Tuesday, May 12, 2015

योगनारायण विरुद्ध कस्सिदै कानुनी सिकन्जा

योगनारायण यादव ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेकपा एमालेका बैकल्पिक पोलिट व्यूरो सदस्य योगनारायण यादव विरुद्ध कानुनको सिकन्जा कस्सिदै गएको छ । यादव प्रमुख अभियुक्त भई दायर भएको कतव्र्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका तीन जना अभियुक्तहरुलाई अदालतले थुनामा पठाएपछि यादवको संकट थप वढेको हो । ८ बैशाख २०७२ मा धनुषा जिल्ला अदालतका न्यायाधिश मुकेश उपाध्यायको इजलासले सोही घटनामा पक्राउ परेका प्रतिवादीहरु महेश यादव, रामविहारी यादव भनिने लाल विहारी यादव र महेन्द्र यादवलाई पुर्पक्षको लागि थुनामा राखि मुद्दाको पुर्पक्ष गर्नु र फरार प्रतिवादीहरुलाई पक्राउ पुर्जी जारी गरिएको आदेशले योगनारायण यादव थप संकटमा परेका हुन् । सबैला नगरपालिका १ मा बस्ने रामसेवक राउतको श्रीमति सिकिल देवि गडेरी र सोही नगरपालिकाका श्याम किशोर साहले गरेको किटानी जाहेरी सहितको मुद्दामा अदालतले उक्त आदेश गरेको हो । रामसेवक गडेरीको हत्या गरेको तथा थुप्रै मानिसहरुलाई कुटपिट गरी घाइते बनाएको भन्दै २९ जना विरुद्ध किटानी जाहेरी दिइएको छ । 
    अदालतको आदेश लगत्तै योगनारायण यादव सहित फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न धनुषा प्रहरी सक्रिय भईसकेको भन्दै प्रहरी निरीक्षक भगिरथ रेग्मी भन्छन,“ सादा पोशाकमा प्रहरी परिचालन भई तिनीहरुलाई पक्राउ गर्न प्रहरी टोली लागि परेका छन् । केही दिन भित्रै तिनीहरुलाई पक्राउ गरी अदालत सामु उभ्यिाउने छौं ।” कर्तव्य ज्यान सम्बन्धी महलको १३ (३) सम्बन्धि सर्बस्व सहित जन्मकैद र ज्यान मार्ने उद्योग अन्तरगत ५ देखि १२ बर्ष सम्म कैद सजाय माग दावी गरेका सरकारी वकिल तथा जिल्ला न्यायाधिवक्ता पुन्यप्रसाद पाठक भन्छन,“ तिनीहरु तत्काल बच्ने कुनै सम्भावना देखिँदैन । प्राप्त प्रमाण तथा घाइतेहरुले स्वयम गरेको किटानी जाहेरी तथा बयान कागज, घाइतेहरुको घाउ जाँच केश फारम रिपोर्ट, मृतकको शव परीक्षण प्रतिवेदन रिपोर्ट, पक्राउ परेका प्रतिवादीहरुले मेरै सामु प्रहरी अधिकृत समक्ष गरेको बयान कागजका आधारमा पनि उनीहरु जेल जाने लगभग निश्चित छ ।”
        अहिले थुनामा गएका प्रतिवादीहरुले १७ नम्बर बमोजिम पुनरावेदन अदालतमा गएको खण्डमा यदि पुनरावेदनले ती मध्ये कसैलाई तारेखमा वा धरौटीमा जमानत दिए भने मात्र योगनारायण लगायत अन्य प्रतिवादीले जमानत पाउने सम्भावना रहन्छ भन्दै सरकारी वकिल पाठक भन्छन,“ यदि फरार प्रतिवादीहरु अदालतमा म्याद गुजारेर उपस्थित भएपनि वा प्रहरीले पक्राउ गरेर अदालत सामु उभियाएपनि जमानतमा छुटिनैहाल्ने सम्भावना भने देखिँदैन ।”
    उक्त घटनामा प्रदिप कुमार यादव, उमेश साह कल्वार, दिनेश साह, रामदेव ठाकुर, लखिचन साह, श्याम किशोर साह, रामबली साह गरी ११ जनाको प्राथमिक स्वास्थ्य केन्द्र सबैलाबाट घाउ जाँच केस फारम रिपोर्ट प्रहरीले पेश गरेका छन् । त्यसैगरी घाइते रामसागर साहको बयान कागज प्रहरी वृत्त बौद्ध काठमाण्डौ र उसको घाउ जाँच केश फारम प्रतिवेदन समेत पेश गरिएको छ । मृतक राम सेवक गडेरी राउतको पोस्टमार्टम रिपोर्टमा समेत धेरै चोट पटक बताइएको छ । पोस्टमार्टम रिपोर्ट अनुसार मृतक गडेरीको टाउँकोमा धार नभएका हतियारको चोट, दाहिने आँखाको माथि निल, दायाँ तिघ्रा र खुट्टामा चोट मृत्युको प्रमुख कारण बताइएको छ । घाइते भई नेपाल मेडिकल कलेज शिक्षक अस्पताल काठमाण्डौको न्यूरो आइसियू कक्षको बेड नम्बर ३७५ मा उपचार गराईरहेका रामसागर साहको बयान कागज र अस्पतालको प्रतिवेदन अनुसार लठ्ठीले हानेको जस्तो देखिएको र मर्न पनि सक्ने प्रतिवेदनलाई प्रहरीले समेत ठुलो प्रमाणको रुपमा पेश गरेको देखिन्छ । त्यसैगरी रगत लागेको सिसोको लाठि, चप्पल, जुता यत्रतत्र छरिएको, रगत लागेको ढुङ्गा, काठको खम्बामा लागेको रगत आदि बरामदी प्रमाणको रुपमा पेश गरेको पाइन्छ । पक्राउ परेका प्रतिवादीहरु महेन्द्र यादव, महेश यादव र लाल विहारी यादवको फुट प्रिन्ट समेत परीक्षण गरी पठाईदिनका लागि धनुषा प्रहरीले केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाण्डौलाई पठाएको छ । यद्यपि फुटप्रिन्टको प्रतिवेदन अहिले सम्म आईसकेको छैन ।
क–कसका विरुद्ध किटानी जाहेरी ?
उक्त मुद्दामा धनुषा साविक सबैला गाविस वार्ड नं.२  हाल सबैला न.पा.वार्ड नं. १ मा बस्ने रामलखन यादवको छोराहरु बर्ष ५० को योगनारायण यादव, बर्ष ४१ को महेन्द्र यादव, बर्ष ४० को जगदीश यादव विरुद्ध किटानी जाहेरी दिइएको छ । त्यसैगरी सबैला कै सुरजनाथ यादवको छोरा बर्ष ५० को महेश यादव, रामेश्वर यादवको छोरा बर्ष ३२ को रामविहारी यादव भन्ने लाल बिहारी यादव, घुरे यादवको छोरा बर्ष ५० को रामबाबु यादव, ऐ.ऐ.मा बस्ने दुःखी यादवको छोरा बर्ष ४४ को लाल विहारी यादव, धनिकलाल यादवको छोरा बर्ष ३० को पुष्पनारायण यादव, रामबृक्ष साहको छोरा बर्ष ४० को फिरन साह, जिल्ला धनुषा साविक सबैला गाविस वार्ड नं. १ हाल सबैला न.पा.वार्ड नं.१ मा बस्ने किशोरी यादवको छोरा बर्ष २७ को लक्ष्मण यादव विरुद्ध समेत किटानी जाहेरी गरिएको छ । सुखी यादवको छोरा बर्ष ६० को रामविलास यादव, किशोरी यादवको छोरा बर्ष ३१ को प्रदिप यादव, अर्जुन साह तेलीको छोरा बर्ष ४८ को ज्ञानी साह, साविक सबैला गाविस वार्ड नं. ४ हाल सबैला न.पा.वार्ड नं.२ मा बस्ने गुनिया यादवको छोरा बर्ष ४० को बुधेश्वर यादव, सितल लाल यादवको छोरा बर्ष ३२ को राजदेव यादव विरुद्ध मुद्दा परेको हो ।
     जिल्ला धनुषा साविक सबैला गाविस वार्ड नं.५ हाल सबैला न.पा.वार्ड नं. २ मा बस्ने लक्ष्मी यादवको छोरा बर्ष ४४ को सिताशरण यादव, शिवजी यादवको छोरा बर्ष ४४ को सिताशरण यादव, रामनरेश प्रसाद साह कलबारको छोरा बर्ष ४२ को राजु प्रसाद गुप्ता, माची झिट्कैया गाविस वार्ड नं.६ घर भई हाल सबैला न.पा.वार्ड नं. १ मा बसने महगा राउतको छोरा बर्ष ४४ को देवन यादव भन्ने देवलाल यादव, कजरारमौल गाविस वार्ड नं. १ मा बस्ने चन्द्रकिशोर यादवको छोरा बर्ष ४० को लक्ष्मीनारायण यादव,सबैला न.पा.वार्ड नं.१ मा बस्ने सुरजनाथ यादवको छोरा बर्ष २९ को झोपे यादव,परमेश्वर गडेरीको छोरा बर्ष ५० को जगदीश राउत, जिवछ यादवको छोरा बर्ष ४० को महेन्द्र यादव, जिवछ यादवको छोरा बर्ष ४८ को दुखिया यादव, खुसी यादवको छोरा बर्ष ५८ को रामबृक्ष यादव, ऐ.ऐ.वार्ड नं.७ मा बस्ने रामदयाल यादवको छोरा बर्ष ३८ को जिवछ यादव, झटियाही वार्ड नं.४ मा बस्ने किशोरी साहको छोरा बर्ष ३६ को दुर्गा प्रसाद साह, झटियाही वार्ड नं.७ मा बस्ने रामस्नेही मण्डलको छोरा बर्ष ३० को देवा भन्ने देवनारायण मण्डल र गणेशमान चारनाथ न.पा.वार्ड नं.९ मा बस्ने रामबृक्ष महत्तोको छोरा बर्ष ४५ को अच्छेलाल महत्तो विरुद्ध किटानी जाहेरी दिइएको छ ।
    पक्राउ प्रतिवादी महेन्द्र यादवको बयान कागज
प्रहरीले पक्राउ गरेका प्रतिवादी महेन्द्र यादवसँग जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जिल्ला न्यायाधिवक्ता पुन्य प्रसाद पाठक समक्ष गरेको बयान कागजमा अपराध स्वीकार गरेका छन् । यस्तो छ बयान ः हामी तिन दाजु भाई छौं । जेठो योगनारायण यादव, माहिलो म र कान्छो जगदीश यादव हुन । हामीहरु संगोलमै बस्दै आएका छौं ।
    जेठो दाजु योगनारायण यादव राजनीतिमा लाग्नु भएको छ । म खेती र एजेण्टको काम गर्दै आएको छु । त्यस्तै कान्छो भाई जगदीश यादव सम्पुर्ण खेतको रेखदेख गर्दै आएको छ । सँगै पक्राउ परेको लाल विहारी यादव, महेश यादव गाउँकै छिमेकी हुन । साविक जिल्ला धनुषा गा.वि.स सबैला वार्ड नं. ९ हाल जिल्ला धनुषा सबैला न.पा.वार्ड नं. ३ स्थित सबैला बजारले ओगटेको रुदेश्वरानन्द प्रधानाङ्गको करिब २(१०(०(० जग्गा साविक देखि नै पर्ति र गौचरण रही सार्वजनिक रुपमा प्रयोग हुँदै आएको थियो ।
     २०४६ साल तिर निज रुद्रेश्वरनन्द प्रधानाङ्ग गाउँ छाडी काठमाण्डौ गई त्यही बस्न लागेका थिए । त्यस पश्चात रुद्रेश्वरनन्द प्रधानाङ्ग र दाजु योगनारायण यादव सँग कुराकानी भई जग्गा दाजु योगनारायण यादवले सो जग्गा लिनु भएको हो । सो जग्गा कसको नाउँमा लिनु भयो सो कुरा मलाई थाहा भएन । २०७० साल चैत्र महिनामा सो जग्गा पलटिङ्ग गरी एक सय जति पिलर गाडिएको थियो । सो कुरा गाउँका मानिसहरुले थाहा पाई प्रतिकारको लागि स्थानीय मानिसहरुले मोर्चा बनाई एक ठाउँमा भए ।
     दाजु योगनारायण यादव  लगायत मानिसहरु अर्को गुट बनाई गठमेल भई बसेका थिए । मोर्चामा बसेका व्यक्तिहरुले पलटिङ्ग न.पा.मा विकास निर्माण लगायतमा दाजु योगनारायण यादवको पक्ष एक तर्फ र स्थानीय नागरिकहरुको मोर्चा अर्को पक्षमा रही दुई धारबाट प्रतिस्पर्धा हुँदै आएको थियो । यसै क्रममा मिति २०७१ कार्तिक महिनामा दाजुले सो जग्गाको अधिकृत वारेशनामा बनाई बिक्री गर्न खोज्नु भएकोमा सो कुरा स्थानीय मानिसहरुले थाहा पाई मोर्चाको तर्फबाट  रामबली साह, तेजनारायण यादव, कारीराम यादव, प्रदिप यादव, हरिनारायण यादव, राम सेवक गडेरी समेतले अदालतमा मुद्दा गरी जग्गा रोक्का गराई दिएको थियो । त्यस पश्चात पुनरावेदन अदालतबाट जग्गा फुकुवा भएको थियो । सो कारणहरुबाट मोर्चा पक्ष र दाजु योगनारायण पक्ष बीच आन्तरिक द्वन्द्व र बैचारिक मतभेद रहदै आएको थियो ।
    जिल्ला धनुषा सबैला न.पा. वार्ड नं.१ स्थितमा रहेको मदन आश्रित निम्न माध्यमिक विद्यालय सबैलामा पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याम साहको पदावधी करिब २ बर्ष अगाडी नै समाप्त भई सकेकोले मिति २०७१÷१२÷०८ गतेको दिन विद्यालयको प्र.अ.रामपुकार गामीले अभिभावक भेलाको आयोजना गरेको थियो । सो भेलामा पक्ष विपक्षबाट अर्थात दाजुको पक्षबाट फिरन साह, ज्ञानी साह समेतका ६÷७ जना मोर्चा पक्षबाट रामसागर साह, उमेश साह, शैलेन्द्र साह, रामदेव ठाकुर समेतका ५÷६ जना गरी १२÷१३ जना उम्मेदवार भएकोले बढी उम्मेदवार भएको कारण कुरा नमिलेकोले अध्यक्ष पक्षको उम्मेदवार रु. २५ हजार र सदस्य पक्षको उम्मेदवारले रु.१५ हजार विद्यालयको खातामा जम्मा गरेको भौचर मिति २०७१÷१२÷९ गते पेश गरेकोमा मात्र उम्मेदवारी दर्ता हुने र चुनाव मिति २०७१÷१२÷२५ गते हुने निर्णय भएको छलफल समाप्त भयो । सो छलफलमा म पनि गएको थिए । त्यस पश्चात आफ्नो तर्फबाट १÷१ जना उम्मेदवार राख्नको लागि दाजुको तर्फबाट हाम्रै घरमा र मोर्चाको तर्फबाट  रामदेव ठाकुरको घरमा बैठक बस्ने कुरा भएको सुनेको थिए ।
हाम्रो घरमा दाजु योगनारायण यादव, म, महेश यादव, राम विहारी यादव, जगदीश यादव, बुधेश्वर यादव, रामबाबु यादव, लक्ष्मण यादव, राजदेव यादव, प्रदिप यादव, सिताशरण यादव, लक्ष्मीनारायण यादव, ललाविहारी यादव, झोपे यादव, रामविलास यादव, जगदीश राउत, महेन्द्र यादव, जिवछ यादव, दुर्गा प्रसाद साह, देवनारायण मण्डल, देव शरण यादव, अच्छेलाल महत्तो, पुष्पनारायण यादव र देवन यादव समेतका व्यक्तिहरुलाई दाजुले बोलाई छलफल राख्दा मोर्चा पक्षका मानिसले हाम्रो विभिन्न कामहरुमा बाधा अवरोध पु¥याउँदै आएको छ । हरेक काममा हाम्रो विरोध मात्र गर्दै आएकोले हाम्रो पक्षमा मानिसहरु घट्दै आएका छन् । पछि हामीलाई नराम्रो असर हुन्छ । त्यस कारण यिनीहरुलाई ठिक गर्नुपर्दछ भनि दाजु सो कुरा भने पछि सबै जनाले यो कुरा बास्तविक हो हामीले निजहरुलाई कुटपिट गरी घाइते बनाउनु पर्दछ भन्ने कुरा मैले भनेको थिए ।
    त्यस पश्चात आज मोर्चाको बैठक रामदेव ठाकुरको घरमा बस्दैछ यसै बेलामा गएर निजहरुलाई ठिक गर्नु पर्दछ भनि सल्लाह भई बैठक रामदेव ठाकुरको घरमा बस्दैछ यसै बेलामा गएर निजहरुलाई ठिक गर्नूपर्दछ भनि सल्लाह भई सोही सल्लाह र योजना मुताविक माथि उल्लेखित व्यक्तिहरु आ आफ्नो घरमा गई लाठी, चिरपट लिई आए । मैले दरबाजामा  रहेको सिसौंको लाठी लिए त्यस पश्चात सबैजना दाजुको नेतृत्वमा रामदेव ठाकुरको दरबाजामा गयौं । तिनीहरु बैठकमा बसिरहेको थिए ।
त्यस पश्चात दाजुले यिनीहरुलाई कुट भनि बचन दिई रामबली साहलाई घाँटीमा समाती भुईमा लडाई दिनु भएको र प्रदिप यादवलाई कठालो समात्नु भएको तथा म समेतले बैठकमा बसिरहेका कारी राम यादव, श्याम किशोर साह, दिनेश साह, पर्शुराम साह, रामचन्द्र साह, राम सेवक राउत, राम सागर साह, रामदेव ठाकुर समेतलाई लाठी तथा काठको चिरपटले धमाधम प्रहार गर्न लागे । त्यतिकैमा राम सेवक राउत र रामसागर साह समेतले रामबली साहलाई बचाउन खोज्दा माथि उल्लेखित सबै जनाले निज दुवै जना माथि प्रहार गर्न लागे । मैले पनि निज राम सेवक राउत र राम सागर साह माथि लाठी प्रहार गरेको हुँ । अन्य व्यक्तिहरु सो ठाउँबाट लुक्न र भाग्न सफल भएकोले निज रामसागर साह र राम सेवक राउतलाई मरणासन्न हुने गरी कुटपिट गरी अचेत बनाई हामीहरु आ आफ्नो घरमा गएका हौं । त्यस पश्चात सो कुरा  प्रहरी समेतले थाहा पाई घटनास्थलमा आई घाइतेहरुलाई उपचारको लागि घाइतेका आफन्त र स्थानीय मानिसहरुको सहयोगमा जनकपुर ल्याएकोमा जनकपुरमा उपचार हुन नसकी थप उपचारको लागि काठमाण्डौं लैजाने क्रममा राम सेवक राउतको मृत्यु भएको हो र राम सागर साहको काठमाण्डौमा उपचार भईरहेको भन्ने कुरा मैले सुनेको हुँ ।
त्यसै क्रममा सोही विषयमा म, महेश यादव र लाल विहारी यादव मिति २०७१÷१२÷१० गते दिउँसोको समयमा जिल्ला धनुषा सबैला न.पा.वार्ड नं.१ स्थितमा बसी सरसल्लाह गरिरहेको अवस्थामा प्रहरी आई हामीसँग सोधपुछ गर्न खोज्दा प्रहरीसँग बादविवाद भई हुल हुज्जत गर्दा प्रहरीले म, महेश यादव र लाल बिहारी यादव समेतलाई पक्राउ गरी ल्याएको हो । उक्त घटना दाजु योगनारायण यादव र निजका गठमेलका जाहेरी दरखास्तमा किटान भएका प्रतिवादीहरुले आफ्नो बरचश्व कायम गर्न, हैकम जमाउनु, प्रभुता देखाउन र सार्वजनिक उपभोगमा रहेको जग्गा विद्यालयमा आफ्नो बाहुल्यता कायम गर्न योजना बनाएर उक्त घटना घटाएका हुन । रामसेवक राउतको मृत्यु हामीहरुको कुटपिटको कारणबाट भएको हो र राम सागर साह घाइते भएको हो ।
तिनै जना प्रतिवादीहरुले प्रहरी समक्ष स्वीकार गरेको भएपनि अदालतमा इन्कार गरेका छन् ।

२०७२ बैशाख २७ गते आईतबार

No comments:

Post a Comment