Monday, March 24, 2014

बच्चा अपहरण मुक्त, अपहरणकारी पक्रिए


अपहरण मुक्त भएपछि आमा बुवाको साथमा
बालक रितेश र प्रहरी निरीक्षक मछिन्द्र केसी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषाको ठाढीझिझाबाट अपहरणमा परेका बच्चालाई प्रहरीले सकुशल मुक्त गराउनुका साथै अपहरणकारीहरुलाई पक्रन धनुषा प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटि गएको विशेष टोलीले धनुषाको रघुनाथपुर(३ ढोलबज्जास्थित भवानी बाबुको बगैंचाबाट गत बुधबार साँझ अपहरित बच्चालाई सकुशल मुक्त गराएका छन् । 
धनुषा ठाढीझिझा(४ बस्ने लक्ष्मेश्वर महतोका ४ वर्षिय छोरा रुपेश महतोको गत फागुन ३० गते स्थानीय मिथिला पब्लिक स्कुलबाट पढेर घर फर्किदै गर्दा दुई जनाको समूहले अपहरण गरेका थिए । मोटरसाइकलमा चढिआएका ती दुई अपहरणकारीले बच्चालाई विस्कुट खुवाउँदै बुवा कहाँ लगिदिन्छु भन्दै ललाई फकाई मोटरसाइकलमा अपहरण गरेका थिए । अपहरणमा संलग्न ठाढीझिझा(४ का ३० वर्षिय सीताराम यादव, रघुनाथपुर(३ ढोलबज्जाका २५ वर्षिय मनोज कुमार यादव, बालाबाखर(८ का २५ वर्षिय मनोज यादव र चोराकोयलपुर(१ का २२ वर्षिय विपुल यादवलाई प्रहरीले गत बिहीबार सार्वजनिक गरेको छ । धनुषा प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक उत्तमराज सुवेदीका अनुसार मनोज कुमार यादव र मनोज यादवले अपहरण गर्न साथीको अनटेस्ट मोटरसाइकल एउटा काम छ, तुरुन्त आइहालें भन्दै मोटरसाइकलको प्रयोग गरेका थिए ।
दुवै जनाले बच्चालाई बिस्कुटको प्रलोभन दिई मोटरसाइकलमा चढाएर  ठाढीझिझा, एकराही, सघारा, इनर्वाहँुदै भारतको जयनगर पुर्याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जयनगरमा बच्चा राख्ने ठाउँ, मोबाइल सीमकार्ड नपाएपछि बच्चालाई सोही दिन सिरहा जिल्लाको कमला नदीनजिक निर्धना कुट्टीमा बन्धक बनाएर राखेको प्रहरीले बताए । तीन दिनसम्म बच्चालाई त्यहीँ राखिएको प्रहरी उपरीक्षक सुवेदीले बताए ।  सिरहा प्रहरीले खोजतलाश अभियान तीव्र पारेको थाहा पाएपछि अपहरणकारीहरुले बच्चालाई धनुषाको रघुनाथपुर(३ ढोलबज्जास्थित भवानी बाबुको बगैचामा बन्धक बनाएर बच्चालाई राखेको प्रहरीले सुचना पाए । चैत १ गतेबाट अपहरणकारीले विभिन्न नम्बरहरु प्रयोग गरी बच्चाका बाबुलाई मुक्त गर्नको लागि ३५ लाख रुपैयाँ फिरौती मागेका थिए । विभिन्न व्यक्तिले विभिन्न नम्बरबाट मागेको फिरौती रकम अन्तमा दुई लाख सम्ममा झरेको थियो ।
अपहरणका अभियुक्तहरु र धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदी ।
बच्चा अपहरणको अघिल्लो दिन गाउँकै सीताराम यादवले रघुनाथपुर(३ ढोलबज्जा बस्ने मनोज कुमार यादव र बालाबाखर(८ का मनोज यादवलाई एकराही चोकमा बोलाई अपहरण पश्चात दुई लाख रुपैयाँ दिने ‘डील’ गरेको थियो । प्रहरीका अनुसार सितारामले ती दुवै जनालाई अपहरण गर्दा कम्तीमा दुई लाख दिने र फिरौती अनुसार वढी रकम असुल भए वढी रकम पनि दिन सक्ने भनेर प्रलोभन दिएका थिए । 
ठाढीझिझा(४ बस्ने लक्ष्मेश्वर महतोको चार वर्षिय छोरा रुपेशको सोही स्थानका सीतारामले अपहरण गराएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार लेनदेन र जग्गा सम्बन्धी सामान्य विवादका कारण बदलाको भावनाले ठाढीझिझा(४ बस्ने ३० वर्षिय सीतारामले पेशेवर अपराधीहरु लगाएर अपहरण गराएको थियो । गाउँमा जग्गा विवाद सम्बन्धमा अन्य व्यक्तिहरुले सितारामको कुरा मानेपनि लक्ष्मेश्वरले मान्न इन्कार गरेपछि लक्ष्मेश्वरलाई ठिक पार्नुपर्छ भन्दै लक्ष्मेश्वरका छोराको अपहरण गराउने सितारामले योजना बनाएको प्रहरीले बताएका छन् ।
अपहरणकारीहरुको साथबाट सिमकार्ड थान ८, मोबाइल थान ४, मोटरसाइकल थान १, पानी भर्ने सिमाङ, मदिरा बोतल थान एक र पर्स एक थान बरामद गरिएको छ । अपहरणमा संलग्न चारै जनामाथि अपहरण तथा शरिर बन्धक लिने महल अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक सुवेदीले बताए । नर्सरीमा अध्ययनरत्त अपहरण मुक्त बच्चाको शारिरीक अवस्था सामान्य रहको र बच्चालाई प्रहरीले उनका आमा बुवाको जिम्मा लगाएको छ ।

२०७० चैत्र ०९ गते आईतबार

No comments:

Post a Comment