Tuesday, July 5, 2016

सिके राउतलाई किन भेटिन् कलाकार निशा अधिकारीले ?

१४ अषाढमा कलाकार निशा अधिकारी, अभियन्ता इशान
 लगायतको टोलीले डा.सिके राउतलाई बुझाएको पत्र ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

 कलाकार निशा अधिकारी सहितको टोलीले १४ अषाढ २०७३ मा जनकपुर आएर स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतलाई भेटेको छ । युवा अभियन्ता ईशान र कलाकार कर्मासहित पुगेकी निशाले राउतलाई भेटेपछि यसबारे टीकाटिप्पणी हुन थालेको छ ।
सिंहदरबारमा रातो रङ छ्यापेर चर्चामा आएका ईशानसहित तराई पुगेकी निशा र कर्माले राउतलाई पत्र समेत बुझाएका थिए । राज्य टुक्र्याउने अभिव्यक्ति दिँदै स्वायत्त मधेसको माग गर्दै आएका राउतसँग आफूहरुले समझदारीका कुरा गरेको निशाले बताइन् ।
‘जो सहमतिभन्दा पर छ, जसले देशबारे नेगेटिभ कुरा गर्छ, उनीहरुलाई सहमतिमा आऊ भन्नु स्वाभाविक होइन र ?’ निशाले भनिन, ’राज्य टुक्राउने कुरा पनि उहाँले गर्नुभएको थियो । त्यही भएर पनि सहमति र मेलमिलापका लागि के गर्न सकिन्छ भनेर हामीले केही सुझावहरु दिएका हौं ।’ सद्भाव र एकता संकटमा परेको बेला दमन, हिंसा र विभेदले स्वदेशलाई कहाँ लग्दैछ ? स्वदेश बचाउन हामीले के गर्दैछौं ? भनी राउतलाई बुझाएको पत्रमा प्रश्न गरिएको छ ।  स्वदेश बचाउने जिम्मेवारी नेपाललाई माया गर्ने हरेक नागरिकको काँधमा आएको र राष्टिूय मेलमिलापका लागि सकारात्मक पहल गर्न पनि राउतलाई आग्रह गरेर फर्किएको निशाको भनाइ छ । मधेस आन्दोलनमा मारिएकाहरुको परिवासँग पनि भेट गरेर कुराकानी गरेको उनले बताइन् । 
‘हामी, हाम्रो समाज र सरकारबाट तपाई र बृहत्तर मधेस समुदायमाथि जानअञ्जान ढंगले गरिएका विभेदका लागि क्षमायाचना गर्न चाहन्छौं,’ राउतलाई बुझाएको पत्रमा भनिएको छ, ’व्यावहारिक परिवर्तन सहितको क्षमायाचनाबाट नै राष्टिूय मेलमिलाप एवं सबल र शान्त नेपाल निर्माणको बाटो बन्नेछ ।’सामाजिक र राजनीतिक विभेदकै कारण देश कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उक्त पत्रमा दमन र हिंसाबाटै समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास राख्नु नै गलत हो भनिएको छ । 
स्वदेश बचाउन अहिंसाको मार्गमा अघि बढ्न उनीहरुले राउतलाई आग्रह गरेका छन् । ‘हामी मधेसी, थारु, आदिवासी जनजाति, महिला, दलित, मुसलमान, पहुँच नभएका खसआर्य लगायत अन्य उपेक्षित उत्पीडित समुदायलाई व्यवहारिक, सामाजिक र राजनीतिक रूपले सम्मान दिलाउने प्रयास गर्न प्रतिबद्ध छौं,’ राउतलाई बुझाइएको पत्रमा भनिएको छ, ’सबल र शान्त स्वदेशमै मधेसी, पहाडी, हिमाली सबै नेपालीको हित छ । हामी छुटेर नभई मिलेर अघि बढौं ।’ तेस्रो पक्षकहाँ नगई नेपालका समस्या नेपालीहरू मिली सुल्झाउने संस्कृतिको विकास गर्न पनि उनीहरुले आग्रह गरेका छन् ।
ईशानको अभियानमा समर्थन
ईशानको क्षमा अभियानमा आफ्नो पूर्ण समर्थन रहेको कलाकार निशा अधिकारीले बताएकी छन् । ‘सहमति र सझदारीमा आउन गरिएको आग्रहमा सबैको साथ त हुनैपर्छ,’ उने भनिन, ’कसैले कसैको कुरा नसुन्ने र सहमतिमा आउने वातावरण भएन भने झन् अवस्था बिग्रँदै जान्छ ।’ क्षमा अभियानअन्तर्गत सिके राउतलाई बुझाइएको पत्रमा ईशानसहित कलाकारद्व निशा अधिकारी र कर्माको पनि हस्ताक्षर छ ।
 



२०७३ आषाढ १९ गते आईतबार

No comments:

Post a Comment