Wednesday, August 5, 2015

भारतलाई मधेस भन्दा काठमाण्डौ प्यारो

भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी 
बीच शुक्रबार भेटवार्ता गर्दै ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


सन् १९४२ मा ‘भारत छोडो’ आन्दोलन सुरु भएसँगै एक दिन अचानक राति करिब १२ बजे जय प्रकाश नारायण, राम मनोहर लोहिया, अच्युत पटवर्दन, काशि प्रसाद सिंह, सहित करिब ७ जना जति भारतीय नेताहरु नेपालको सप्तरीको कोइरालारी गाउँमा आए । उनीहरु कोइरालारीका जय मंगल प्रसाद सिंह (जंगली बाबु) को घर पुगे । ती नेताहरु जेलबाट भागेर आएका थिए । त्यसैले भारतको पुलिस र सिआइडी दुवै उनीहरुका पछि लागेका थिए । उनीहरु गोप्य रुपमा नेपालमा बस्न चाहन्थे । त्यतिबेला भारतबाट क्रान्तिकारीहरु भागेर नेपालको मधेसको भु भागमा शरण लिने गर्थे । मधेसीले पनि  भारतका क्रान्तिकारीहरुका लागि केही गर्नुपर्छ भनेर एउटा समिति बनाए । जय मंगल प्रसाद सिंह, चतुरानन सिंह, रामेश्वर सिंह, तारिणी प्रसाद सिंह र बीर बहादुर गरी ५ जनाको उक्त समिति बन्यो । भारतबाट भागेर नेपालमा आउने व्यक्तिहरुका लागि उक्त समितिले तिनीहरुलाई लुकाएर राख्ने, खाना तथा आवास सहितको व्यवस्थ ागर्न थाले । पछि गएर उक्त समितिले बखोरटपुमा एउटा क्याम्प नै बनाइदिए ।

सप्तरीको रामेश्वर सिंहले ‘भारत छोडो’ आन्दोलनका समयमा भारतबाट नेपाल आएका आन्दोलनकारीहरुलाई हरसम्भव मद्दत गरे । ‘आजाद दस्ता’ को प्रशिक्षण देखि लिएर जयप्रकाश नारायणको लागि बस्ने सम्मको प्रबन्ध मिलाउन उनको महत्वपुर्ण योगदान थियो । राणा शासन विरुद्ध लडाई लड्नका लागि मधेसीहरु भारतकासुभाष चन्द्र बोस र महात्मा गान्धी जस्ता महान नेताहरुबाट प्रेरित भएका थिए । उनीहरुको सम्बन्ध भारतको समाजवादी नेता राममनोहर लोहिया, जयप्रकाश नारायण, अशोक मेहता, आचार्य नरेन्द्र देव जस्ता नेताहरुसँग थियो । साथै विहार र बंगालका कम्यूनिष्ट र समाजवादी नेताहरुसँग पनि राम्रो सम्बन्ध स्थापित भईसकेको थियो ।

यसै बीच सन् १९४२ मा महात्मा गान्धीले भारतमा ‘करो या मरो’ को नारा दिए । विहारमा ११ अगस्त देखि रेल्बे, सरकारी कार्यालयहरुमा तोडफोडको काम तिब्र गतिमा अगाडी वढ्यो । फलस्वरुप दमन पनि तिब्र भयो । २१ देखि २२ अगस्त सम्म भारतका कांग्रेसीहरुको नेपाल आउने क्रम सुरु भयो । कांग्रेस र समाजवादीहरुको सम्मेलन, बैठक गराई दिने, बस्ने प्रबन्ध सबै सप्तरी जिल्ला बासीले मिलाई दिए । यसका अतिरिक्त हिन्द फौजलाई आफ्नो गतिविधि गर्नका लागि ठाउँ समेत उपलब्ध गराइन्थ्यो । ‘आजाद दस्ता’को आम्र्स टेूनिङ नेपालको जंगलमा हुन्थ्यो, जसको नेतृत्व सरदार नित्यानन्द सिंहलाई सुपिएको थियो । उक्त टेूनिङको व्यवस्था नेपाल सरकारका बागी जमिन्दार श्रीदल बहादुरले गरेका थिए । यसका अतिरिक्त शिब्बनलाल सक्सेना, विश्वनाथ दुवे तथा जमिन अलि जस्ता भारतीय नेताहरुले पश्चिमी नेपाल तराईलाई आफ्नो क्रान्तिकारी अड्डा बनाएर व्रिटिश साम्राज्यबादी शासन व्यवस्थालाई उखेलेर फाल्ने कार्य सम्पन्न गरेका थिए ।

सन् १९४२ को अगस्त क्रान्तिको प्रारम्भिक समयमा नै अंग्रेजहरुको दमनबाट बच्नका लागि थुप्रै भारतीय स्वतन्त्रता सेनानीहरु नेपालको मधेसका विभिन्न भागहरुमा शरण लिनका लागि आईपुगेका थिए । सप्तरीको कोइलारी, बर्साइन, सखड, गोविन्दपुर लगायत थुप्रै गाउँहरुमा भारतीय आन्दोलनकारीहरु शरण लिएका थिए । त्यस्ताका बक्रोटप्पुमा जयप्रकाश नारायण, अच्यूत पटवद्र्धनको बहिनी विजया पटवद्र्धन, डा.राममनोहर लोहिया, डा.बैजनाथ झा, बाबा श्यामनन्द, ब्रजकिशोर शास्त्री, कार्तिक प्रसाद सिंह आदि नेताहरु गुप्तबासका रुपमा शरण लिएका थिए । तर, ब्रिटिश सरकारको पिछलग्गु रहेको नेपालको राणा सरकारले २० मई १९४२ मा अंग्रेजको इसारामा सप्तरीको कुशाहा, लक्ष्मीनिया लगायतका स्थानहरुबाट भारतीय नेताहरुलाई राणाको पुलिसले गिरफ्तार गर्यो । र, नेपाल सरकारले उनीहरुलाई बन्दी बनाएर हनुमान नगर जेलमा राख्यो ।

जब कोइलारी गाउँका स्थानीयवासीहरुलाई गिरफ्तारीको बारेमा सूचना प्राप्त भयो, हरहालमा उनीहरुलाई छोडाउने योजना बनाउन थाल्यो । बडा हाकिमलाई ५० हजार रुपैयाँको प्रलोभन दिएर भारतीय नेताहरुलाई रिहा गराउने उनीहरुले योजना बनाए । त्यतिबेला एक आनामा ५० किलो धान किन्न सकिन्थ्यो । अर्थात ५० हजार रुपैयाँ धेरै ठुलो रकम थियो । तर पनि स्थानीयवासीहरुले आफ्नो घरको छोरी बुहारीको गरगहना समेत बन्धक राखेर ५० हजार रुपैयाँको व्यवस्था मिलाए । जब बडा हाकिम कहाँ उनीहरु पैसा लिएर पुगे, बडा हाकिम रिहा गर्न तयार भएनन् । अनि त्यसपछि जेलमा आक्रमण गरेर रिहा गराउने उनीहरुले योजना बनाए ।

लगत्तै सरदार नित्यानन्द सिंह, सुरज बाबु, गुलाबी सोनारको नेतृत्वमा मधेसका बहादुर यौद्धाहरुले हनुमान नगर जेल तोडेर बन्दी बनाइएका भारतका नेताहरुलाई भगाउन सफल भए । यसरी हनुमान नगर जेलबाट ७ जना बन्दीहरुलाई रिहा गराउन सफल भए । उक्त घटनाबाट चिढिएका नेपाल पुलिसको आक्रोश र आतंक बढ्न थाल्यो । बडा हाकिम तुला विक्रम सोही राति ३ बजे हाति चढेर विदा भए र ५ बज्दा बज्दै कोइलारीलाई घेराउ गरे । त्यसपछि स्थानीय बासीहरु माथि दमन बढ्नुका साथै गिरफ्तारीको क्रम पनि सुरु भयो । पछि कुशहाको पश्चिममा रहेको जंगलको बनरक्षक विष्णु ध्वज श्रेष्ठलाई गिरफ्तार गरियो । तारिणी प्रसाद सिंह, मिन बहादुर सिंह, सखडाको अब्दुल मियाँ, कुशहाको कृष्ण बिर कामी, किशन दुसाद, शम्शेरपुरको सेवक माझीलाई गिरफ्तार गरियो । यसरी उक्त प्रकरणमा करिब २२ जना स्थानीय वासीहरुलाई पक्राउ गरी काठमाण्डौ जेल चलान गरियो भने १ सय २७ जनालाई राजविराज जेलमा राखियो । पक्राउ परेकाहरुलाई नेल र हतकड्डी लगाएर भारतको निरमली, दरभंगा हुँदै टूेन मार्फत अमलेखगञ्ज पुर्याइयो । त्यसपछि पैदल हिडाएर उनीहरुलाई काठमाण्डौ जेल पुर्याइएको थियो । सोही क्रममा जेलमा नै अब्दुल मियाँ र कृष्ण बिर कामी १९४४ इस्वीमा सहिद भए । १९४६ इस्वीमा चतुरा नन्द सिंह, जंगली प्रसाद सिंह समेत अन्य मानिसहरुलाई भारतमा स्वतन्त्रता पछि महात्मा गान्धीको आग्रहमा रिहा गरिएको थियो ।

यसरी हेर्ने हो भने भारतमा ब्रिटिस साम्राज्यबाद शासनबाट स्वतन्त्रता दिलाउन मधेसको भुमि र मधेसी बिर सपुतहरुले महत्वपुर्ण योगदान मात्र दिएका छैनन्, तत्कालिन राणा शासनको चरम यातना खेप्नुका साथै जेलमै प्राणको आहुति पनि दिएका छन् । मधेसले त्यसबेला शरणार्थी भएर आएका भारतीय नेताहरुलाई नजोगाएको भए भारतको आन्दोलन लम्बिन सक्ने थियो । भारतको लागि मधेस जहिले पनि सकारात्मक रहँदै आउनुमा रोटिबेटीको सम्बन्ध महत्वपुर्ण हो । तर, मधेसमा अधिकारबाट विहिन मधेसी नागरिकलाई अधिकार दिलाउन भारतको शासक बर्गको कुनै खास भुमिका देखिँदैन । भारतको शासकले काठमाण्डौको शासक सँगको सम्बन्धलाई नै प्राथमिकतामा राखेका कारण मधेसीहरु अधिकार विहिन भएर बस्नु परेको छ ।

भारतलाई मधेस भन्दा काठमाण्डौ प्यारो
मधेश र भारतबीच बहुपक्षीय सम्बन्ध रहेको छ । यो कुरा काठमाडौँले बुभ्mनै चाहँदैन । खुल्ला सिमाना मधेशको शक्ति हो, कमजोरी होइन । सत्तासँग सम्झौता गर्नलाई मधेशवादी दललाई जहिले पनि लैनचौर दरवारले दबाव दिइरहेको हुन्छ । काठमाडौँले राम्ररी बुझिसकेको छ कि मधेशवादी दलसँग कुनै सम्झौता गर्नु परेमा लैनचौर दरवारले दबाव दिन सक्छ र लैनचौरबाट नै दबाव दिन लगाउँछ । भारत पनि नेपालको सत्तासँग नै राम्रो सम्बन्ध बनाउन चाहेको हुन्छ, खासमा । किनभने दिल्लीले नेपालसँग द्धिपक्षीय महत्वका विषयमा सम्झौता गर्नुपर्दा नेपालको सत्तासँग नै गर्ने हो । यसमा मधेशीको कुनै भूमिका हुँदैन । नेपाली सत्तासँग सम्बन्ध बिगारेर मधेशीसँग नजिक हुनुमा भारतले कुनै फाइदा देख्दैन । 

मानव अधिकारकर्मी तथा अधिबक्ता दिपेन्द्र झा भन्छन,“हुनसक्छ भारतले मधेशीलाई नजिकको मित्र सम्झेर परकोलाई बढी मान गरेको होला । तर पराईलाई धेरै मान गर्ने र ठाउँ दिने बहानामा नजिकको मित्र यति धेरै पछाडि धकेलिन्छ कि नजिकको मित्र पनि मित्र रहँदैन र पराई पनि आप्mनो हुन सक्दैन । यसमा भारत सचेत रहनु जरुरी छ । पहाडमा भारत विरोधी भावना त छँदैछ । तर मधेशका नयाँ पुस्तामा पनि यस्तो भावना नफैलियोस् भन्नेतर्फ भारत सचेत रहन जरुरी छ ।” 

भारत चाहन्छ कि मधेशीहरू आप्mनो लडाई आफैँ लडोस् । मधेशीको लडाई भारतले लड्ने होइन । भारतले आप्mनो राष्टिूय हितको रक्षा गर्नु स्वाभाविक हो । मधेशमा कुनै किसिमको असुरक्षा र अशान्ति बढ्दा त्यसको प्रत्यक्ष असर भारतको युपी, विहार र पश्चिम बंगालमा पर्ला भन्ने बुझाइ भारतका ठूल(ठूला नेता र कर्मचारीतन्त्रमा छ । भारत र बाङ्ग्लादेशबीचको सम्बन्ध निर्धारणमा पश्चिम बङ्गाल तथा भारत र श्रीलङ्काबीचको सम्बन्ध निर्धारणमा तामिलनाडुको भूमिका जहिले पनि अपरिहार्य रहेको छ । तर मधेश र भारतको सम्बन्ध निर्धारणमा युपी र विहारको कुनै भूमिका रहन सकेको छैन । किनभने यस कुरामा मधेशले लखनउ र पटनालाई जोड्न सकेको छैन । मधेशले जहिले पनि दिल्लीको भूमिका खोज्यो जसले मधेशको भाषा, संस्कृति, भेषभूषा, रहनसहन तथा परम्परालाई बुभ्mन सकेन र चाहेन पनि । 

अधिबक्ता झा भन्छन,“नेपालमा नेपाली राष्टिूयता भनेको भारत बिरोधी भावना हो भन्ने धारणा व्यक्तिको मनमा नजानिदो तरिकाले गडेर रहेको देखिन्छ, त्यसैले एकथरि जसले भारतको धुँवाधार विरोध गर्दछ, ऊ नेपालमा लोकप्रिय हुन्छ, र जसले भारतको प्रशंसा गर्छ, ऊ नेपालमा शङ्कास्पद व्यक्तिको रूपमा दरिन पुग्छ र उसको राष्टिूयता शङ्काको घेरामा पर्न थाल्छ ।”

एकाध अपवादबाहेक अधिकाँश पहाडी दाजुभाइ स्वाभावले नै भारत विरोधी राष्टिूयताको मानसिकताबाट हुर्केका हुन्छन्् । तर मधेशीहरू भारतीय भूगोल, संस्कृति, परम्परा तथा रहनसहनसँग नजिक भएको कारण भारतप्रति सकारात्मक विचार राख्ने स्वभावका हुन्छन्् । तर दिल्ली र मधेशबीच कहिलै पनि गहिरो सम्बन्ध रहन सकेन । अधिबक्ता झाका अनुसार मधेशसँग नजिक भयो भने नेपालका सत्ताधारी पहाडी तथा गोरखा रेजिमेण्ट र उनीहरूको सुरक्षा गार्ड तथा गेट पालेहरू भारतसँग बिच्किन्छ भन्ने बुझाई दिल्लीमा छ ।

    मधेशी नेताहरूले भारतीय दुतावाससँग बेलामौकामा सहयोगको याचना गर्ने, छात्रवृति, विकास तथा उपचारको लागि सहयोग माग्नुभन्दा माथिको सम्बन्ध बनाउन सकेका छैनन् । परिणामस्वरूप समकक्षी तथा मित्रभन्दा सूचक र आदेश पालकमा मधेशी नेताहरू सीमित भएका छन्् । लेनदेनको राजनीतिभन्दा माथि उठेर सामाजिक तथा पारिवारिक सम्बन्ध बनाउन सकेको छैन मधेशले भारतसँग । त्यसैले भारत र मधेशबीच रहेको लेनदेनको सम्बन्धलाई समकक्षीमा परिवर्तन गर्नु अतिआवश्यक छ । 

भारतमा भारतीय जनता पार्टीको सरकार आएपछि नेपाल र भारतबीचको सम्बन्धमा थोरै परिवर्तनको सूचकहरू देखा पर्न थालेको छ । नेपालको इतिहासमा पहिलोचोटि भारतीय प्रधानमन्त्री एकै वर्षमा दुईचोटि नेपाल भ्रमण गरेकोलाई एउटा राम्रो सूचक मानिएको छ । पहिले भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले हिमाल, पहाड र तराईलाई मिलेर बस्न भनेकोमा काठमाडौँ धेरै हर्षित भएको थियो ।

     उनको धेरै गुनगान गरिएको थियो तर दोस्रो भ्रमणमा जनकपुर र लुम्बिनी भ्रमणको इच्छा देखाउँदा नेपाली सत्ताले त्यसलाई विभिन्न बहानामा रोक्यो । जनकपुरका गरीब विद्यार्थीलाई साइकल बाँड्ने कुरा गर्दा संसद्मा बहस चल्यो । जनकपुरको बाह्रबिघामा नागरिक अभिनन्दन गरिने कुरालाई मन्त्रिपरिषद्ले मानेन र जानकी मन्दिर परिसरमा अभिनन्दन हुने जस्ता नानाथरिका कुरा गरेर मोदीको मधेश भ्रमण रद्ध गर्नमा भूमिका खेल्योे ।

काठमाडौँको पहाडी शासकलाई मोदीले मधेशीहरूलाई धेरै विकास र सहयोगको आश्वासन पो दिने हो कि भन्ने डर थियो । काठमाडौँको पशुपति नाथमा मोदीले १० क्विन्टल चन्दन चढाउँदा नेपाली सत्तालाई कुनै आपति भएन तर मधेशका गरीब विद्यार्थीलाई साइकल बाँड्न लाग्दा राष्टिूयताको उल्लङ्घन हुने उनीहरूको बुझाई रह्यो । दोस्रो भ्रमणको बेला टूमा सेन्टरको उदघाटन गर्ने सन्दर्भमा मोदीले मधेशी र माओवादीलाई बाइपास गर्न नहुने र सहमतिमा संविधान निर्माण गर्न सल्लाह दिँदा नेपाली सत्तालाई सिस्नुपानी छ्यापेजस्तै भयो । मोदीको पहिलो भ्रमणपछि उनको प्रशंसा गर्नेहरू दोस्रो भ्रमणपश्चात् उनको विरोधी बने, उनकोबारेमा नकारात्मक कुरा काट्ने हरूको सङ्ख्या ह्वात्तै बढ्यो काठमाडौँमा । दोस्रो भ्रमणको बेला मोदीलाई कसैले गलत कुरा सिकाएको हुनाले सहमतीय संविधान बनाउनलाई मोदीले नेपालका शीर्ष नेताहरूलाई सुझाएको आरोप सत्तापक्षीय नेताहरूले लगाउन थाले । 

    भारतले १२ बँुदे सम्झौतामा महत्वपूर्ण भूमिका खेलेको थियो भने मधेश आन्दोलनताका पनि २२ बुंँदे र ८ बुँदे सम्झौता गराउन सक्रिय भुमिका खेलेको थियो । भारतले अदृश्य मध्यस्थता गरी सम्पन्न गराएका सम्झौताहरूकोे कार्यान्वयन सहितको संविधान जारी गराउनमा भारतको सक्रिय भूमिका अनिवार्य छ । हुन त नेपालमा भारतले केही गरे पनि विवादित हुने र नगरे पनि विवादित हुने पहिलेदेखि भइरहेको छ । त्यसैले भारतको सक्रिय भूमिकाले नै नेपालमा सङ्घीय लोकतान्त्रिक संविधान अर्थात सङ्घीयता, धर्मनिरपेक्षता र समावेशीसहितको प्रगतिशील संविधान निर्माण हुन सक्ने देखिन्छ ।

२०७२ श्रावण १७ गते आईतबार

No comments:

Post a Comment