासीहरुले विरोध गरेका छन् । प्रस्तावित केन्द्र बघचौरा उक्त गाउँपालिकामा समावेश गरिएका गाविसहरुको धेरै पश्चिम, दुर्गम, असहज र भौगोलिक हिसावले कठिनाई भएका कारण संशोधन गरी प्रस्तावित केन्द्र हंसपुर चौक, कृषि बजार, प्रहरी चौकी आवत जावतको चारैतिरबाट जोडिएको केन्द्र ठाउँ भएकोले सबै गाविसहरुको मध्य बीच भाग भएकोले हंसपुर चौकलाई नै केन्द्रको रुपमा संशोधन गरिदिन स्थानीय विकास अधिकारीसँग माग गरिएको छ । साथै बघचौरा गाविसको बेल्ही वडा नं. ८ र ९ लाई समेत हंसपुर गाउँपालिकामा नै गाभिनुपर्ने स्थानीयवासीहरुले माग गरेका छन् ।
बेंगाडावरमा विरोध
साविक मिथिला नगरपालिका वडा नं. ८ लाई मिथिला नगरपालिकाबाट छुट्याएर बटेश्वर गाउँपालिकाको वडा नं. ५ मा समावेश गरिएकोमा भौगोलिक रुपमा मिथिला नगरपालिकालाई दुई भागमा विभाजित गरी खन्डिकरण गरिनु प्राविधिक रुपले स्थलगत निरीक्षण नै नगरी उक्त कार्य भएको हुनाले साविक मिथिलानगरपालिका वडा नं. ८ लाई बटेश्वर गाउँपालिकाबाट हटाई साविक मिथिला नगरपालिकामा नै कायम गर्नुपर्ने माग गरिएको छ ।
रघुनाथपुरमा व्यापक विरोध
रघुनाथपुर गाविसलाई अहिले कायम गरिएको संरचनामा रघुनाथपुरलाई विभाजित गरी रघुनाथपुरको वडा नं. ९ गणेशमान चारनाथ नगरपालिका र बाँकी अन्य वडाहरुलाई सबैला नगरपालिकामा राखेकोले रघुनाथपुरलाई एउटा छुट्टै स्वतन्त्र गाउँपालिकाको रुपमा कायम गरिनुपर्ने माग गरिएको छ । प्राचिन मिथिला राज्यको विशिष्ट क्षेत्रको रुपमा रहेको, ऐतिहासिक र धार्मिक महत्व बोकेको रघुनाथपुर गाविसलाई यसको धार्मिक महत्वलाई विशेष रुपमा मध्य नजर गर्दै र विशेष संरक्षित क्षेत्रको रुपमा स्वतन्त्र गाउँपालिका कायम गर्न योग्य रहेको, जनसंख्याको आधारमा उक्त गाउँको १४ हजार जनसंख्या भई जिल्लाकै जनसंख्या र भौगोलिक आधारमा तेस्रो ठुलो गाविसको रुपमा रहँदै आएको हुनाले रघुनाथपुर गाविसलाई स्वतन्त्र गाउँपालिकाको रुपमा कायम गर्न माग गरिएको छ । १ चैत्र २०७३मा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनमा उक्त कुरा उल्लेख छ । २० हजार जनताको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाइएको थियो । विगत २५ दिन देखि त्यहाँ गाविसको कार्यालयमा तालाबन्दी गरी गाउँका सर्वपक्षिय संघर्ष समिति गठन गरिएको संघर्ष समितिका संयोजक दिपनारायण दासले बताएका छन् ।
लोहनामा विरोध
साविकको जनकपुर उपमहानगरपालिका वडा नं. १७ लोहनालाई नगराईन नगरपालिकामा समावेश गरिएको भन्दै जनकपुर उपमहानगरपालिका वडा नं. १७ लोहना पुनः स्थापना संघर्ष समिति गठन गरिएको छ । लोहनाबासीको स्वाभिमान माथि गहिरो कुटनीति प्रहार भएको भन्दै २ चैत्र २०७३ मा लोहनाका स्थानीयवासीहरुले २१ सदस्यीय संघर्ष समिति गठन गरी संघर्षका कार्यक्रमहरु अगाडी वढाएका छन् । साविक लोहना गाविसबाट जनकपुर उपमहानगरपालिकाको कार्यालय करिब ५ किलोमिटरको दुरीमा रहेको तर नगराईन नगरपालिकाको प्रस्तावित केन्द्र नगराईन गाविसको कार्यालय लोहना गाविसबाट १४ किलोमिटर टाढा पर्छ । लोहनावासी जनकपुरसम्म जाँदा सरकारी कामकाज लगायत दैनिक जीवन यापनको लागि चाहिने उपभोग्य सामान पनि किनमेल गर्न सकिने, समयको बचत हुने तर नगराईन नगरपालिकामा हुँदा सबै प्रतिकुल हुने संघर्ष समितिका संयोजक विनोद कुमार ठाकुरद्वारा ४ चैत्रमा जिल्ला प्रशासनमा बुझाइएको ज्ञापनमा उल्लेख छ । लोहनाबाट नगराईन जाँदा टेम्पु भाडा नै १ हजार रुपैयाँ लाग्ने हुनाले जेष्ठ नागरिकहरुले पाउने सामाजिक सुरक्षा भत्ताको रकम टेम्पु भाडामा नै सकिने हुनाले लोहनालाई साविकको जनकपुरको उपमहानगरपालिकाको कार्यालयमा   नै समावेश गर्न भनिएको छ ।


२०७३ चैत्र ०६ गते आईतबार

No comments:

Post a Comment