द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
२०२६ सालको सर्वे नापीमा रत्नसागर राज गुठीमा ८० विगहा जग्गा रहेको देखिन्छ । जनकपुरको पश्चिमी भागमा अवस्थित रत्न सागर मठका अधिकांश जग्गा अहिलेको आँखा अस्पताल भन्दा दक्षिण पश्चिम उत्तर कुर्था जाने सडक दायाँ बायाँ हुँदै जनकपुर नगरपालिका वडा नं. १३ पिडारी हुँदै मणि मण्डप सम्म फैलिएको थियो ।
जनकपुरको वढदो सहरीकरण, सस्तो वा विना पैसा गुठीको जग्गामा घर बनाउने मानसिकता मठका महन्तलाई जुन सुकै प्रक्रियाले रिझाएर मनखपको कागज लिएर होस वा नलिएर सहरी नापीका तत्कालिन कर्मचारीहरु वा गुठीलाई वा नगरपालिकालाई जुनसुकै प्रक्रियाले रिझाएर वा राजनीतिक पार्टीको आडमा धम्काएर आफ्नो प्रभावमा लिई गैरकानुनी तवरबाट वा पदको दुरुपयोग गरी गैर कानुनी निर्णयद्वारा समेत रत्नसागर गुठीको जनकपुरमा रहेको आधा जग्गा लोप भईसकेको देखिन्छ । बाँकी रहेको आधा जग्गामा पनि लुट खसोट जारी छ र यही अवस्था रहयो भने यस गुठीको जग्गा गुठीको दराजमा बन्द रहेको जग्गा धनी दर्ता प्रमाण पुर्जामा मात्र सिमित रहने छन र अरु सबै जग्गामा लोभी पापी मिलि सिमेन्टको जंगल कायम गरी सक्नेछन भन्ने कुरा वृहत्तर जनकपुर क्षेत्र अन्तरगत जनकपुर नगरपालिका भित्र रहेका प्रमुख मन्दिरहरु, पोखरीहरु र गुठीका जग्गाका संरक्षण र व्यवस्थापनका लागि सिफारिस गर्न गठित उच्च स्तरीय कार्यदलले २०६२ सालमा जारी गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदन अहिले पुनः सत्य भएको छ । १२ फागुन २०६० मा गुठी संस्थानले रत्नसागर मठमा ५ वर्षको लागि महन्त पदमा वैकुण्ठ दास वैष्णवलाई नियूक्त गरे लगत्तै उक्त मठका सम्पुर्ण जग्गाहरु कौरीको दाममा विक्री गरेका छन् । वैकुण्ठले विक्री गरेको उक्त जग्गाहरुमा बनेको भवनहरुको वस्तीमा ‘बैकुण्ठ नगर’ नामांकरण नै गरिएको छ । यति मात्र होइन उनले अन्य कुटीहरु समेत आफ्नो कब्जामा लिई ती कुटीहरु अधिनस्त जग्गाहरु समेत अनधिकृत रुपमा विक्री गरेको बताइन्छ । यति मात्र होइन राधा कृष्ण भगवान विरपुर कुटीका थुप्रै जग्गा विक्री गर्नुका साथै बहुमुल्य मुर्ति समेत विक्री गरिसकेको आरोप लाग्ने गरेको छ । विररख कुटी अन्तरगत रहेका जग्गा, बराही कुटी अन्तरगत रहेका जग्गा, गिरनारी कुटी अन्तरगत रहेका जग्गा समेत वैकुण्ठ दासले विक्री गरेको बताइन्छ । मठ मन्दिरका सम्पति, जग्गा आदि मास्ने, अवैध कब्जा गर्ने महन्त, पुजारी, समाजका प्रभावशाली व्यक्ति या उच्च पदस्त सरकारी कर्मचारी जो कोही भएता पनि उनीहरु माथि राज्यले कडा कारवाही गर्नुपर्दछ ।
जनकपुर क्षेत्रका प्राचीन एवम पुरातात्वीक महत्वका स्थलहरुको खोजी गर्ने, संरक्षण, सम्बद्र्धन र प्रचार प्रसार गर्नुपर्ने पनि देखिन्छ । यी महन्तहरुका कारण मठ मन्दिरहरु प्रति घट्दै गएको जनआस्था र विश्वासलाई प्रगाढ बनाउनका साथै समाजलाई सन्मार्गमा लगाउनका लागि मठ मन्दिरहरुमा विभिन्न उत्सवहरुमा धार्मिक प्रवचन, भजन, किर्तनको समेत आयोजन गरिनु आवश्यक छ । जनकपुर एउटा धार्मिक, आध्यात्मिक र ऐतिहासिक पृष्ठभुमि भएको नगर भएकाले यसको महत्व र मौलिकताको संरक्षण र सम्वद्र्धन गर्नका लागि वैज्ञानिक अध्ययन पारर्दशी पद्धतिको विकास गर्न जरुरी छ । जनकपुरका मठ मन्दिरको व्यवस्थापकिय पक्षलाई सबल बनाउनका लागि आवश्यक ऐन नियम तर्जुमा गर्ने र भैरहेका नियममा संसोधन समेत गर्ने र त्यसको कार्यान्वयनका लागि सक्रिय हुनुपर्ने आवश्यकता देखिन्छ । जनकपुरका धेरैजसो निजी गुठीका मठ मन्दिरमा स्वामित्वको विवाद रहेकाले त्यस्ता समस्या निराकरणका लागि जिम्मेवार पक्षले आवश्यक कारवाही गरेर स्वामित्वको विवाद सुल्झाउनु पर्ने आवश्यकता छ । मठ मन्दिरको सम्पति मासिने क्रम बढदो छ, यस प्रवृतिमा नियन्त्रणका लागि राज्यले कडा कानुन निर्माण गर्नुपर्ने आवश्यकता छ ।
२०७० माघ २६ गते
No comments:
Post a Comment