![]() |
माचीझिटकैया गाविसमा अनुगमन गर्दै जिविस धनुषाका योजना अधिकृत । |
जनकपुरधाम............
धनुषा जिल्लाको गाविसको कार्यालयमा पुगेर काम नगर्ने गाविस सचिवहरुलाई स्थानीय विकास अधिकारीले स्पष्टिकरण सोधी कारवाहीको प्रक्रिया अगाडी वढाएका छन् । स्थानीय विकास अधिकारी सन्त बहादुर सोनारले प्रथम चरणमा स्पष्टिकरण सोधेर ३ दिन भित्र चित्त बुझ्दो जवाफ दिन तथा जवाफ चित्त बुझ्दो नभए कानुन बमोजिम कारवाही गर्ने बताएका छन् ।
जिविस कार्यालयबाट योजना अनुगमन तथा प्रशासकीय अधिकृत समेतको टोलीले गाविसहरुको अनुगमन गर्दा तपाई कार्यरत ठाढीझिझा गाविसमा अनुगमन टोली पुग्दा तपाई गाविसमा नरहेको अवस्था थियो । गाविसको सर्वसाधारण जनताले गाविस सचिव कहिले काँही गाविसको वैठक बस्नुपर्दाको अवस्थामा मात्र गाविसमा आउने भन्ने गुनासो पाइयो । गाविसमा हाजिर किताव नरहेको, दैनिक आम्दानी खाता नरहेको, मालपोत रसिद र अन्य सिफारिस दस्तुरको रसिद सचिवसँगै रहेको भन्ने गुनासो पाइयो । तपाई के कति कारणले गाविसमा उपस्थित नभएको ? गाविसको दैनिक कार्य संचालन गाविसमा बसेर किन नगरेको ? गाविसको हाजिर किताव, दैनिक आम्दानी खाता, मालपोत रसिद तथा अन्य सिफारिस दस्तुरको रसिद तपाई गाविसमा नराखि आफुसँगै के कति कारणले राख्नु भएको हो ? सो को चित्त बुझ्दो जवाफ पत्र पाएको मितीले ३ दिन भित्र यस कार्यालयमा पेश गर्नुहुन व्यहोरा जानकारी गराईन्छ । जवाफ चित्त बुझ्दो नभएमा कानुन बमोजिम भई जाने व्यहोरा सुचित गरिन्छ । यसरी धनुषाका स्थानीय विकास अधिकारी सन्त बहादुर सुनारले धनुषाका ठाढी झिझा गाविसका गाविस सचिव रामनरेश ठाकुरलाई लिखित स्पष्टिकरण पेश गर्न भनि ५ माघ २०७३ मा पत्राचार गरेका छन् । सचिव ठाकुरलाई सोधिए झै जिल्लाका अन्य गाविस सचिवहरुलाई समेत स्पष्टिकरण सोधिएको छ ।
![]() |
अनुगमनको क्रममा बन्द रहेका बलहासघारा गाविस । |
प्रतिवेदनको व्यहोरा
![]() |
देउरी परवाहा गाविसमा अनुगमन गर्दै जिविस धनुषाका योजना अधिकृत । |
औरही गाविस ः औरही गाविसमा गाविस सचिव गुणनिधि दाहाल, प्राविधिक सहायक कृष्ण देव राय, कार्यालय सहयोगी लाल ठाकुर, सामाजिक परिचालक, पुष्पा कुमारी साह कर्मचारीहरु कार्यरत रहेको छ । गाविस सचिव चैत्र देखि त्यस गाविसमा कार्यरत रहेको र चक्कर गाविसको थप जिम्मेवारी पालो पालो गरी दुई गाविसमा बहन गर्ने गरेको, गाविसमा उपस्थित हुने गरेको गाविस सचिवको भनाई रहेको थियो । सामाजिक सुरक्षाको पहिलो किस्ता वितरण भएको र पुँजीगत पहिलो किस्ता समेत संचालनमा रहेको, सामाजिक परिचालकले बस्ती टोल स्तरबाट योजना तर्जुमा गरी ल्याउने गरेको जानकारी दिएको, गाविसको आफ्नै कार्यालय भवन नरहेको र भवन हाल निर्माणाधिन अवस्थामा रहेको देखियो । त्यसैगरी गाविसको दैनिक आम्दानी खाता राख्ने गरेको भनाई रहेता पनि दैनिक आम्दानी खाता कार्यालयमा नरहेको, हाजिर किताव कार्यालयमा रहेको र कर्मचारीले हाजिरव समेत गरेको पाइयो । कार्यालयबाट संचालन हुने दैनिक कार्यहरुको रेकर्डको लागि आवश्यक दर्ता चलानी किताव कार्यालयमा नभेटिएको र चिठ्ठी पत्रहरुको दर्ता चलानी पानामा टिपी पछि उतार गर्ने गरेको भनाई पाइयो ।
![]() |
करिब २० बर्ष देखि निर्माणाधिन रहेको गिद्धा गाविसको कार्यालय । |
एकराही गाविस ः एकराही गाविसका गाविस सचिव सदरमुकाममै रहने गरेको जानकारी प्राप्त भयो । गाविस कार्यालय बन्द रहेकाले अन्य विवरण प्राप्त गर्न असमर्थ रहेको प्रतिवेदनमा उल्लेख छ ।
माची झिटकैया गाविस ः माचीझिटकैया गाविसका गाविस सचिव रामचन्द्र यादव सुनौलो हजार दिनको कार्यक्रममा भाग लिन जिल्ला सदरमुकाम आएको जानकारी प्राप्त भयो । प्राविधिक सहायक जुगल किशोर यादव र सामाजिक परिचालक कम्ली कुमारी यादव परिषदको काममा कार्यालयमै व्यस्त अवस्थामा रहेको पाइयो । सिफारिस दस्तुर लिने नगरेको, सामाजिक सुरक्षा भत्ताको पहिलो किस्ता वितरण भईसकेको तर भरपाई बुझाउन बाँकी रहेको जानकारी प्राप्त भयो । भौतिक सुविधा अन्तरगत पक्की भवन रहेको र सो भवनको एउटा कोठा टेलिफोन टावरको लागि टेलिकमले भाडामा लिएको, त्यस गाविसमा रहेको हाट बजार रु. ४ लाखमा ठेक्कामा रहेको, दर्ता चलानी चालु हालतमै रहेको तर आम्दानी खाता कार्यालयमा नरहेको, जनकपुरमै रहने गरेको भनाई रहेको, पुँजीगत अनुदान पहिलो किस्ताको काम सुरु भएको जानकारी प्राप्त भयो भनि प्रतिवेदनमा उल्लेख छ ।
बल्हासघारा गाविस ः बल्हासघारा गाविसको कार्यालयमा कोही पनि नभेटिएको । २ बजेको समयमा गाविस भवन बन्द हालतमा रहेको, गाविस सचिव दुई महिना देखि नआएकोेले सामान्य सिफारिसको लागि समेत धेरै कठिनाई भएको भनि स्थानीयबासी आक्रोशित रहेको पाइयो । प्राविधिक सहायक महिनाको २÷३ मात्र बस्ने गरेको जनगुनासो रहेको, ६ महिना देखि मृत्यू दर्ताको सिफारिस समेत नपाएको भनि गुनासो आएको प्रतिवेदनमा उल्लेख छ ।
पतनुका गाविस ः पतनुका गाविसमा अनुगमनको लागि पुग्दै गर्दा गाउँ परिषदको बारेमा छलफल जारी थियो । गाविस सचिव श्रीनारायण साह तथा प्राविधिक सहायक भुवनेश्वर यादव परिषदमै व्यस्त देखिन्थे । प्राविधिक सहायकले भित्र गई अवस्था के छ भनि बुझ्न खोज्दा पहिले आनाकानी गरे तथापी पछि राजी भए । यस गाविसमा गाविस सचिव भन्दा जनताको आक्रोश प्राविधिक सहायक माथि रहेको पाइयो । प्राविधिक सहायकले व्यापक मात्रामा अनियमितता गरेको आरोप स्थानीयको थियो । सिफारिसहरु घरमै बसेर गर्ने र सिफारिस बापतको दस्तुर रसिद नकाटि आफ्नै खल्तीमा राख्ने गरेको र रसिद माग्दा किन चाहियो भनि उल्टै प्रतिप्रश्न गर्ने गरेको भनि जनआक्रोश अत्याधिक रुपमा रहेको पाइयो । गाविसमा हाजिरी किताव नरहेको, दर्ता चलानी, आम्दानी खाता नरहेको पाइयो ।
खजुरी चन्हा गाविस ः खजुरी चन्हाका गाविस सचिव रामनरेश ठाकुर महिनामा ४÷५ दिन मात्र आउने गरेको स्थानीयको भनाई, गाविस कार्यालय करिब पौने ३ बजेको समयमा पुग्दा बन्द अवस्थामा रहेको थियो । कार्यालय सहायक कार्यालयमै बस्ने गरेको, सामाजिक सुरक्षा भत्ता शौचालय निर्माण नगरेको खण्डमा आधा मात्रै दिने गरेको स्थानीय वृद्धवृद्धाको गुनासो रहेको थियो । गाउँपरिषद, गाविस अनुदान के कति केमा खर्च भन्ने विषयमा २÷४ जना व्यक्ति बसेर निर्णय गर्ने गरेको तर, आम नागरिकहरुलाई जानकारी नरहेको भन्ने जस्ता गुनासो पाइयो ।
ठाढीझिझा गाविस ः ठाढीझिझा गाविसमा गाविस सचिव रामनरेश ठाकुर, प्राविधिक सहायक प्रदिप कुमार महरान र कार्यालय सहयोगी सुलिन्दर पासमान रहेको जानकारी पाइयो । गाविस सचिव कहिले काँही बैठक बस्नुपर्दाको अवस्थामा मात्र गाविसमा आउने गरेको पाइयो । गाविसमा हाजिर किताव नरहेको, दैनिक आम्दानी खाता नरहेको, मालपोत रसिद र अन्य सिफारिस दस्तुरको रसिद कार्यालयमा नभेटिएको तथा सचिवसँगै रहेको भनाई पाइयो । यस गाविसमा रहेका ६ वटा पोखरीहरु ठेक्कामा रहेको र त्यसबाट गाविसमा करिब १७÷१८ लाख रुपैयाँ आम्दानी हुने गरेको भनाई पाइयो । सबै कागजपत्रहरु सचिवको डेरामा रहेको, दर्ता चलानी समेत कार्यालयमा नरहेको अवस्था पाइयो । सामाजिक सुरक्षा भत्ता भुक्तानी लिएको तर वितरण नभएको साथै यस आर्थिक बर्षको गाउँ परिषद समेत सम्पन्न नभएको अवस्था पाइयो, योजना अधिकृत आचार्यद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
दिइएको निर्देशन
अनुगमन गरिएका अधिकांश गाविसमा गाविस सचिव अनुपस्थित रहेको पाइयो । कर्मचारी हाजिरी रजिष्टर नरहेको पाइयो । दैनिक आम्दानी किताव कुनै पनि गाविसमा भेटिएन । व्यक्तिगत घटना किताव समेत नरहेको पाइयो । गाविस विकास समिति नै हो वा व्यक्तिको कुनै भाडाको कोठा हो भन्ने जस्तो अवस्था पाइयो । यस्तो अवस्थामा गाउँ विकास समितिका आवश्यक कागजपत्र गाउँ विकास समितिमै राख्न, दैनिक रुपमा हाजिर गर्न, अनिवार्य रुपमा कार्यालयमा उपस्थित हुन, दर्ता चलानी किताव, दैनिक आम्दानी किताव, मालपोत रसिद, सेवा शुल्क, दस्तुर रसिद आदि अनिवार्य रुपमा कार्यालयमै राख्न समेत निर्देशन दिइएको प्रतिवेदनमा उल्लेख छ ।
२०७३ माघ ०९ गते आईतबार
No comments:
Post a Comment