Wednesday, February 18, 2015

गुठी संस्थान र झुला घरमा रहेको विद्यालय बीच टकराव

राजर्षी जनक बाल राप्रावि झुला घर जनकपुरको 
 कक्षा ३ मा २५ जना विद्यार्थीहरु नामांकन गराएको 
अभिलेख रहेपनि द एक्सक्लुसिभ पुग्दा ४ छात्राहरु 
र १ छात्र गरी ५ जना विद्यार्थीहरुलाई पढाउँदै शिक्षक ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

गुठी संस्थान शाखा कार्यालय जनकपुर र राजर्षी जनक वाल राष्टिूय प्राथमिक विद्यालय जनकपुर बीच अहिले टकराव उत्पन्न भएको छ । गुठी संस्थानको मातहतमा रहेको जग्गामा निर्मित उक्त विद्यालयलाई खाली गर्न गुठी संस्थानले विद्यालयको नाउँमा पत्राचार गरेको छ भने अर्को तर्फ विद्यालय भवन खाली नगर्ने विद्यालयले अडान लिएपछि ती दुवै संस्था बीच अहिले टकरावको स्थिति पैदा भएको हो ।
११ माघमा गुठी संस्थानले औपचारिक रुपमै झुला घर खाली गर्न भनेर विद्यालयलाई पत्राचार गरिसकेको छ । राम मन्दिरको बार्षिक रुपमा सम्पन्न गर्नुपर्ने विभिन्न धार्मिक कृत्यहरु मध्ये भगवानको झुला कार्य समेत त्यही झुला घरबाट सम्पन्न गर्नुपर्ने तर, उक्त झुला घरमा श्रीराजर्षी जनक वाल राष्टिूय प्राथमिक विद्यालय संचालन भएकोले र धार्मिक कार्यमा व्यवधान रहेको भन्ने राम मन्दिरका महन्थ तथा अन्य भक्तजनले समेत पटक पटक गुनासो गरेको हुँदा उक्त विद्यालयलाई अन्यत्र सारी धार्मिक कृत्य हुने झुला घर खाली गरिदिन भन्ने व्यहोराका साथ विद्यालयलाई पत्राचार गरिएको छ । गुठी संस्थानका कार्यालय प्रमुख राजबाबु पाण्डेद्वारा हस्ताक्षरित उक्त पत्रको व्यहोरा जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला शिक्षा कार्यालय धनुषा र गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वर काठमाण्डौलाई समेत बोदार्थ गरिएको छ ।
गुठीका प्रमुख राजबाबु पाण्डेले द एक्सक्लुसिभ सँग कुराकानी गर्दै उक्त विद्यालयमा २५(३० जना विद्यार्थी र १८ जना शिक्षक कार्यरत रहेको हुनाले त्यहाँ पढाई लेखाई पनि नहुने र झुला कार्य समेत प्रभावित हुने गरेकोले जन गुनासो आएपछि विद्यालय अन्यत्र सार्न पत्राचार गरेको  यति दिन वितिसक्दा पनि खाली भएको छैन, कानुनी सल्लाह अनुसार हामी अन्य विकल्पको बाटोमा अघि वढ्ने जानकारी दिएका छन् ।
यता उक्त विद्यालयका प्रधानअध्यापक योगनारायण झाले द एक्सक्लुसिभ सँग कुराकानी गर्दै कुनै पनि हालतमा अहिले विद्यालय खाली नगर्ने बताएका छन् । गरिबका विद्यार्थीहरु यहाँ पढिरहेका छन् र आफुले विभिन्न सहयोग मार्फत यस विद्यालयको भवन निर्माण गरेको हुनाले विद्यालय नसार्ने र कानुनी सल्लाह समेत लिई रहेको बताएका छन् । ७ माघ २०५५ सालमा विद्यालयले भवन मर्मत सम्हारका लागि गुठी संस्थानबाट अनुमति लिएका थिए । झुला घर निर्माण एवम मर्मत सम्हार गर्दा पुरातात्विक महत्वको विषय र बनोटलाई यथावत राखि प्रतिकुल असर नपर्ने गरी विद्यालयको नाउँमा मर्मत सम्हार गर्नको लागि गुठीले विद्यालयलाई अनुमति दिएको थियो । २०२९ साल देखि उक्त विद्यालय त्यहाँ संचालित रहेको अवस्थामा २०५५ सालमा अमेरिकाका नागरिक विल सेन सोनपिस कार्प भोलेन्टियर नामक संस्थाले ७ लाख ३८ हजार रुपैयाँ भवन निर्माणमा सहयोग गरेको थियो । त्यसैगरी जिल्ला शिक्षा कार्यालय धनुषाले रु. ५० हजार, तत्कालिन सांसद कृष्ण प्रताम मल्लले रु. २५ हजार, सर्लाही धनकौल २ का सियाराम रायले रु. १५ हजार, जिल्ला विकास समिति धनुषाले रु. १४ हजार, जनकपुर ११ का लक्ष्मण साह सोनारले रु. १३ हजार, महोत्तरी एकडरा ४ का राजनारायण पाठकले रु. ११ हजार १ सय ११ लगायत २३ जनाले आर्थिक सहयोग प्रदान गरेको थियो । १६ धुर जग्गामा ८ कोठा सहित निर्मित भवनमा ११ लाख ३८ हजार रुपैयाँ खर्च भएको प्रअ झा बताउँछन् । २० माघ २०५६ मा अमेरिकी राजदुत राफ फ्रेन्कले उक्त विद्यालय भवनको उदघाटन गरेका थिए ।
विद्यालयको वर्तमान अवस्था
२०४५ साल देखि उक्त विद्यालयका प्रअ. रहेका योग्यनारायण झा लगायत ७ जना शिक्षकहरु दरबन्दीमा ४ जना शिक्षकहरु राहतमा, १ जना शिक्षक पिसिएफ र १ जना शिक्षक बालविकासका रहेका छन् । अन्जु तिवारी, रामकरण दास, रेणु देवी पाठक, दिनवन्धु झा, केवल कुमार राय, अनिता ठाकुर दरबन्दीका शिक्षक छन् भने नवनिता मण्डल, अन्त कुमार झा, कल्पना देवी झा, श्रवण माझी राहत कोटामा कार्यरत छन् । बमबम पाठक पिसिएफ कोटामा शिक्षक छन् भने सविता सिंह बालविकास कोटाबाट शिक्षिका छन् । पाँच कक्षासम्म पढाई हुने उक्त विद्यालयमा १३ जना शिक्षक शिक्षिकाहरु कार्यरत छन् । र एक जना शिक्षिका शिला कुमारी यादव मावि महुलियाबाट काजमा खटेकी छिन । कुल १५ जना शिक्षकहरुको मासिक तलब २ लाख ८२ हजार ५ सय २० रुपैयाँ खर्च हुने गरेको छ । विगत ४ वर्ष देखि उक्त विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकेको छैन ।
कक्षा १ मा २७ जना, कक्षा २ मा ३२ जना, कक्षा ३ मा, २५ जना, कक्षा ४ मा ३० जना, र कक्षा ५ मा २८ जना र बाल विकास कक्षामा २६ जना गरी कुल १ सय ४२ जना विद्यार्थीहरु भर्ना भएको हाजिरी पुस्तिकामा अभिलेख पाइयो ।  त्यसैगरी कक्षा १ मा १५ जना, कक्षा २ मा ७ जना, कक्षा ३ मा १२ जना, कक्षा ४ मा १० जना, कक्षा ५ मा १२ जना दलित विद्यार्थीहरु गरी कुल ५६ जना दलित विद्यार्थीहरुलाई ४ सयका दरले कुल २२ हजार ४ सय रुपैयाँ दलित छात्रवृति रकम प्रदान गरिएको छ । त्यसैगरी कक्षा १ मा ५ जना, कक्षा २ मा १५ जना, कक्षा ३ मा ६ जना, कक्षा ४ मा १० जना, कक्षा ५ मा ७ जना गरी कुल ४३ जना छात्राहरुलाई ४ सय रुपैयाँका दरले १७ हजार २ सय रुपैयाँ छात्रालाई छात्रवृति प्रदान गरिन्छ । द एक्सक्लुसिभले उक्त विद्यालयमा स्थलगत रिपोर्टिङ गर्न जाँदा प्रअ झाले छात्रवृति रकम प्रदान गर्न चाँजोपाँजो मिलाई रहेको पाइयो । त्यसैगरी विद्यालयमा विद्यार्थीहरुको उपस्थिति न्युन पाइयो । पुरुष शिक्षकको तुलनामा महिला शिक्षिकाहरुको संख्या अत्यधिक पाइयो ।
अब विद्यालयले भवन खाली नगर्ने अडान राखिरहेको बेला गुठी संस्थानले कस्तो पाइला चाल्ने हो र विद्यालयले कस्तो रणनीति अख्तियार गर्ने हो त्यो हेर्न भने बाँकी छ ।  श्रावण महिनामा दुतिया देखि पुर्णिमा सम्म १३ दिन त्यहाँ राम मन्दिरबाट र जानकी मन्दिरबाट भगवानको मुर्ति निकाली झुला झुलाइने गरिन्छ । उक्त झुला हेर्न दिनहुँ हजारौंको संख्यामा भक्तजनहरु त्यहाँ पुग्ने गर्छन । उक्त झुला यस क्षेत्रको प्रसिद्ध सांस्कृतिक पर्व मध्ये एक मानिन्छ ।

२०७१ फाल्गुन ०३ गते आईतबार

No comments:

Post a Comment