Wednesday, November 4, 2015

मधेसी मोर्चाको कलंक ‘माधवी रानी साह’

माधवी रानी साह
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पार्टी निर्णय विपरित राष्टूपतिको निर्वाचनमा एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई मतदान गरेको आरोपमा सदभावना पार्टीले सांसद माधवीरानी साहलाई साधारण सदस्यबाट समेत निलम्बन गरेको छ । नयाँ संविधानमा असहमति जनाउँदै तराई मधेसमा आन्दोलनरत सदभावना पार्टीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, पार्टीको विधान २०४७ को धारा २६ को उपधारा ३ बमोजिम पार्टी अध्यक्ष राजेन्द्र महतोको निर्देशन अनुसार सांसद साहलाई पार्टीको साधारण सदस्यता समेतबाट निलम्बन गरेको छ ।
विज्ञप्ति अनुसार, मधेसी मोर्चाको सहमति र पार्टी संसदीय दलको निर्देशन विपरित साहले कात्तिक ११ गते सम्पन्न राष्टूपति पदको निर्वाचनमा संसदमा उपस्थित भई मतदान गरेकाले उनलाई निलम्बित गरिएको हो । 
    असोज २४ गते सम्पन्न प्रधानमन्त्री पदको निर्वाचनमा उपस्थित भएर कांग्रेसका उम्मेदवार सुशील कोइरालाको पक्षमा मतदान गरेको आन्दोलनरत मधेसी मोर्चाले राष्टूपतिको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको थियो । तर सत्तारुढ गठबन्धनको तर्फबाट तत्कालिन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाएपछि सांसद साहले महिलाको पक्षमा मतदान गर्न आफू उपस्थित भएको भन्ने प्रतिक्रिया दिएकी थिइन ।
    सदभावना पार्टीका सांसद माधवी रानी साहले पार्टीको निर्णय विपरित राष्टूपतिको निर्वाचनमा मतदान गरेपछि उनलाई पार्टीले कारवाहीको प्रक्रिया अगाडी वढाएको हो । पार्टीको नीति र निर्देशन विपरित सांसद साहले राष्टूपतिको निर्वाचनमा मतदान गर्नु धेरै ठुलो गल्ती भएकाले पार्टीले उनलाई कारवाही प्रक्रिया अगाडी बढाएको हो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्टूपतिको निर्वाचनलाई बहिष्कार गरेको भएपनि सांसद माधवी रानी साहले राष्टूपतिको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका विद्या भण्डारीलाई सुटुक्क गएर मतदान गरेपछि उनको सर्बत्र आलोचना भइरहेको छ । द एक्सक्लुसिभ सम्वाददाता सँगको कुराकानीमा साहले आफु विगत ३ महिना देखि विरामी भई उपचारका लागि भारतको पटनामा गएको र आएपछि आफु मतदान गरेको बताइन । व्यवस्थापिका संसदमा आफु पुग्दा आफ्ना पार्टीका नेताहरुलाई नदेखेपनि राष्टूपति भनेको संवैधानिक पद भएका कारण निर्वाचन गरेको साहले बताइन । प्रधानमन्त्रीको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाली कांग्रेसका उम्मेदवार सुशिल कोइरालालाई मतदान गरेका कारण राष्टूपतिको निर्वाचनमा पनि आफुले कांग्रेसकै उम्मेदवार कुलबहादुर गुरुङलाई मतदान गरेको उनले दावी गरिन । तर, विभिन्न स्रोतहरुका अनुसार उनले एमाले उम्मेदवार भण्डारीलाई मतदान गरेकी थिइन् ।
साहको उक्त कदम पछि पार्टीले पहिले स्पष्टीकरण सोध्ने र यथोचित जवाफ नआएपछि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरिनुका साथै उनको सांसदको पदसमेतबाट निष्काशन गरिने सदभावनाका महासचिव एवम प्रवक्ता मनिष सुमनले द एक्सक्लुसिभलाई बताएका थिए । पार्टीको नीति र निर्देशन विपरित उनले राष्टूपतिको निर्वाचनमा मतदान गरेर अक्षम्य भुल गरेको, निर्वाचन गर्नु भन्दा अगाडी पार्टीका अध्यक्ष, संसदीय दलका नेता वा सचेतक सँग उनले सम्पर्क गर्नुपर्ने काम नगरेर अचानक मधेस आन्दोलनको भावना विपरित साहले मतदान गरेपछि पार्टीलाई नै मधेसमा बदनाम गराएको हुनाले पनि उनलाई कारवाही गरिएको सुमनले बताएका छन् ।
साहलाई कारवाही गर्न केन्द्रलाई सिफारिस
सांसद माधवी रानी साहलाई कारवाही गर्नका लागि धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रिय कमिटिले बैठक डाकेर सर्बसम्मत निर्णय गरी केन्द्रलाई सिफारिस गरेको थियो । क्षेत्रिय अध्यक्ष जगदीश महासेठको अध्यक्षतामा बसेको उक्त बैठकले उनलाई कारवाही गर्न केन्द्रलाई सिफारिस गरेको हो ।  यसका अतिरिक्त जिल्ला कार्यसमितिको सर्बसम्मत बैठकले पनि साधारण सदस्य समेत नरहनेगरी कारवाही गर्न निर्णय गरी केन्द्रलाई सिफारिस गरिएको सदभावनाका अध्यक्ष संजय सिंहले बताएका छन् ।
पैसाको लेनदेनमा बनिन सभाषद
धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ बाट सदभावनाका तत्कालिन केन्द्रीय उपाध्यक्ष संजय कुमार साह निर्वाचित भएका थिए । जनकपुरमा ठुलो पकड बनाएका साहको प्रत्यक्ष तर्फको निर्वाचन सँग सँगै समानुपातिक तर्फ पनि राम्रै मत आएको थियो । समानुपातिक तर्फ तत्कालिन जिल्ला कार्य समितिले केन्द्रिय सदस्य लाल किशोर साह र राम विनोद यादवलाई सभाषद तर्फ सिफारिस गरेको थियो । तर, लाखौं रुपैयाँको लेनदेनमा माधवी रानीलाई पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र महत्तो र तत्कालिन उपाध्यक्ष संजय साहले एकपक्षिय ढंगले समानुपातिक सभाषद बनाएको पार्टीका तत्कालिन जिल्ला सचिव भोगेन्द्र मण्डलको आरोप छ । हुन त उक्त आरोपलाई सदभावनाका बरिष्ठ उपाध्यक्ष तथा ४ नम्बर क्षेत्रका क्षेत्रिय अध्यक्ष जगदीश महासेठले पनि स्वीकार गरेका छन् । सांसद साहका श्रीमान रमेश साहले पटक पटक अनौपचारिक कुराकानीहरुमा सडकमा सभाषदको पद विक्री भईरहेको र आफुले उक्त सांसद पद किनेको बताइरहेको भन्दै महासेठ भन्छन,“ पार्टी भित्र संगठन निर्माण देखि विस्तार सम्म योगदान पुर्याउने नेता तथा कार्यकर्ताहरुलाई अवसर नदिएर व्यापारीहरुलाई पैसाको चलखेलमा सांसद बनाएपछि आफुले सुरु देखि नै पार्टी भित्र विरोध मात्र होइन विद्रोह समेत गर्दै आएको छु ।”
सांसद माधवी रानीले आफु विगत ३ महिना देखि विरामी भई पटनामा रहेको कुरा सफेद झुठ रहेको भन्दै महासेठ भन्छन,“ उनी विरामी थिइन भने प्रधानमन्त्रीको निर्वाचनमा कसरी उपलब्ध भईन, दशैंमा राम यूवा कमिटि र महाविर यूवा कमिटिले उनलाई राजदेवी मन्दिरमा सम्मान समेत गरेको तस्वीर आफुसँग सुरक्षित छ ।”
पार्टीको सम्पर्क भन्दा बाहिर
संविधान निर्माणको सवालमा संविधानसभाबाट सम्बोधन हुने नदेखेपछि सदभावना पार्टीले सामुहिक रुपमै आफ्ना सबै सभाषदहरुको संविधानसभा तथा व्यवस्थापिका संसदबाट राजीनामा दिएको घोषणा गरेपनि सभाषद माधवी रानी साहले संसदबाट राजीनामा दिएकी थिईनन् । सदभावनाका महासचिव मनिष सुमनका अनुसार पार्टीका सबै सभाषदहरुले राजीनामा पत्रमा हस्ताक्षर गरेपनि माधवी रानी साह अचानक सम्पर्क विहिन भएकी थिईन । राजीनामाबाट बच्नका लागि उनी सम्पर्क विहिन भएपछि उनलाई पार्टीले दियो बालेर खोज्दै हिँडेको भएपनि उनी लापता थिईन ।
संसदीय विकास कोष अन्तरगतको रकम खर्च गर्दा वा योजना सम्झौता गर्दा समेत साहले पार्टीको जिल्ला कार्य समितिलाई बेवास्ता गर्दै आफु खुशी रकम  खर्च गरेको भन्दै सदभावनाका उपाध्यक्ष महासेठ भन्छन,“ उनले जिल्ला कार्य समितिको विना परामर्श आफु खुशी आफु नजिक रहेका राम यूवा कमिटि र महाविर यूवा कमिटि मार्फत संसदीय विकास कोषको रकम खर्च गरेर मनमानी गरेकी थिईन ।” महासेठका अनुसार माधवी रानी साह पार्टीको साधारण सदस्य समेत थिइनन् । मात्र संविधान सभा निर्वाचनको क्रममा एक दुई पटक देखा परेकी थिइन । उनी व्यापारी घरानाकी भएकाले उनलाई पैसाको चलखेलमा सभाषद बनाइएको थियो ।
    उनका श्रीमान रमेश साह जनकपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष भएका नाताले कहिले काँही पार्टीलाई चन्दा बापत केही रकम उपलब्ध गराएको बाहेक उनको र उनको परिवारको पार्टी भित्र कुनै पनि योगदान नरहेको महासेठले प्रष्ट्याए । माधवीका श्रीमान रमेश साह विगत देखि नै नेकपा एमालेको कार्यकर्ता रहेका हुनाले उनले अहिले पनि राष्टूपतिको निर्वाचनमा  एमालेका उम्मेदवार विद्या देवी भण्डारीलाई मतदान गरेर नेकपा एमाले तर्फ जान सक्ने पुर्व योजना अनुसार उनले मतदान गरेको महासेठको आरोप छ ।
जनकपुरमा माधवी रानीको विरोध
राष्टूपतिको निर्वाचनमा विद्या देवी भण्डारीलाई जनकपुरकी सांसद माधवी रानी साहले मतदान गरेर निर्वाचित गरेकै दिन विद्या देवी भण्डारीलाई राष्टूपतिको रुपमा जनकपुरका यूवाहरुले अस्विकार गर्दै व्लयाक आउट गरेका थिए । सोही दिन साँझ संयुक्त यूवा संघर्ष समितिका सदस्य सचिव शंकर कुमार साहको अगुवाईमा करिब ३ सय भन्दा बढी यूवाहरुको समुहले माधवी रानी साह विरुद्ध नारावाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । यति मात्र होइन माधवी रानी साहको जनकपुर उपमहानगर पालिका वडा नम्बर ४ स्थित नीजि निवासको मुलद्वार अगाडी टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
जनकपुरका यूवाहरुका अनुसार माधवी रानीले मधेस आन्दोलन, मधेसी सहिदहरुको भावना विपरित उनले मतदान गरेर सिंगो मधेससँगै खास गरेर मधेस आन्दोलनको केन्द्रविन्दु रहेको जनकपुरलाई समेत बदनाम गरेको हो ।
    करिब ७० लाख रुपैया ँतिरेर सभाषद बनेकी साहले आफ्नो लगानी असुल गर्नका लागि मधेसी जनताको भावना विपरित राष्टूपतिको निर्वाचनमा सहभागी भएर मधेस आन्दोलनलाई समेत बदनाम गरेकी सांसद साहलाई मधेसी जनताले इतिहासमै कलंकको रुपमा लिइने यूवाहरुको भनाई छ ।


 २०७२ कार्तिक १५ गते आईतबार

No comments:

Post a Comment