Tuesday, September 6, 2016

प्रसुति महिला चन्द्रकलाहरुले कहिलेसम्म ज्यान गुमाउने ?

जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीका
कारण ज्यान गुमाएकी प्रसुति महिला चन्द्रकला पासमानको शव ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा.विजय सिंह र डा.सुशिला सिंहको लापरवाहीका कारण एक जना सुत्केरी र बच्चाको मृत्यु भएको छ । ती डाक्टरहरुले पेटको शल्याक्रिया गरेर बच्चा निकाल्नु पर्नेमा पाठेघर नै निकालेपछि महोत्तरी भरतपुर ४ की २६ वर्षकी चन्द्रकला पासवानको मृत्यु भएको परिवाजनले जनाएका छन् । चन्द्रकलालाई व्यथा लागेपछि गएको सोमबार राति ८ बजे जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । समय पुग्दा पनि २४ घण्टासम्म समान्य रुपमा बच्चा जन्मन नसके पछि मंगलबार राति साढे ८ बजे शल्यक्रिया गरी बच्चा निकाल्न अपरेशन कक्षमा लगिएको थियो ।

आफन्त अनिल पासवानका अनुसार प्रसुति रोग विशेषज्ञ डा.शिला सिंहले चन्द्रकलालाई शल्यक्रिया गरी बच्चाको स्थानमा पाठेघर नै झिके पश्चात रक्तश्राव शुरु भएको थियो । त्यसपछि डा.सिंहले. बच्चा पेटबाट निकाल्दा बच्चाको मृत्यु भइसकेको थियो । रक्तस्रावको कारण चन्द्रकलालाई ७ पोका रगत चढाईएको उनका काका अनिल पासवाले बताए । डा.सिंहले पाठेघर झिकेकाले अत्यधिक रक्तश्राव भई बुधबार विहान चन्द्रकला गम्भीर भएपछि उनलाई यहाँ उपचार सम्भाव नहुने भन्दै अञ्चल अस्पतालले जानकी मेडिकल कलेज रमदैयाद्वारा जनकपुरमा सञ्चालित सिटी होस्पिटल जनकपुरमा विहान १० बजे रेफर गरिएको थियो ।
सिटी होस्पिटलमा उचारको लागि लग्ने क्रममै चन्द्रकलाको मृत्यु भएको परिवारजनले जनाएको छ । चन्द्रकलाको दुई छोरी रहेको छ । अञ्चल अस्पताल र डाक्टरको चरम लापरबाहीले चन्द्रकलाको ज्यान गएको परिवारजनाले आरोप लगाउदै दोषी डाक्टरलाई कारबाही र क्षतिपुर्तिको माग गर्दै विरोध प्रदर्शन गरेको थियो । पछि अञ्चल अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट र पीडित पक्ष बीच ३ बुँदे सहमति भएको थियो । उपचारमा संलग्न दोषी चिकित्सकलाई कारवाही गर्ने, पीडित परिवारलाई राहत स्वरुप क्षतिपुर्ती र परिवारका सदस्यलाई रोजगारी दिइने सवालमा स्वास्थ्य मन्त्रालयमा सिफारिस गरिने अस्पताल प्रशासनले लिखित प्रतिबद्धता जनाएपछि पीडित परिवारजनले लाश बुझेका थिए ।

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरीडेन्टेन्ट डा.गौराग मिश्राले चन्द्रकालको समान्य रुपमा बच्चा नजन्मेपछि डा.सुशिला सिंहले शल्यक्रिया गर्न लागेको थियो । उनका अनुसार पेट खोलेपछि पाठेघर फाटेको थियो । पाठेघर फाटेको अवस्थामा हटाउनु पर्ने हुँदा अर्का प्रशुति रोग विशेषज्ञ डा.विजय सिंहलाई बोलाएर दुवै जनाले तीन घण्टा लगाएर शल्यक्रिया सफल गरिएको थियो । शल्यक्रिया पश्चात चन्द्रकलाको अवस्था ठीक भएको र रगत अभावको कारणले उनको ज्यान गएको मेसु मिश्रले बताए । यस विषयमा शल्यक्रिया गर्ने डाक्टरहरुसँग स्पष्टिकरण मागिएको र गलत गरेको ठहरे कारबाही गर्ने मिश्रले बताए ।

अञ्चल अस्पतालका निमित मेडिकल सुप्रिटेन्डेन्ट डा. गौरांग मिश्रका अनुसार कारवाहीका लागि प्रक्रिया थालिसकिएको छ । द एक्सक्लुसिभसँगको कुराकानीमा डा. मिश्रले घटनाको बेलि विस्तार यसरी सुनाए ।
 प्यासेन्टको शल्यक्रिया हुनुभन्दा एक दिन अगाडी नै जनकपुर अञ्चल अस्पतालमा भर्ना भएका थिए । तर, उनको डेलेभरी हुनका लागि हुनुपर्ने लेवर पेन नभएपछि भोली पल्ट अस्पतालको ओपिडीमा चेक जाँच गराएका थिए । २ बजे तिर उनको लेवर पेन सुरु भएको थियो । साढे २ बजे उनलाई भर्ना गरिएको थियो । राति ९ बजे शल्यक्रिया गरिएको थियो । यूटेरस रप्चर भएका कारण शल्यक्रिया हुँदा अत्यधिक रक्तस्राप भएको थियो । गर्भाशयलाई बचाउन पुरा प्रयास गरिएपनि गर्भाशयलाई झिकेर हटाउनु पर्यो । गर्भमा रहेको शिशुको गर्भमै मृत्यु भईसकेको थियो । लगभग प्यासेन्टको अवस्था सुधार भईसकेको थियो । तर, ५ बजे तिर अचानक अवस्था विग्रियो । रगतको व्यवस्थ ागर्न भनिएको थियो । तर, रगतको उपाय हुन सकिरहेको थिएन । नेपाल रेडक्रसको ब्लड बैंकबाट ४ पोका रगत ल्याइएको पनि थियो । तर, त्यो पर्याप्त हुन सकेन । थप रगत रेडक्रसमा पनि थिएन । मैले आफै आफ्नो कम्पाउण्डरलाई रेडक्रसमा पठाएँ । तर, दुर्भाग्य त्यहाँ प्यासेन्टलाई चाहिने ए पोजेटिभ ग्रुपको रगत थिएन । अनि रगत पाउन सकिन्छ कि भनेर अस्पतालले उक्त प्यासेन्टलाई सिटी अस्पतालमा रेफर गरिएको थियो ।

कारवाही प्रक्रिया अगाडी वढाइएको छ । जब प्यासेन्ट ठीक भईसकेको अवस्थामा आएर पछि सिरियस भयो त्यति बेला नै मैले विभागाध्यक्ष, स्टाफ नर्स, मेटूोन र ओटी डाक्टरहरुलाई बोलाएर प्यासेन्ट किन सिरियस भएको हो भन्दै ४८ घण्टा भित्र प्रतिवेदन पेश गर्न भनेको छु । स्त्री तथा प्रसुति रोगको विभाग प्रमुख डा. कल्पना बछार विदामा रहेकाले कार्य बाहक विभागाध्यक्ष डा.रामनरेश पंडित, मेटूोन रंजु यादव, ओटी एनेस्थेसियाका विनित कर्ण, उपचारमा संलग्न चिकित्सकहरु डा.विजय कुमार सिंह र डा.सुशिला सिंहलाई प्रतिवेदन बुझाउन भनेको छु । उनको प्रतिवेदनको जवाफ आएपछि प्रतिवेदनमा देखिए अनुसार आफुलाई चित्त नबुझे कारवाही गर्नेछु । हुन त शवको पोस्टमार्टम रिपोर्ट पनि आईसकेको छ । त्यो रिपोर्ट मैले जिल्ला प्रहरी कार्यालयलाई पनि बुझाईसकेको छु । पोस्टमार्टमको रिपोर्ट मैले सार्वजनिक गर्न मिल्दैन । तर, पनि म के भन्न सक्छु भने केही न केही कमजोरी चिकित्सकहरुबाट भएको छ । त्यसकारण ती दोषी पाइने चिकित्सकलाई कारवाही स्वरुप हुन सक्छ त्यो अस्पतालबाट बर्खास्त गर्न सकिन्छ ।

कहिलेसम्म प्रसुति महिला चन्द्रकलाहरुले अस्पताल प्रशासन र चिकित्सकको लापरवाहीका कारण ज्यान गुमाउनु पर्ने हो भन्ने सवालमा डा. मिश्र भन्छन,“ प्रसुतिको मृत्युदर भनेको जनकपुर अञ्चल अस्पतालमा ०.०५ प्रतिशत मात्र छ । प्रसुति गृह काठमाण्डौ भन्दा पनि राम्रो तथ्याङ्क हो यो । रह्यो कुरा भरोसा र विश्वासको भने ३ महिना अघिसम्म प्रति दिन १० देखि १५ जना प्रसुतिहरुको उपचार यस अस्पतालमा भईरहेको थियो भने अहिले आएर उक्त संख्या ३५ देखि ५५ सम्म पुगेको छ । विरामी संख्या बढ्नुले पनि अस्पतालको भरोसामा आँच आएको देखिँदैन ।”

स्थानीयबासीहरुका अनुसार पछिल्लो समय जनकपुर अंचल अस्पतालमा अस्पताल प्रशासन, चिकित्सक, नर्स तथा कर्मचारीहरुको चरम रुपमा लापरबाही बढ्दै गएको छ । जसकारण समयमा उपचार नपाउँदा विरामीहरुको मृत्यु हुने गरेको छ । उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना हुने विरामीहरु समयमा उपचार नपाएपछि अन्य निजी क्लिनिक र नर्सिंगहोममा गएर उपचार गराउने गरेका छन् । डाक्टर र नर्सहरु अस्पतालको डिउटीको समयमा बढी समय निजी क्लिनिक र प्राइभेट होस्पिटलहरुमा दिन थालेका छन् । यसकारणले दिनदिनै जनकपुर अञ्चल अस्पतालको अवस्था धारासायी बन्दै गएको छ । अस्पतालका चिकित्सक र कर्मचारीहरु नै बाहिर खोलिएका निजी अस्पताल तथा क्लिनिकहरुको लागि दलाली गर्दै आएका छन ।

२०७३ भाद्र १९ गते आईतबार

No comments:

Post a Comment