Thursday, September 17, 2015

मधेस जलिरहँदा पनि काठमाण्डौलाई छोएन

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
‘आज तराईमा कति मान्छे मारिए ?’ आजभोलि हरेक दिन यस्तो प्रश्न धेरै गरिन्छ । संविधन निर्माण प्रक्रिया र सीमांकनको विरोधमा तराईमा भइरहेका प्रदर्शनहरुमा हालसम्म तीन दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । यो मृत्युको श्रृंखला जारी छ । कतिबेला कहा झडप हुन्छ र मान्छे मान्छिन् भन्न गाह्रो छ । सुदूरपश्चिम कैलालीबाट सल्किएको आगो पूर्व विराटनगरसम्म पुगेको छ । वीरगन्ज, पर्सा, जनकपुर, महोत्तरी, सिराहा, भैरहवामा आगो सल्केको छ । तराईका कतिपय जिल्लामा भुसको आगो जस्तो भएका खबर आइरहेका छन् । पूर्वी पहाडी जिल्ला पनि शान्त हुन सकेका छैनन् । हाल मधेशी आन्दोलनले ओझेल परेको मात्र हो ।

    यता काठमाडौंलाई तराईको आगोको रापतापले खासै छोएको देखिँदैन । सिंहदरबार, बानेश्वर र बालुवाटारलाई थोरबहुत छोए पनि त्यो आगोले पोल्ने गरी छोएको छैन । एक झिल्कोले सारा देश जलाउन सक्छ भन्ने नेताले नबुझेको होइन । तराई करिब एक महिनादेखि बन्द छ । दैनिक जीवन बडो मुश्किलले चलिरहेको छ । अस्पतालमा औषधिको अभाव हुन थालेको छ । यता काठमाडौं मस्त देखिन्छ । राज्यको सबै शक्ति लगाएर काठमाडौंमा अभाव हुन दिइएको छैन । तराईमा यो अवस्था जारी रहे काठमाडौं कति दिन मस्त रहन सक्छ ?

    तराईमा रातमा मात्र होइन, दिउसो नै ऐंठन परेको छ । ऐंठनमा मान्छेहरु छटपटिरहेका दृश्य हामी दैनिक देखिरहेका छौं । यो ऐंठनको कुनै सीमा छैन । जबसम्म ऐंठन कायम रहन्छ, तबसम्म मान्छेले सजिलै सास फेर्न मुश्किल पर्छ । खुकुलो हुने तत्काल संभावना देखिएको छ्रैन । त्यसको असर काठमाडौंलाई खासै परेको छैन । सुरक्षाकर्मीको स्कर्टिङमा दैनिक उपभोग्य सामान रातारात भित्रिएको छ । एक हिसाबले काठमाडौबासी तराईको ‘रमिते’ बन्न बाध्य छन् ।

कांग्रेस, एमाले, एमाओवादीका शीर्ष नेताहरु मात्र होइन, खाटी मधेशी दलका नेताहरु समेत दैनिक तराईमा बढ्दै गइरहेको मृत्युको हिसाबकिताब निकालेर राजनीतिक दाउपेचमा व्यस्त छन् । महोत्तरीमा शुक्रबार मारिएका सशस्त्र प्रहरका असई पहिलो पटकको आक्रमणबाट मुश्किलले जोगिएर उपचारका लागि एम्बुलेन्समा उपचार गर्न जाने क्रममा विभत्स ढंगले मारिए । जलेश्वमा बुधबार झडपमा मारिएका नाती रोहनको काजक्रिया गर्न सामान किन्न गएको बेला ७५ बर्षिय गणेश चौधरी मारिए । उनी रेडक्रसकर्मी पनि थिए । यी दुई फरक प्रकृतिका घटनाले जो कोहीलाई स्तब्ध बनाउछ । तर, प्रमुख तीन दल र मधेशी नेताहरुले यी दुवै घटनालाई कसरी लिएका होलान् ? दुवै पक्षले यी घटनालाई आफ्नो अनुकूल व्याख्या गरिरहेका छन् ।

    ‘जनता’ को मृत्युलाई बलिदान देख्ने सोचका कारण तराईमा मृत्यको संख्या अझै बढ्ने देखिन्छ । जनताको मृत्यलाई बलिदान ठानेर राजनीतिक उद्देश्य प्राप्त गर्ने निहीत स्वार्थका कारण संविधान निर्माण प्रक्रिया विवादमा परेको छ । प्रमुख दलले वार्ताका लागि संविधान निर्माण प्रक्रिया दुई दिन स्थगित गरेका छन् । यसलाई दुवै पक्षलाई ‘विन विन’ हुने आवसरका रुपमा लिन सक्नुपर्छ । मृत्युलाई राजनीतिक र्भयाङको रुपमा कसैले पनि लिुन हुँदैन ।

विगतमा एउटै राजनीतिक उद्देश्यका लागि निरंकुश राजतन्त्रसँग लडेका शक्तिहरु यतिबेला आपसमा भिड्नु प्राप्त उपलब्धि धरापमा पार्नुबाहेक केही होइन । प्रमुख तीन दलले सकेसम्म धेरै राजनीतिक सहमतिका आधारमा संविधान जारी गर्नुपर्छ, त्यसका लागि आइतबारसम्म अधिकत प्रयास गर्नैपर्छ । आन्दोनलमा उत्रिएका मधेशी, जनजाति दलले पनि वार्ताको माध्यमबाट माग पुरा गर्ने कोशिश गर्नैपर्छ ।

मेधशी, थारुका मुद्दालाई समेटेर संविधान जारी गर्ने प्रयास हुनुपर्छ, केही माग छुटे भने फेरि पनि संविधान संशोधनको बाटो खुलै रहन्छ । तत्काल सबै विषयमा सहमति हुन नसके बाँकी विषय आगामि दिनमा सम्बोधन गर्ने गरी संविधान जारी गर्नु उत्तम विकल्प हुनेछ । बल प्रमुख तीन दल र मधेशी दलको कोर्टमा छ । यस्तै अवस्था कायम रहे, बल अरुकै कोर्टमा जाने र गोल प्रतिगामीले हान्ने खतरा हुन्छ ।

    मधेशी दलले वार्ता छोडेर आन्दोलन मात्रै भने भने त्यो प्रतिउत्पादक हुन सक्छ । मधेशमा जारी आन्दोलनमा मधेशी दलले अपेक्षित जनसहभागिता हुन सकेको छैन । थोरै मानिसको उपस्थितिले लामो समय आन्दोलन चलाउन खोज्दा त्यो हिंसात्मक बन्ने खतरा रहन्छ । 

    कैलालीमा धेरै थारु युवाले गाउँ छाडेका छन, तराईका जिल्लामा पनि आन्दोलन हिंसात्मक हुने डरले पलायन हुने क्रम बढेको त्यहाँबाट प्राप्त खबरमा उल्लेख छ । यसैले अग्रगमनलाई जोगाउने जिम्मेवारी कांग्रेस, एमाले, एमाओवादी र मधेसी दलकै हो । तराईलाई ‘ध्वस्त’ गराएर काठमाडौ ‘मस्त’ हुने खेल सबैले त्याग्नै पर्छ

२०७२ भाद्र २७ गते आईतबार

No comments:

Post a Comment