Wednesday, November 4, 2015

नागरिकको रगतको छिटा लागेको संविधान कार्यान्वयन हुँदैन

खर्गेन्द्र संग्रौला
अजय अनुरागी
जनकपुरधाम............
सौभाग्यवस करिब साढे दुई महिना लामो मधेस आन्दोलन विति सक्दा जनकपुर आउने अनुमति पाएको छु । डा.बाबुराम भट्टराई आफ्नो ढंगले आफ्नो पृष्ठभुमिमा जनकपुर आउनु भएको थियो । उनी राजनीतिक व्यक्तित्व भएकोले आफै संविधान बनाउने, आफै संविधानमा हस्ताक्षर गर्ने र आफैले सहि गरेको संविधानको आफैले विरोध गर्नु भएकोले जनकपुरमा र बाहिर पनि उहाँको बारेमा विवाद छ । प्रचण्ड गर्मीको विचमा उहाँको कर्म र तादात्म्य बीच संतुलन देखिँदैन । यूग पाठक र म राजनीतिकर्ता होईन । तपाईहरुको बीच व्यक्तिगत उन्नतीको निम्ति हामीले भोेट माग्न कहिल्यै आएका थिएनौं । र, कहिल्यै आउने पनि छैनौं । हामी मधेसका तीन वटा जिल्लामा अहिले घुम्दा के महसुस भएको छ भने आन्दोलनमा उत्रिएका हरेक व्यक्तिहरुको मस्तिक्समा एउटा ज्वालामुखि बोकेको छ । त्यो ज्वालामुखि कुनै पनि बेला बिस्फोट हुन सक्छ । त्यसको पृष्ठभुमि छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुई जना पात्र त्यसका कारक हुन ।
१६ बुँदे सहमति संघीयताको मृत्यु पत्र
 मधेसलाई पहाडी राज्यले सधै गरेको उपनिवेश, विभेद, उपेक्षा, बहिष्करण, र त्यसबाट आएको पीडा, आक्रोश आदिको कुरा पनि म गर्दिन । म फास्ट टूयाकबाट आफ्नो कुरा राख्न चाहन्छु । १६ बुँदे सम्झौता गर्यो । १६ बुँदे पछि फास्ट टूयाकका कर्ताहरुलाई के लाग्छ भने त्यो फास्ट टूयाक होईन फास्ट कन्सपिरेसी हो । छोटो बाटो बाट छिटो संविधान बनाउने परियोजन नै फास्ट टूयाक हो जो कि तिब्र षड्यन्त्र हो । १६ बुँदे सहमति संघीयताको मृत्यु पत्रको घोषणा हो । सबै घटनाहरुको परिणति हेर्दा मलाई के लाग्छ भने राजनीति त्यसका जटिलता समाजको जटिलता नबुझ्ने मान्छेले पनि त्यो कुरा बुझेको छ । मधेसको समस्या, मधेसको अपेक्षा र मधेसको माग दावी के हो भने मधेसले मागेको स्वराज हो । स्वायत्तता सहितको स्वराज जसमा आत्म निर्णयको अधिकार  होस । मधेसले मागेको सामाजिक न्याय हो समान्ता हो । नागरिकता माथिको सामान अधिकार हो । ती सबै कुराहरु त अन्तरिम संविधानमा कबोल गरिएकै छ । मधेसमा भएका विभिन्न संघर्ष र विद्रोहहरु पछि भएका सम्झौताहरुमा ती कुराहरु कबोल भएकै छ । मधेसी नागरिकहरुले नयाँ कुरा केही पनि मागेको छैन । त्यही कुरा मागिएको छ जो पहिले नै कबोल गरिसकिएको छ ।
१६ बुँदे सहमति प्रतिक्रान्तिको उत्कर्ष
कबोल गर्नेहरुले १६ बुँदे पछि प्रतिक्रान्तिको प्रारम्भ गरे । प्रतिक्रान्तिको प्रारम्भ बास्तवमा १६ बुँदेबाट भएको होइन । त्यो त उत्कर्ष थियो । प्रतिक्रान्तिको अन्तिम प्रकरण १६ बुँदे हो । अहिले जो संविधान बनेको छ त्यो प्रतिक्रान्तिको संविधान हो । यो क्रान्तिको संविधान, प्रगतिको संविधान, सम्बृद्धिको संविधान पक्कै होइन । केपी शर्मा ओलीलाई मधेसले दुई तीन वटा कुराहरुबाट सम्झँदो रहेको छ । एउटा यताको समथल विहार उत्तर प्रदेशको समथल, की यताले दावी गरेको वा उतै गएर मिसाई दिए हुन्छ । अर्को माँखी साँगलो । उहाँले मानव साँगलो लाई माँखी साँगलो भन्नु भयो । नेपाली भाषाको प्रचलित अर्थमा माँखी साँगलो को सन्दर्भ र अर्थ छ । तर, सामान्य अर्थमा कसैले केही बोलेपछि केही नयाँ शव्द आएपछि त्यो शव्द बुझ्नको निम्ति शव्दकोष पल्टाउँदैन । त्यसले आफ्नो दिमागको शव्दकोष पल्टाउँछ । मधेसीहरुले मानव साँगलोलाई केपी शर्मा ओलीले माँखी साँगलो भनेपछि मधेसीहरुले सरल अर्थमा दुईवटा कुराहरु बुझ्यो । एउटा माँखी भनेको झिङ्गा हो र साँगलो भनेको अत्यन्त घृणित एउट किट हो । त्यसरी बुझ्यिो । तेस्रो कुरा, केपी शर्मा ओलीले मधेसलाई सँधै उपहास नै गर्यो । यति धेरै दिईसक्यो अब कति दिने हो । त्यस्तो केपी शर्मा ओली माथि मेरो अपेक्षा थिएन । उहाँले जे भन्नु भयो त्यसमा मेरो हास्य वा विस्मय छैन । तर, पुष्पकमल दाहाल प्रचण्ड माथि मेरो ठुलो विश्वास थियो । पुष्पकमल दाहाल मिर्चैयाबाट चुनाव लडिरहेको बेला उहाँको निर्वाचन अभियानमा म यहाँ देखि चन्द्रनिगाहपुर सम्म प्रचारमा हिडेको थिए । मलाई अहिले आएर सोध्ने गर्छन । १६ बुँदे सहमति गर्ने, आफैले क्रान्तिको झण्डा उठाएर जनयूद्ध गर्ने, र अहिले आएर आफैले ति क्रान्तिको विरुद्ध प्रति क्रान्तिको नायक बनेका त्यस्तो प्रचण्डलाई तिमीले कसरी समर्थन गर्यो ? मैले चुनावमा नरहरि आचार्य र गगन थापाको समेत समर्थन गरे । मदन भण्डारीको समर्थन गरे । र, तिनको पतन पछि अहिले समर्थन गरेको पात्रहरुको बैचारिक नैतिक स्खलन र पतन बीच मलाई सँधै यस्ता प्रश्नहरु सोधिएका छन् । प्रचण्डले जनयूद्धको माध्यमबाट परिवर्तनको विडा उठाएका थिए । समाजमा जागरित गराएका थिए । सामन्तका जडा हल्लाएका थिए । मैले प्रचण्डलाई होईन तिनले उठाएका ऐजेण्डाहरुलाई बोकेको थिए । १६ बुँदे सहमति पछि प्रचण्डले आफ्नो इतिहास, आफ्नो गौरब, आफुले उठाएका ऐजेण्डाहरु, आन्दोलनका सहयात्रीहरु सबै कुरालाई त्यागेर खड्ग प्रसाद शर्मा ओलीको पाउमा गएर नतमस्तक भएका छन् । पुष्पकमल दाहाल प्रचण्डले मलाई त्यागे । मैले उनलाई त्यागे । तर, ऐजेण्डामा त म छु । ऐजेण्डामा म दृढ भएकैले तपाईहरुको बीचमा आएको छु ।
नागरिकको रगतको छिटा लागेको संविधान कार्यान्वयन हुँदैन
इतिहासमा पात्रहरुको उत्थान हुन्छ र पतन पनि हुन्छ । व्यक्तिको उत्थान हुन्छ र पतन हुन्छ । समाजको सपना, समाजको आकांक्षा, कल्याणकारी समाजको निर्माण गर्नेहरुको कहिल्यै पनि अन्तः हुँदैन । पात्र फरक हुन्छ । १६ बुँदे सहमति पछि मधेसी मोर्चा बाहिर गयो । जनजातीका प्रतिनिधिहरु बाहिरिए । १६ बुँदेको भित्र भित्र को थिए । ऐतिहासिक काल देखि सत्तामा बर्चस्व रहेका खाईपाई आएका खस वर्गका तीन जना ब्राह्मणहरु थिए । सुशिल कोइराला, खड्ग प्रसाद शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड । उनै तीन जनाले संविधानको निर्माण गरे । संघीयता त्यो जातीय समुदायलाई चाहिएकै थिएन । त्यो जातिय समुदाय भित्र वर्ग समस्या भएको छैन । संघीयताले आर्थिक समस्याको हल गर्दैन । संघीयताले सम्बोधन गर्ने भनेको बहिष्करणमा परेका वर्गहरु, राज्यबाट पाखा पारिएका, जसको भाषा संस्कृति, पहिचान हरण भएको छ, जीवनको प्रतिस्पर्धामा अघि वढ्न जो अवसरबाट वञ्चित भएको छ, संघीयता त्यसलाई चाहिएको हो । त्यसो भए संविधान निर्माण प्रक्रिया प्रारम्भ हुँदा खेरी सरोकारबाला पक्षका प्रतिनिधिहरु त्यहाँ थिएनन । संलग्न तिनीहरु थिए जसलाई गणतन्त्र चाहिएको थिएनन्, संघीयता पनि चाहिएको थिएन । यथा स्थिति चाहनेहरु थिए । संविधानको पहिलो खेस्रा आएपछि मधेसी, जनजाती, दलित समुदायले असहमति र असंतुष्टि जाहेर गरे । संविधान कसरी लेखियो । जब संविधान लेखिँदै थियो त्यही क्षणमा मधेसमा सामाजिक न्याय र स्वतन्त्रता मागेर सडकमा उत्रिएका नागरिकहरु मारिँदै थिए । संविधानले जब सुझाव संकलन गरिँदै थियो, संविधानको त्यो मस्यौदा प्रति विरोध जाहेर गर्ने मधेसी नागरिकहरु मारिँदै थिए । संविधान जारी गरेको दिनमा, संविधान जारी गरेको खुशियालीमा काठमाण्डौमा अथवा पहाडी भेगहरुमा पनि दिपावली मनाइँदै थियो भने अर्को तर्फ मधेसमा आन्दोलनकारीहरु मारिँदै थिए । यो संविधानमा नागरिकको रगतको छिटा लागेको छ । नागरिकको रगतको छिटा लागेको संविधान कार्यान्वयन हुँदैन । त्यसलाई जनताले अस्विकार गर्छ ।
मधेसको आक्रोश किन ?
वास्तवमा मधेसमा अहिले यति ठुलो उत्तेजना, यति ठुलो आक्रोश किन छ ? सामान्यतः सशस्त्र विद्रोहहरु दशकौं टिक्छन । चिनको सशस्त्र विद्रोह तिन दशक टिकेको थियो । हाम्रै माटोमा माओवादीले गरेको सशस्त्र विद्रोह दश वर्ष टिकेको थियो । तर, शान्तिपुर्ण जनविद्रोह लामो जाँदैन । शान्तिपुर्ण आन्दोलन लामो समय गयो भने त्यसको अवसान अत्यन्त नराम्रो हुन्छ । आन्दोलनकारीहरु थाक्छन् । घुसपैठ हुन्छ । अनेक किसिमका लान्छनाहरु लगाइन्छ । र तिनलाई बदनाम गरिन्छ । र तपाईको आन्दोलन अवसानमा जान्छ । तर मधेसको शान्तिपुर्ण आन्दोलन अढाई महिना भन्दा पनि वितिसक्दा पनि कसरी जीवित रहेको होला ? यो विचारणिय कुरा हो । यसमा दुई तिनटा कुराहरु देखिएका छन् । संविधानमा मधेसका अधिकारहरु नलेखिएपछि अन्तरिम संविधानमा मधेसले पाएका अधिकारहरु नलेखिएपछि, सुर्खेत र कर्णालीले मागेका कुराहरु विना बार्ता प्रदान गरिएपछि, मधेसलाई केही पनि नदिएपछि र मधेसले जायज माग राख्दा राख्दै सैन्य बल प्रयोग गरेर तिनको हत्या गरेपछि सामान्य मधेसी नागरिकले पनि के कुरा बुझेको जस्तो लाग्छ भने हामी कि त अहिले लडेर अधिकार लिने हो न त फेरीपनि हामी काठमाण्डौको राज्यको दास भईरहने हो । सामान्य मानिसले पनि यो कुरा बुझेको छ । हामीलाई थाहा छ मधेसमा मधेसीहरुको नेतृत्व गर्ने, मधेसमा प्रभाव भएको, मधेसलाई सबैले पत्याउने नेता छैन । मधेसको नेतृत्व खण्डित छ । मधेसका पार्टीहरु खण्डित छन् । नेतृत्वहरु पनि खण्डित छ । यो मधेसी मोर्चाले मात्र आन्दोलनको नेतृत्व गरेको जस्तो मलाई लाग्दैन । ठाउँ ठाउँमा यूवाहरु आफ्नो अग्रसरतामा आफ्नै नेतृत्व गर्दै अघि बढिरहेको छन् । टोल टोलबाट विभिन्न समुदायहरु अधिकार खोज्नका निम्ति आफ्नो नेतृत्व आफै गर्दैछ । समाजका हरेक वर्ग आन्दोलित छन् । त्यसैले कुनै पनि देशमा संविधान सभा एक यूगमा एक पटक मात्र हुन्छन् । संविधानसभाबाट संविधान एक चोटी मात्र लेखिन्छन् । यसरी लेखिने संविधानमा आफ्नो हक अधिकार, सहिदहरुको सपनाहरुको प्रतिविम्ब देखिँदैन भने, हामी केही पनि पाउँदैनौं भने बुझेर मधेसीहरु आन्दोलनमा लागेका छन् ।
आन्दोलनलाई बदनाम गराउँदै शासक
 यो देशमा सामाजिक न्याय र स्वतन्त्रता चाहनेहरुलाई सत्ताधारी दलहरुले इतिहासमा केही न केही आरोप लगाउने गरेका छन् । राणा शासनमा राष्टू द्रोही भनिन्थ्यो । पञ्चायतमा अराष्टिूय तत्व भनिन्थ्यो । संसदीयकालमा आतंककारी भनियो । माओवादीलाई आतंककारी भनेर त्यसको टाउकोको मोल नै तोकिएको थियो । अहिले मधेसीहरु माथि पनि आरोप छ । मधेसको आन्दोलनलाई जातीवादी आन्दोलन भनिएको छ । विखण्डनकारी आन्दोलन भनिएको छ । त्यति गर्दा पनि चित्त नबुझेकाहरुले मधेसीलाई दिल्लीको दलाल भन्ने गरिन्छ । मधेसको नियोजित आन्दोलनलाई तोडेर तर्क सहित इतिहासमा जो समर्पण गर्छ त्यसलाई विखण्डनकारी भनिन्छ । पहाडी मालिकहरुमा दृष्टिमा अहिलेको मधेस आन्दोलन विखण्डनकारी हो । त्यसैले सत्ताधारीहरुले आफ्नो सत्ताको स्वार्थ रक्षा गर्नका लागि न्यायका आन्दोलनहरुलाई सधैं आरोपित र बदनाम गर्ने गरेका छन् । हामीले त्यस्ता आरोपहरुको सामना गर्नुपर्छ । सामना गर्न सकेनौं भने हामी आन्दोलनमा उभिन सक्दैनौं । हाम्रो पराजय हुन्छ ।
 त्यति लामो समय सम्म आन्दोलन चलिरहँदा पनि मधेसमा एउटा पनि पहाडे समुदायलाई अपमान भएको सुचना मैले पाएको छैन । मधेसमा बसोवास गर्ने एउटा पनि पहाडे समुदायलाई आन्दोलनकारीले कुटपिट गरेको सुचना मैले सुनेको छैन । तर, मैले के सुनेको छु भने केही समय यता मधेसमा बसोवास गर्ने पहाडीहरु पनि मधेस आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै सडकमा उत्रिएका छन् । यो आन्दोलनको सौन्दर्य र विशेषता पनि यही हो । धेरै पर रहेका मानिसहरु खाली खुट्टा सडकमा आएका छन् । तिनीहरुले सदरमुकाममा रहेका आन्दोलनकारीहरुलाई रासनपानी पुर्याएका छन् । आन्दोलनलाई तिनीहरुले बचाएका छन् । यो आन्दोलनको शक्ति  हो ।
नेपाल सार्बभौम भएपनि परनिर्भर
यस बीचमा पहाडी सत्ताले मधेसी नागरिकहरुको श्रृङ्खला बद्ध रुपमा हत्या गरिरहने क्रम चलिरहँदा दिल्ली प्रवेश गर्यो । दिल्लीका आफ्ना स्वार्थहरु होलान् । त्यो उनको कुरा हो । तर मधेस माथि पहाडी सत्ताले व्यापक रुपमा बल प्रयोग गरिरहेको बेलामा दिल्लीले भन्यो, मधेसी नागरिकहरुको जायज मागहरुलाई पुरा गर । तिमीले लेख्ने संविधानमा विभेदको गन्ध बाँकी रह्यो भने त्यसको असर दुरगामी हुन्छ । तिम्रो माटोमा हुने बन्दले मेरो माटोमा असर गर्छ । त्यसैले संविधानमा मधेसका समस्यालाई सामाधान गरेर दिनु पर्यो । काठमाण्डौमा मोदी आउँदा मोदी जिन्दावाद भनेर नारा सुन्दा मलाई कसो न कसो लाग्यो । मोदी जिन्दावादको अर्थ प्रकारान्तरले के भन्छ भने सुशिल कोइराला मुर्दावाद, पुष्पकमल दाहाल प्रचण्ड मुर्दावाद, केपी शर्मा ओली मुर्दावाद । त्यस भित्र लुकेको अर्थ त्यही हो । मलाई त्यो प्रिय लागेको थिएन । मधेसमा दुई तिन दिनको बसाई पछि मलाई के थाहा भयो भने दिल्ली मधेस आन्दोलनमा कुनै न कुनै रुपले प्रबेश गर्यो त्यसपछि मधेसमा कुनै पनि आन्दोलनकारी मारिएन । काठमाण्डौ गएपछि ति मालिकहरुले तिमीले तिम्रै देशका नागरिकहरुलाई अन्तरिम संविधानमा लेखिएका अधिकारहरु माग्दा खेरी तिमीले छाती र टाउको ताकेर गोली मारिरहयौ । तर, जब तिम्रो मालिक दिल्ली वा मोदीले भन्यो तिमीले सुन्यौ । जब आफ्ना देशका नागरिकले भने तब तिमीले सुनेनौ तर मोदी अथवा दिल्लीले भन्दा तिमीले सुन्यौ । तिमी डरले अथवा अन्य कारणले मान्छे मार्न छोड्यौ । दिल्लीको दलाल को हो ? नेपालमा मधेस तराई र भारतको सिमाना खुल्ला छ । तपाईहरुले सिमामा अवरोध गर्दा काठमाण्डौमा अप्ठयारो भएको छ । चिनबाट पेटूोलियम पदार्थ र अत्यावश्यक वस्तुहरु ल्याएर दिल्लीलाई देखाईदिने भनिएको छ । हामी भारतलाई देखाईदिन सक्दैनौं । कतिपय कुराहरुमा भारत हाम्रो ठुल्दाई नै हो । हामी उनीहरुमा निर्भर छौ । हामी औपचारिक रुपमा सार्बभौम सत्ता सम्पन्न देश हौं । तर न त हामी स्वतन्त्र छौ न त सार्बभौम सत्ता सम्पन्न नै । त्यो हाम्रो आफ्नो कमजोरी हो । हामीले आर्थिक परनिर्भरताको विकल्प खोजेनौं । हाम्रो आर्थिक जग बलियो छैन । कुटनीतिक कौशल पनि हाम्रो राम्रो छैन । तपाईसँग जब केही छैन र नियति नै माग्ने हो भने तिनले तपाईलाई सधैं हेप्छन् ।
नेपालका शासक दिल्लीको दलाल
यो कस्तो देश हो जहाँ जनताबाट निर्वाचित भएका प्रधानमन्त्री लैनचोरमा छोरा छोरीको लागि छात्रवृति माग्न जान्छ । यो त्यो देश हो जहाँ प्रधानमन्त्री बनि पाउ भनी बिन्ती पत्र चढाउन जान्छन् । चरण स्पर्श गर्न जान्छन् । यो त्यो देश हो जहाँ सत्तामा रहेकोलाई खसाई पाऊँ र मलाई उकाली पाऊँ भनेर विन्ती गर्न जान्छन् । त्यसरी जाने त पहाडीहरु नै हुन । मेरो बंश बन्धुहरु नै हुन । तिमीहरु राष्टूवादी, देशभक्त र मधेसी चाही दलाल ?
मधेसी नै सच्चा राष्टूवादी र देशभक्त
म त के भन्छु भने नेपालको सबै भन्दा राष्टूवादी मधेसी नागरिकहरु हुन । नेपालको केन्द्रिय सत्ताले यति ठुलो उत्पीडन गर्दा गर्दै पनि म तिम्रो अत्याचार अन्तरगत राज्यमा बस्दिन भनेर मधेसले भनेको छैन । मधेसले के भनेको छ भने म यही राज्यमा बस्छु । म लड्छु , अधिकार खोसेर लिन्छु । म यही देशमा बस्छु । यो देशको गौरवलाई कायम राख्छु र म यो देश बनाउछु । त्यसैले पहाडी भन्दा मधेसीहरु धेरै ठुलो देश भक्त र राष्टूवादी छन् । अहिले काठमाण्डौमा उन्माद आएको छ । सबै राष्टूवादी बनेका छन् । राष्टूवादको नाममा सिद्धान्तको विसर्जन भएको छ । आदर्श विसर्जन भएको छ । केपी शर्मा ओलीलाई त प्रधानमन्त्री बन्नु थियो । जो जो ले जे जे माग्छ त्यो दिएर भएपनि उनलाई प्रधानमन्त्री बन्नु थियो । तर, पुष्पकमल दाहाल र कमल थापा बीचको गठबन्धन कसरी भयो । निरंकुश राजतन्त्रको विरुद्ध हामी लडिरहेको बेला कमल थापा गृहमन्त्री थिए । उसले हाम्रो छाती तिर बन्दुक सोझ्याएको थियो । त्यो बन्दुक त पुष्पकमल दाहालको छाती तिर पनि सोझिएको थियो नि । त्यो त हिजो कै कुरा हो । पुष्प कमल दाहालले त्यो कसरी विर्सेका हुन ? त्यसैले दुर्भाग्यवस क्रान्तिको नायक बनेका पुष्पकमल दाहाल  अहिले प्रतिक्रान्तिको खलनायक बनेका छन् । त्यसको अभिसाप मधेसले झेल्नुपरेको छ ।
सत्ताको साँचो कमल थापाको हातमा
आन्दोलन अढाई महिना वितिसक्यो । ४९ जनाले सहादत प्राप्त गरिसक्यो । कुनै पनि आन्दोलनमा जब मान्छे मारिन्छ त्यो घाउ कम से कम ५० बर्ष सम्म रहिरहन्छ । मधेसका ४९ जना नागरिकका परिवारहरुले त्यो घाउ राखिराखेको छ । त्यो हत्या त्यसले गरेको छ जसले आफुलाई गणतन्त्रवादी भन्छ, प्रजातन्त्रवादी भन्छ, साम्यवादी भन्छ र जसले आफुलाई माओवादी भन्छ । समाजवादी भन्छ । वास्तवमा परम्परागत निरंकुश सत्ताको अवसान भएपछि तिनका सिद्धान्तहरु, आदर्शहरु स्खलित भएका छन् । समाप्त भएका छन् । अहिलेको सरकार भनेको कमल थापाको कांग्रेस एमालेको सरकार हो ।अहिलेको सरकारको वास्तविक प्रतिनिधि भनेको त कमल थापाको सरकार हो । केपी शर्मा ओली र पुष्प कमल दाहाल कमल थापाको अनुयायी हुन । त्यसैले हामी तिनीहरु माथि कठोर टिप्पणी गर्न बाध्य भएका छौं ।
मधेसले अब के गर्ने ?
मधेसले अब के गर्ने, प्रश्न यो हो ? संविधान जारी भए लगतै संशोधन मार्फत आन्दोलनकारीहरुको असंतुष्टिलाई सम्बोधन गरिने छ भनेर तिनीहरुले भनेका थिए । धेरै ठुलो आशा थियो । संविधान जारी भएको ८ ÷१० दिनमा मधेसी मोर्चा बीच गम्भीर सम्बाद गरिएला, मधेसको मागहरु सम्बोधन गरिएला अनि आन्दोलन शान्त होला भनिएको थियो । १६ बुँदे सहमतिमा जे भाग बन्डा गरिएको थियो त्यो भोग गर्नका निम्ति तिनीहरु लिप्त भएका छन् । संविधान संशोधन गर्ने कुरा ओझेलमा परेको छ । त्यसैले सजिलो सँग अहिलेका सत्ताधारीहरुले मधेसीका माग पुरा गर्ला जस्तो मलाई लाग्दैन । तपाईले यो आन्दोलनलाई अझ सशक्त पारेर आफ्नो अधिकारहरु लिनु हुन्छ कि त तपाईहरुले अधिकारै प्राप्त गर्नु हुन्न । अहिलेका सत्ताधारीहरुको मनसाय के देखिन्छ भने आन्दोलनलाई लम्बयाउने, आन्दोलनलाई थकाउने, आन्दोलनमा फुटपैदा गर्ने, आन्दोलनलाई बदनाम गर्ने र यथा स्थितिमा शासन सत्ता चलाउने । अहिले आन्दोलनको यथास्थितिमा यो सत्ताले मधेसीहरुको माग पुरा गर्दैन । आन्दोलनलाई अझ सशक्त बनाउन आवश्यक छ । पहिलो कुरा त्यसका निम्ति हामीले जे जे प्रयोग गरिरहेका छौ त्यसलाई अझ कठोर बनाउने हो । दोस्रो कुरा, मधेसमा बस्ने पहाडीहरुलाई आन्दोलनमा सक्रिय गराउने हो । हामीले उनीहरुलाई निवेदन गर्ने हो कि तपाईहरु व्यापक संख्यामा हाम्रो आन्दोलनमा सहभागी हुनुस । माथीको सत्ता माथि धेरै ठुलो दवाव हुनेछ । किनभने पहाडी शासकहरुले मधेसीलाई वढी नै हेप्छन् । तर पहाडी सडकमा आयो भने तिनीहरु डराउँछन् । मेरै वर्गको, मेरै वंशको हो भन्ने हुन्छ । मधेसी त विदेशी भयो, दुई नम्बरको भयो । त्यलाई जे गरे पनि हुन्छ । त्यसको आक्रोशलाई जसरी दवाए पनि हुन्छ । तेस्रो कुरा, यति वृहत आन्दोलनमा मधेसको दलित समुदाय त्यति मात्रामा सरिक भएको मैले देखिन । छिटफुट भएका होलान तर व्यापक मात्रामा दलित छैनन । चौथो कुरा, आन्दोलनलाई दवाव मुलुक बनाउनका निम्ति मधेसी समुदाय बाहेक जनजाती र आदिवासी सँग सहकार्य, मधेस आन्दोलन प्रति सदभाव राख्ने, त्यसकापक्षमा बोल्नेहरुलाई आन्दोलनमा सक्रिय हुन निवेदन गर्नुपर्छ ।
काठमाण्डौको मिडियाले मधेस आन्दोलन देखेन
काठमाण्डौको मिडियामा मधेस आन्दोलन छैन । काठमाण्डौको मिडियामा मधेस आन्दोलन कहि छ भने मधेस आन्दोलनलाई बदनाम गर्नको लागि मात्र छ । मिडियामा के लेखिएको छ, आन्दोलनले जनजीवन कष्ठकर बनेका छन् । आन्दोलनका कारणले केटा केटीहरुले पढन पाएका छैनन् । आन्दोलनका कारण उपभोग्य बस्तुहरुको अभाव भएको छ । आन्दोलनका कारणले उद्योग व्यवसायहरु चौपट भएको छ । आन्दोलनको परिणामको चर्चा गरिन्छ तर कारणको चर्चा कसैले गर्दैन । न त बजारले गर्छ न त बौद्धिकले गर्छ । न त सत्ताधारीहरुले गर्छ । त्यसैले मधेसको आवाज काठमाण्डौको मिडियामा पुर्याउनका निम्ति मधेस प्रति सदभाव राख्ने, मधेस आन्दोलन प्रति निष्ठा राख्नेहरुलाई क्रियाशिल बनाउनु पर्छ । हामीले भन्नै पर्छ, हाम्रो आवाज त तिमीहरुले छाप्दैनौं कम से कम हाम्रो कुरालाई प्रवेश त गराईदेऊ । एक त हाम्रो कुरा प्रकाशित हुँदैन, त्यसको लागि ठाउँ नै हुँदैन र यदि कहिले काँही प्रकाशित भए पनि सत्ताधारीले त्यसलाई वास्ता गर्दैन ।
मधेसीले सिंहदरवार घेर्नुपर्छ
आन्दोलन लामो भयो भने धेरै असजिलो हुन्छ । आन्दोलनमा घुसपैठ हुन सक्छ, बदनाम गराउन षडयन्त्र हुन्छ र आन्दोलनकारी थाक्न पनि सक्छ । त्यसैले अबको आन्दोलन दुई तिन हप्ता पर जानु हुँदैन । हामी जे गर्न सक्छौ यहि बीचमा गर्ने हो । एउटा उपाय अझै पनि छ ।  मधेसी समुदायले सिंहदरवार घेर्नु पर्छ । अहिले मधेसले सिमाना घेरे, पेटूोलियम पदार्थ र औषधि आउन दिएनन् । यो नाकाबन्दी भारतको हो भन्ने आरोप लागेको छ । तर, म के भन्छु भने भारत कही पृष्ठभुमिमा बसेको होला, त्यसको आफ्नै स्वार्थ होला तर यो नाकाबन्दी मधेसीले नै गरेको हो । अरु कुनै विकल्प र उपायहरु काम नलागेपछि काठमाण्डौ माथि दवाव पैदा गर्नका लागि, दवावको माध्यमले आफ्ना मागहरु पुरा गराउनका लागि मधेसीहरुले नै नाकाबन्दी गरेको हो । दिल्लीलाई निवेदन गर्नु पर्दैन नाकाबन्दी खोल भनेर ।मधेसी नागरिकहरुले आन्दोलनका माध्यमले उठाएका मागहरुलाई सम्बोधन गरेपछि मधेसमा आन्दोलन शान्त हुन्छ । नाकामा कसैले अवरोध गरेको छ भने त्यो फर्केर जान्छ । समस्या आफ्नो आँगनमा छ । दिल्लीलाई देखाएर मधेसको आन्दोलन बदनाम गर्न पाइँदैन । हामी नेपालीले यो कुरा भन्न सक्नु पर्दछ ।
धेरै सिके राउतहरु जन्मिने खतरा
ठाउँ ठाउँ घुम्दा मैले के सुने भने, धेरै पटक आन्दोलन भयो, अन्तरिम संविधानमा पनि लेखियो, सम्झौतामा पनि लेखियो तर शासनमा बस्नेहरुले यी पाएका अधिकारहरु पनि खोसेका छन् । के यो भन्दा पनि हामीले चर्को नारा दिनु पर्ने हो ? पृथकताको नारा दिने हो अब ? यूद्धमा जाने हो अब ? यस्ता प्रश्नहरु आउन थालेका छन् । मलाई के लाग्छ भने शान्तिपुर्ण आन्दोलनको माध्यमले आफ्ना वैधानिक अधिकारहरु माग्दा आफ्ना धेरै नागरिकहरु मारिएपछि मधेसमा यो क्रम लम्बिए पृथकताको माग उठ्नेछ । यो पृथकताको आवाज मधेसीले उठाएको होइन । पहाडे राज्य सत्ताले मधेसीलाई धेरै पर धकेलिदिएको छ । मधेसीहरुको आक्रोश चरमोत्कर्षमा पुगेको छ । अर्को कुरा यूवाहरुमा के पनि सुनिन्छ भने शान्तिपुर्ण आन्दोलनको माध्यमले यो राज्यले मधेसको माग पुरा गर्दैन भने हामी यूद्धमा जान्छौं । माग पुरा गरिएन भने मधेसी यूद्धमा साँच्चै जान पनि सक्छ । मधेसले छुट्टै देशको माग पनि गर्न सक्छ । मैले सिके राउतको नारालाई समर्थन गरेको होइन । म फेरी पनि दोहोरियाउछु कि मधेसीहरुले दावी गरेको सामान अधिकारलाई सत्तामा रहेका बर्चस्वशालीहरुले आफ्नो स्वार्थ जोगाउनका लाग बल प्रयोग गर्ने हो भने मधेसमा धेरै सिके राउतहरु जन्मिने छन् । सिके राउतले भन्ने कुराहरु कतिपय सन्दर्भमा अभद्र जस्तो लाग्ने गर्छ तर सिके राउत जस्तो विद्धानले जे भनिरहेको छ, त्यो किन भनिरहेको छ त्यसको कारणको खोजी गरिनुपर्छ । कारणको खोजी गरेर सम्बोधन गरिनुपर्छ । सयौं वर्ष देखि मधेसीहरु माथि अन्याय र अत्याचार भएको छ । त्यो आक्रोश सिके राउतले अभिव्यक्त गरेको छ ।
क्रान्तिको जिम्मा मधेसको काँधमा
आन्दोलन लम्बिदै गयो भने आन्दोलनलाई दमन चक्रबाट समाप्त गर्ने प्रयत्न गर्यो भने मधेसमा धेरै सिके राउतहरु जन्मिने छन् । र त्यसको जवाफदेही सुशिल कोइराला, खड्ग प्रसाद शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड हुनेछन् । मधेसी जनता त्यसका लागि जवाफदेही हुनेछैनन् । तपाई न्यायको आन्दोलनमा हुनुहुन्छ । तपाई सच्चा राष्टूवादी हुनुहुन्छ । तपाई लड्नुस तपाईको जित सुनिश्चित हुन्छ । हामीले देखेका छौं नागरिकलाई मार्ने दमन गर्ने अन्याय गर्ने ज्ञानेन्द्रको अवसान हामी आफ्नै आँखाले देखेका छौं । औपचारिक रुपमा गणतन्त्र घोषणा भएको छ । श्रीपेच लगाउने र सिंहासनमा बस्ने एउटा राजाको अन्त भएको छ । तर त्यो खाली ठाउँमा टोपी लगाउने राजाहरुको उदय भएको छ । टोपी लगाउने राजाहरुले आफ्नै समाज र समुदायका नागरिकहरुले मागेका वा दावी गरेका मागहरुलाई दमन नै गर्ने हो भने तिनको नियती पनि त्यही हुनेछ जुन श्रीपेच लगाउने ज्ञानेन्द्रको भएको थियो । पुष्पकमल दाहालले क्रान्तिको विसर्जन गरेपछि क्रान्ति अब मधेसबाटै सुरु भएको छ । त्यो गौरव तपाईहरुलाई प्राप्त भएको छ । तपाईहरुका युद्धहरुमा यूगपाठक र मैले जे जति सहयोग गरे त्यो गरिरहने छौं । हामी भनिरहने छौं ।
(जनकपुर बौद्धिक समाजद्वारा १३ कार्तिकमा जनकपुरमा आयोजित मधेसी समस्या र समाधान विषयको विचार गोष्ठीमा स्तम्भकार तथा लेखक खर्गेन्द्र संग्रौलाले दिएको अभिव्यक्ति)



 २०७२ कार्तिक १५ गते आईतबार

No comments:

Post a Comment