Wednesday, September 2, 2015

अमरेश सिंहलाई कारवाहीको डण्डा, सिंहले दिए स्पष्टिकरणको जवाफ

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

मधेसी र थारुहरुको अधिकार सुनिश्चित गराउन निरन्तर अभियान चलाएका नेपाली कांग्रेसका सभाषद तथा केन्द्रिय सदस्य डा.अमरेश कुमार सिंहलाई पार्टीले कारवाही गर्ने भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले नै पार्टी नीति बिरुद्ध गई सामाजिक सद्भाव भडाउने अभिव्यक्ति दिएका भन्दै सभासद् अमरेशकुमार सिंहलाई कारबाही हुने बताएका छन् । पूर्वका कांग्रेस सभासभासद्हरुसंग ११ भदौमा संविधानसभा भवनमा भएको छलफलमा कोइरालाले अनुशासन समिति मार्फत सिंहमाथि कारवाही हुने सेतोपाटी डट कममा समाचार प्रकाशन भएको छ ।

पार्टीको अनुशासन समितिले अमरेशलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । ‘तपाईहरू ढुक्क हुनुहोस् त्यस्तोलाई कारवाही हुन्छ’ प्रधानमन्त्रीको भनाई उधृत गर्दै सहभागि एक सभासद्ले भने, ‘तपाईहरुले भन्नु अघि नै मैले कारवाही प्रकृया अघि बढाईसके को छु ।’ पहाडीया र मधेशीबीचको सामाजिक सदभाव खल्बलाउने अभिव्यक्ति दिदै आएका सिंहमाथि कारवाही नभएको भन्दै सभासद्हरुले नेतृत्वको चर्को आलोचना गरेका थिए । छलफलमा बरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि थिए ।
तर, प्रधानमन्त्री कोइरालाले आफुलाई कारवाही गर्ने भनेर बैठकमा नबोलेको सभाषद सिंहले द एक्सक्लुसिभलाई बताएका छन् । काठमाण्डौका मिडियाहरु अमरेश सिंहलाई कारवाही हुनुपर्छ भन्ने मनोविज्ञान बनाएर भ्रामक समाचारहरु सम्प्रेषण गरिरहेको सिंहले बताए ।

सिंहले दिए स्पष्टिकरणको जवाफ
 नेपाली कांग्रेसको अनुशासन समितिले ९ भदौमा अमरेश सिंहलाई काटेको २४ घण्टे स्पष्टीकरण पत्र पार्टीले उनलाई बुझाउन सकेको थिएन ।  उनी काठमाण्डौमा नभएका कारण पत्र बुझ्न सकेका थिएनन् । तर, ११ भदौमा सिंहले पत्र बुझेको ४ घण्टा मै पार्टी कार्यालयमा गएर जवाफ दिएका थिए । 

नेपाली कांग्रेसको विधानमै अन्यायमा, विभेदमा परेको कमजोर वर्गहरुका पक्षमा बोल्ने कुरा उल्लेख भए अनुसार आफुले पनि यो देशको विभेदमा परेको मधेसी, थारु र दलितहरुको हक अधिकारका बारेमा बोल्नु आफ्नो दायित्व रहेको उनले स्पष्टीकरणको जवाफ दिएका छन् । सिंहका अनुसार कैलालीमा मासमा गरेको भाषणको आधारमा आफुलाई कारवाही गरिनुपर्ने कुराको समेत जवाफ दिएका छन् । 

हरेक शान्तिपुर्ण आन्दोलनमा दमन भएपछि आफुसँग रहेको लाठी भाला लिएर प्रतिकार गर्नु पनि नागरिकको दायित्व भएको कन्डिसनल कुरा आफुले गरेको सिंहले दिएको जवाफमा उल्लेख गरिएको उनले द एक्सक्लुसिभलाई बताए । भाषण कै आधारमा कारवाही गर्ने हो भने यो देशमा हरेक नेताले भाषणमा हरेक किसिमका अभिव्यक्तिहरु दिएका छन् । त्यसो भए सबैलाई कारवाही गर्ने त भन्ने उल्टो प्रश्न उनले गरेका छन् । मासमा जनताको मुड र चाहनाको आधारमा आफुले अभिव्यक्ति दिएको उनले बताए ।
 लोकतन्त्रमा जनताको लागि राजनीति गर्ने हो । र, त्यसो गर्नु पार्टीको विधान विपरित होइन उनले द एक्सक्लुसिभलाई बताए । पार्टीले कारवाही गर्ने वा नगर्ने भन्ने कुरा पार्टीमा निर्भर रहेको भन्दै उनले भने,‘ पार्टीले कारवाही गरेपनि लोकतन्त्रमा जनता मालिक हुन्छ र म जनताको बीचमा गएर जनताको लागि राजनीति गर्नेछु ।’

चित्तबुझ्दो जवाफ पार्टीलाई नदिए पार्टीको अनुशासन समितिले पार्टी विधान र नियमावली अनुसार, कसूर हेरी सम्झाउने, चेतावनी दिने, निलम्बन वा पार्टी सदस्यताबाट निष्काशन समेत गर्न सक्ने छ ।विधानको दफा ३४ को उपदफा १ (ख) अनुसार अनुशासन समितिले अनुशासनको कारबाही गर्नुपूर्व आफ्नो सफाइ दिने मौका अभियोग लागेका व्यक्तिलाई दिनुपर्ने छ । सोही दफाको उपदफा २ अनुसार, निलम्बन गर्दा बढीमा ६ महिना र निश्कासन गर्दा बढीमा तीन वर्षका लागि गर्न सक्ने छ। त्यस्तै पछिल्लो दल त्याग एन अनुसार संसदीय दलको नेताले सभामुखलाई अनुरोध गरे उनको सांसद पद पनि निलम्बन हुनसक्छ । समितिले गरेको निर्णय कारबाहीमा परेका सदस्यलाई चित्त नबुझेमा कारबाहीको सूचना पाएको मितिले ३५ दिनभित्र पार्टी केन्द्रीय समितिमा पुनरावेदनका लागि दिन सक्नेछन् र केन्द्रीय कार्यसम्पादन समितिले निर्णय नै अन्तिम निर्णय हुनेछ ।

कैलालीको टिकापुर लगायत विभिन्न भागमा भएका कार्यक्रममा पार्टी अनुशासन विपरित अभिव्यक्ति दिएको र हिंशा भड्काउन सहयोगी बनेको भन्दै कांग्रेसको अनुशासन समितिले सिंहलाई पत्र काटेको हो । पछिल्लो समय राष्टू विखण्डनदेखि सामाजिक सद्भाव भडकाउने अभिव्यक्ति दिएको भन्दै उनले दिएको अभिव्यक्तिको रेकर्ड अध्ययन गरी अनुशासन समितिले पार्टी विधान र नियमावली नियम ४१ को उपनियम १ र २ को क, ख, घ, ङ र ज अनुसार स्पष्टिकरण माग गरेको छ । यसअघि सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा मुख्य सचेतक चीनकाजी श्रेष्ठले सिंहसँग स्पष्टिकरण माग गरेका थिए ।     सिंहले २४ घण्टे जवाफ शुक्रबार बुझाएपछि शनिबार र आइतबार सार्बजनिक विदा भएको हुनाले पार्टीले कारवाही गर्ने वा नगर्ने, गरे कस्तो कारवाही गर्ने निर्णय गर्नेछ । सिंहलाई पार्टीले कारवाही गरेपनि उनले मधेसी, थारु, दलित समुदायको पक्षमा अभिव्यक्ति दिएका कारण मधेसमा उनी लोकप्रिय नेताको रुपमा उभ्रिदै गएका छन् । यदि उनलाई कारवाही गरेपनि जनताले उनलाई स्वागत गर्ने र उनलाई आगामी चुनावमा जुनसुकै पार्टीबाट आएपनि अत्यधिक मतले जिताइने मधेसी जनताहरुको भनाई छ ।

२०७२ भाद्र १३ गते आईतबार

No comments:

Post a Comment