द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालमा अहिले नेपाल सरकारको तर्फबाट कुल १५ जना र विकास समितिको तर्फबाट १६ गरी कुल ३१ जना चिकित्सकहरु कार्यरत रहेका छन् । तर, अस्पतालमा ती चिकित्सकहरु प्रायः जसो भेटिँदैनन् । उपचार गराउन पुग्ने विरामीहरु त्यहाँ उपचार नगराईकनै फर्किनुपर्ने बाध्यता रहेको हुन्छ । एक मात्र विकल्प भनेको नीजि नर्सिङ होम तथा क्लिनिकहरुमा गएर मोटो रकम तिरी उपचार गराउनु हो । चिकित्सक ड्यूटीमा रहँदैनन् भन्ने तथ्य अस्पतालका कार्यालय प्रमुख समेतको जिम्मेवारी सम्हालेका मेडिकल सुप्रिटेन्डेन्ट डा.संजय कुमार ठाकुर पनि स्वीकार गर्छन् । उनी भन्छन,“धेरै डाक्टरहरुलाई स्पष्टिकरण पनि सोधिसकेको छु । वढी भन्दा वढी दुई ग्रेड रोक्का गर्न सक्ने मात्र मेरो अधिकार छ । त्यसैले डाक्टरहरुले मलाई अटेरी गरिरहेका छन् ।” ती चिकित्सकहरु अस्पतालकै व्यानर सहितको बोर्ड झुन्डयाएर बाहिर क्लिनिकमा बसिरहेका हुन्छन् । तर, अस्पतालमा ड्यूटी गर्दैनन् । विहान आएर हाजिरी गर्ने, ओपिडीमा सामान्य चेक जाँच गर्ने र फर्किने गर्छन डाक्टरहरु । १० बजे आउने र १२ बजे फर्किने डाक्टरहरुलाई अस्पतालमा रोकिराख्न अक्षम भएका छन् मेसु ठाकुर । हुन त उनले डाक्टरहरुलाई रोक्न विहान र दिउँसो सिएमई र कन्फ्रेन्स समेतको व्यवस्था मिलाएका छन् । तर, डाक्टरहरु सहभागी नै हुँदैनन् ।
‘कुनैपनि अस्पतालको मुटु भनेको त्यसको इमरजेन्सी कक्ष हो । इमरजेन्सी कक्षमा भर्ना हुने गरेका रोगीहरु उपचारपछि कि त त्यस अस्पतालको वार्डमा सारिन्छन, निको भएर घर फर्किन्छन, अन्यत्र अस्पतालमा रेफर गरिन्छन वा मृत्यु भएपछि मसानघाटको यात्रा गर्छन ।’ जनकपुर अञ्चल अस्पतालको इमरजेन्सी कक्षका एक जना कर्मचारी भन्छन,“ तर, हामी कहाँ आउने प्रायः रोगीहरु वाहिर नै रेफर गरिन्छन् ।” उनको यो भनाईले पनि जनकपुर अञ्चल अस्पतालको शाख दिन प्रति दिन कतिसम्म खस्किदै गएको छ भन्ने पुष्टि हुन्छ । इमरजेन्सीमा भर्ना हुने प्यासेन्टहरुलाई प्राथमिक उपचार गर्ने भन्दा वढी कार्य गर्न एक किसिमले अञ्चल अस्पताल असमर्थ सावित भईसकेको छ । सामान्य अवस्थामा भर्ना हुने रोगीहरुको उपचार हुने गरेपनि गम्भीर अवस्थामा पुगेका रोगीहरु त्यहाँ गएर मृत्युलाई कुर्नु भन्दा आफै अन्य अस्पताललाई रोज्न बाध्य भएका छन् । एक त विशेषज्ञ चिकित्सकहरु नै छैनन्, भएका चिकित्सकहरु पनि अस्पतालमा देखिनुको साटो निजी क्लिनिक र नर्सिङग होममा व्यस्त रहन्छन् । अस्पतालमा भर्ना भएपछि घन्टौं स्लाइनको भरमा कुराइन्छ विरामीलाई । अनि अनकलमा मात्र आउँछन विशेषज्ञ डाक्टर । त्यो पनि प्यासेन्टले धेरै पावर पु¥यायो भने मात्र । यस्तो अवस्थामा विरामीको मृत्यु हुन गएमा आक्रोशित परिवारले चिकित्सकलाई समेत हात पात गर्न बेर लगाउँदैनन् । त्यसैको फाइदा उठाई भर्ना हुने वित्तिकै विरामी पनि आफ्नो ज्यान जोगाउन त्यहाँबाट रेफर चाहन्छन् । र, चिकित्सक पनि जोखिमबाट मुक्त हुन रेफर गरिदिएर ढुक्क हुन चाहन्छन् । यही हो अञ्चल अस्पतालको आकस्मिक कक्षको नियति ।
अर्को तितो सत्य के हो भने इमरजेन्सीमा पुगेका प्यासेन्टहरुलाई अस्पताल रोडका औषधि पसले, एम्बुलेन्स चालकहरुले समेत तपाईको उपचार यहाँ चिकित्सकले गर्न सक्दैन, बाहिर लग्नुस नत्र भने प्यासेन्ट मर्न पनि सक्छ भनेर डराईराखेका हुन्छन् । तिनीहरुको एम्बुलेन्स रहेका कारण एम्बुलेन्सबाट रुपैयाँ कमाउन र बाहिर पठाउने अस्पतालबाट कमिशन लिन प्यासेन्टलाई दिगभ्रमित गरिरहेका हुन्छन् । यसरी बाहिर पठाउने काममा अस्पतालमा भोलन्टियरका रुपमा काम गर्ने कर्मचारी देखि लिएर थुप्रै दलालहरु सक्रिय हुन्छन् ।
![]() |
सिटी स्कयान मेसिनका साथ मेसु डा.संजय ठाकुर
र पुर्व मेसु डा.गौराङ मिश्र तथा प्राविधिकहरु ।
|
चार दिन अघि मेसु आफैले दलालीलाई रोक्न प्रयास गरे । इमरजेन्सी कक्षबाट स्टूेचरमा विरामी बाहिर लगेको देख्दा मेसुले विरामीलाई किन बाहिर लगेको भनेर सोध्दा यहाँ अस्पतालमा उपचार सम्भव छैन, बाहिर क्लिनिकमा मात्र सम्भव छ भनेर डाक्टरले भनेका कारण प्यासेन्टलाई बाहिर क्लिनिकमा लगिरहेको जवाफ दिए । मेसु प्यासेन्टसँगै क्लिनिकमा पुगेर त्यो डाक्टरलाई यो के गरेको भनेर सोध्दा डाक्टर अनुतरित भए । किनभने त्यो डाक्टर अस्पतालकै कर्मचारी थिए । पछि मेसुलाई नै गाह्रो पारिदिएपछि मेसु चुपचाप फर्किएका थिए । यसरी अस्पतालमा दलाली कतिसम्म हावी छ भन्ने कुरा पुष्टि हुन्छ ।
यसरी जनकपुर क्षेत्रका बिरामीहरुको उपचार गराउने थलो नेपाल सरकारको जनकपुर अञ्चल अस्पताल आफै बिरामी परि दिन प्रतिदिन थला पर्दै गइरहेको छ । यस भेगका रोगबाट मुक्ति पाउने एक मात्र सरकारी अञ्चल अस्पताल नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, अस्पताल प्रशासन एवं डाक्टरहरुको हेलचक्रयांईले गर्दा अस्तब्यस्त बन्न पुगेको छ । परिणाम स्वरुप अञ्चल अस्पतालबाट जनताको भरोसा उठ्दै गएको छ र निजी क्लिनिक तथा नर्सिङ्ग होमहरु मालामाल भइरहेका छन् । लगभग चालीस लाख भन्दा बढी जनसंख्या रहेका क्षेत्र धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, सिरहा, उदयपुर, रौतहटका केही क्षेत्र लगायत मित्र राष्टू भारतका बिहार राज्यसंग सिमा जोडिएका केही गाउँका समेत गरि बार्षिक डेढ दुई लाख रोगीहरु आर्थिक अभाव एवं समिप्ताका कारण चाँडो उपचार पाउने आशामा जनकपुर अञ्चल अस्पतालमा आउने गर्छन । तर यहाँ उपचार गर्न आएका रोगीहरु दक्ष डाक्टरहरु एवं रोगीले पाउनु पर्ने विभिन्न सेवाको अभावमा रोगीहरु छटपटाउन बाध्य छन् ।
![]() |
मेडिकल सुप्रिटेन्डेन्ट डा.संजय ठाकुर । |
एक सय नेपाल सरकार र एक सय विकास समितिको तर्फबाट गरी कुल बेड संख्या २०० रहेको यस अस्पतालमा नेपाल सरकारको बिभिन्न सेवाका लागि डाक्टरहरुको दरबन्दी रहे पनि विशेषज्ञ चिकित्सकहरुको दरबन्दी रिक्त नै रहेको छ । नेपाल सरकारको दरबन्दी अनुसार अस्पतालमा हुनुपर्ने विभिन्न सेवाका डाक्टरहरु मध्ये एघारौं तहका स्त्री रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, म.सु रिक्त छन् । त्यसैगरी नबौं दशौ तहका सर्जन, साइक्याटिूस्ट, डेन्टल सर्जन, कन्सलटेन्ट पिडियाटिूसियन, इएनटी, प्याथोलोजिष्ट, ऐनेस्थेसियोलोजिस्ट, मेटूोन र डर्माटोलोजिस्ट गरी प्रमुख विशेषज्ञ सेवाहरुका दरबन्दी बर्षौं देखि रिक्त रहेका छन् ।
एघारौं तहका फिजिसियन, सर्जन, गाइनोक्लोजिस्ट, पिडियाटिूसियन, नबौं÷दशौं तहका सर्जन, अर्थाे सर्जन, एनेस्थिसियोलोजिस्ट, रेडियोलोजिस्ट, डर्मालोजिस्ट, गाइनोक्लोजिस्ट, इएनटी सर्जन, डेन्टल सर्जन र आठौं तहका वरिष्ठ मेडिकल अधिकृत, डेन्टल सर्जन क्रमशः १÷१ जना पद वर्षौं देखि रिक्त रहेको छ । यसमा पनि अधिकांश डाक्टरहरु अक्सर बिदामा बस्छन र आ(आफ्ना क्लिनिक र नर्सिङ्ग होम चलाउँछन । बिहान ८ बजे देखि दिउँसो २ बजे सम्म अस्पतालमा सेवा गर्नुको सट्टा बिहानी पख अस्पताल अगाडी रहेका आ(आफ्ना क्लीनिकमा रोगीहरुको सेवा गरि ११ बजे सम्म चिकित्सकहरु अस्पताल पुग्ने गर्छन र १२ बजे सम्म अस्पतालका रोगीहरु संग सम्पर्क गरि खाना खाने निहुमा पूनः आफ्नै क्लीनिकमा छिर्ने गर्छन् । त्यस पश्चात अस्पतालमा रोगिहरुलाई फकाएर क्लीनिकमा लैजाने दलालहरु सकृय हुने गर्छन् । त्यस्तै अस्पतालमा कार्यरत पैथलोजीस्टहरुको अस्पताल बाहिर रहेका ल्याबहरुले बिरामीलाई धामाधम सेवा दिने गर्छन् । यसरि दैनिक दिनचर्याबाट अस्पताल अगाडी बढिरहेको छ । अनप्mलोर ड्यूटी गर्ने तीन जना मेडिकल अफिसरहरुको दरबन्दी समेत रिक्त रहेको छ ।
त्यसैगरी विकास समिति तर्फ पनि केही दरबन्दीहरु रिक्त रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यो दरबन्दी पुर्ती नगर्दा समस्या त भएकै हो तर, दरबन्दीमा रहेका चिकित्सकहरुले पनि सेवा नै नदिँदा विरामीहरुले सेवा पाउनबाट वञ्चित हुनुपरेको छ । नर्सहरुको भरमा चलेको अस्पतालको अवस्था अत्यन्तै दयनिय बन्दै गएपनि मेडिकल सुप्रिटेन्डेन्ट डा.संजय ठाकुर केहि पनि गर्न सकेका छैनन् । उनलाई कसैले समस्या सुनायो भने बरु आफु राजीनामा दिन तयार रहेको भन्दै जिम्मेवारी र जवाफदेहिताबाट पन्छिन खोज्छन् ।
नेपाल सरकारको तर्फबाट १९ जना र विकास समितिको तर्फबाट २८ जना कार्यालय सहयोगीको दरबन्दी छ । र, विकास समितिको तर्फबाट २२ जना स्वीपर पदमा कार्यरत रहेका छन् । तर, कुल ६९ जना कार्यालय सहयोगी र स्वीपर रहेको उक्त अस्पतालमा सर(सफाईको कुनै व्यवस्थापन भएको पाइँदैन । जताततै फोहोरहरु थुपारिएका हुन्छन् । कुनै पनि वार्डहरुमा सर सफाई भएको प्यासेन्ट र कुरुवालाई अनुभुति हुँदैन । शौचालयहरुमा त झन् प्रवेश नै गर्न सकिन्न् ।
अस्पताल स्रोतका अनुसार कतिपय कार्यालय सहायकहरुले तलब अस्पतालबाट खाएपनि काम भने चिकित्सकहरुको घर र भान्सामा गर्ने गरेका छन् । वार्डहरुमा विरामीलाई स्टूेचरमा सार्नुपर्दा वा अन्य सहयोग पु¥याउने काम हुन्छ कार्यालय सहयोगीको । तर, तिनीहरु प्रायः जसो वार्डमा देखिदैनन् । यतिमात्र होइन वार्डमा खट्ने अन्य कर्मचारी नर्स, स्वीपर समेत प्रायः ढिलो आउने, विरामीलाई सेवा पुरयाउने भन्दा पनि हप्काउने जस्ता कामहरु गरेका देखिन्छन् । विकास समितिको तर्फबाट सर सफाइका लागि २२ जना स्वीपरको दरबन्दीमा २२ जनै कार्यरत रहेपनि अस्पतालमा सर सफाइ कहिल्यै देख्न सकिन्न ।
डा.रामशंकर ठाकुर मेडिकल सुप्रिटेन्डेन्ट भएको बेला उनी २४ घन्टै अस्पतालमा उपलब्ध हुन्थे । सर सफाई पनि राम्रै व्यवस्थापन गरिएको थियो । साताको हरेक शुक्रबार डा.ठाकुर आफै झाडु लिएर सर सफाइ गर्थे । र, अरुलाई पनि गर्न लगाउँथे । ड्यूटी आवरमा चिकित्सकलाई अस्पतालमै बस्न बाध्य पार्थे । चिकित्सक लगायत अन्य कर्मचारीहरुलाई पनि पोसाक र नेम प्लेटका साथ उपस्थित गराउथे । तर, उनी जाने वित्तिकै ती सबै व्यवस्था पनि उनी सँगै गए ।
विकास समिति पनि निकम्मा
कार्यालय समय भित्र उपस्थित नहुने, नियम विपरित कार्य गर्ने मेडिकल सुप्रिटेन्डेन्ट देखि सम्पुर्ण चिकित्सक र कर्मचारीलाई नसिहत दिने, वढीमा तीन तलब वृद्धि वा वढुवा रोक्का गर्ने, भविष्यमा सेवाका निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने र भविष्यमा सेवाको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट वर्खास्तको सजाय समेत प्रस्ताव गर्न सक्ने अख्तियारी जनकपुर अञ्चल अस्पताल नियमावली २०६३ ले विकास समितिलाई प्रदान गरेको छ । अस्पतालमा कार्यरत कुनै पनि कर्मचारीले अस्पतालको तर्फबाट कुनै काम कारोबार संचालन गर्दा अस्पताललाई अहित गरी गर्न नहुने, कर्मचारीले जानाजान, लापरवाही वा त्रुटिपुर्ण ढंगले काम कारोवार गरी अस्पताललाई कुनै प्रकारबाट हानी नोक्सानी पु¥याउन नहुने उक्त नियमावलीमा उल्लेख छ । त्यसैगरी अस्पतालमा दिइएको समय भित्र कुनैपनि कर्मचारीले कुनै प्रकारको स्वास्थ्य संस्था वा क्लिनिक संचालन गर्न वा त्यस्तो स्वास्थ्य संस्था वा क्लिनिकमा काम गर्न वा अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न नमिल्ने गरे कारवाही हुने उक्त नियमावलीमा उल्लेख छ ।
तर, अहिलेको विकास समिति पुरापुरी निकम्मा बनेका छन् । मेसुको पछि पछि लाग्ने विकास समितिका अध्यक्ष डा.नागेन्द्र प्रसाद यादव अख्तियारी भएर पनि अख्तियारी विहिन बनेका छन् । किनभने उनी अञ्चल अस्पतालको कर्मचारी पनि हो । मेडिकल अफिसर पदमा कार्यरत रहेका उनी एकातर्फ विकास समितिका अध्यक्ष पदमा छन् भने अर्को तर्फ उनी मेसुको मातहतमा काम गर्ने कर्मचारी पनि भएकाले मेसुलाई अराउनसक्ने हैसियत हुँदैन । विगतमा राजनीतिक व्यक्तिहरु उक्त पदमा मनोनित हुने गर्थे । तर, खिलराज रेग्मी मन्त्रिपरिषदको अध्यक्ष भएका बेला अस्पतालकै चिकित्सकलाई विकास समितिको अध्यक्षमा राखिने प्रावधानले यस्तो अवस्था आएको हो । अस्पतालमा कार्यरत चिकित्सकहरु मेसु र विकास समितिका अध्यक्षको कामबाट संतुष्ट छैनन् । चिकित्सकहरुका अनुसार मेसु र विकास समितिका अध्यक्ष दुवै जना मध्ये कोहीले पनि ओपिडी ड्यूटी गरेका छैनन् ।
भ्रष्ट व्यक्तिलाई मेसुको कृपा
जनकपुर अञ्चल अस्पतालमा अहिले कर्मचारीहरुले मेसुको नियतमाथि शंका गर्न थालेका छन् । बाहिरबाट आफु इमान्दार रहेको देखाउन खोजेका मेसुले भ्रष्ट मान्छेलाई पेश्की रकम सहितको अख्तियारी दिनुले पनि कर्मचारीहरु मेसुको हर्कतबाट शशंकित बनेका छन् । अस्पतालमा खरिदार पदमा कार्यरत विजय कुमार साहलाई उनले थुप्रै कार्यक्रमहरुको पेश्की दिने गरेका छन् । आमा सुरक्षा कार्यक्रम, कन्सलटेन्सी, मेडिसिन लगायत थुप्रै कार्यक्रमहरुको शिर्षकमा खर्च गर्न उनलाई मेसु ठाकुरले पेश्की दिने गरेका छन् । विजय साह ती कर्मचारी हुन जो गौराङ मिश्र मेडिकल सुप्रिटेन्डेन्ट भएका बेला भ्रष्ट ठहर भएका थिए । विजय साह त्यतिबेला काउण्टरमा काम गर्दा करिब १ करोड ३२ लाख रुपैयाँको भ्रष्टाचार भएको आरोप लागेपछि ८२ लाख रुपैयाँ जति अनियमितता गरेको आन्तरिक छानविनबाट ठहर भएको थियो । पछि साहबाट अस्पतालले उक्त रकम असुल उपर गरेको थियो । विजय साह पुर्व मेडिकल सुप्रिटेन्डेन्ट डा.हुक्मदेव साहका भान्जा हुन । त्यसैगरी मेसुले सर्जरी फाँटमा मेडिकल अफिसर डा.रविन्द्र सिंहलाई सर्जरी फाँटका इन्चार्ज बनाएका छन् । सर्जरीको बारेमा केही ज्ञान नै नभएका डा. सिंहलाई सर्जरी इन्चार्ज बनाएर सर्जन डा.कविर तिवारीलाई गलाएका छन् । डा. तिवारी पदमा सिंह भन्दा माथिल्लो तहमा छन् । तर, उनलाई आफ्नो जुनियरको मातहतमा काम गर्नुपरेको छ । यति मात्र होइन अस्पतालमा कार्यालय सहयोगीले एक्स रे जाँच गर्ने गर्छन । कार्यालय सहयोगी राजकिशोर पण्डित र इश्वर देव मण्डलले एक्स रे जाँच गरिरहेका छन् । यो भन्दा ठुलो विडम्बना अस्पतालको लागि के हुन सक्छ ?
मेसुको सकारात्मक प्रयास
जनकपुर अञ्चल अस्पताललाई सुधार गर्न मेसु डाक्टर ठाकुरले केही प्रयासै नगरेको पनि होइन । १४ असोज २०७१ मा मेसुको रुपमा आएका ठाकुरले कर्मचारीहरुको तलब नियमित गराउन सफल भएको दावी गर्छन् । उनी भन्छन,“ आफु आउँदा कर्मचारीहरुको तलब ३ महिना व्याक चलिरहेको थियो । तर, आफुले विकास समिति तर्फ आम्दानी वढाएर कर्मचारीहरुको तलब नियमित गर्न सफल भएको छु ।” तर, अस्पतालका कर्मचारीहरु उक्त कुरा पत्याउन तयार छैनन् । कर्मचारीहरुका अनुसार पहिले तलब व्याक थियो तर इन्सेन्टिभ व्याक थिएन । अहिले कर्मचारीहरुले बर्षभरीको इन्सेन्टिभ पाउन सकेका छैनन् । कर्मचारीहरुका अनुसार मेसुले आएर कुनै जादु गरेको छैन र तलब नियमित भएको हो । तलब खुवाउन मेसुले नर्सिङ कलेजबाट पैसा सापटी लिएका छन् । मेसु ठाकुरले अर्को राम्रो काम के गरेका छन् भने आय व्ययलाई सार्वजनिक गर्ने गरेका छन् । बलराम मिश्र मेसु हुँदा आय व्यय सार्वजनिक हुँदैन्थ्यो । तर, उनी आएपछि प्रत्येक महिनाको आय व्यय सूचना बोर्डमा टाँसेर सार्वजनिक गर्ने गरेका छन् । मेसु ठाकुर भन्छन,“ आफु आएपछि अस्पतालमा आर्थिक अनियमितता हुन दिएको छैन । आर्थिक पारदर्शिता गरेको छु ।”
त्यसैगरी उनले हरेक विभागमा इन्चार्जहरुलाई जिम्मेवार बनाउन प्रयास गरेका छन् । गरिब विरामीहरुलाई नियमानुसार फर्म भराई रु.२ हजार सम्मको जाँच परताल निशुल्क गर्ने तथा निशुल्क औषधि रेकर्ड राखि वितरणको व्यवस्था मिलाउने, रु.२ हजार सम्म वार्ड इन्चार्ज समन्वय गरी सानो तिनो मर्मत सम्बन्धमा खर्च गर्न सक्ने, विदा स्वीकृति सम्बन्धमा प्रशासन फाँटबाट विदाको सिफारिस लिई वढीमा ७ दिनसम्मको विदा दिन सक्ने गरी विभागका इन्चार्जहरुलाई अख्तियारी दिइएको छ । तर, उक्त अख्तियारको पनि दुरुपयोग भईरहेको बताइन्छ । अस्पतालका कर्मचारीहरुका अनुसार दिइनुपर्ने योग्य व्यक्तिलाई विभाग इन्चार्जको जिम्मेवारी नदिई आफु आसेपासे रहेका यसमेनहरुलाई उक्त जिम्मेवारी दिइएको हो । जनकपुर नर्सिङ क्याम्पसका अनुभवी प्रिन्सिपल जयकिशोर लाललाई हटाएर अनुभवहिन सुनिता गुप्तालाई उक्त जिम्मेवारी दिनु पनि एक उदाहरण रहेको कर्मचारीहरु बताउँछन् ।
मोर्निङ कन्फ्रेन्स तथा सिएमई लगायतका चिकित्सकहरुको लागि शैक्षिक क्रियाकलाप संचालन गरेका छन् । त्यस कार्यका लागि सिनियर चिकित्सकहरुले साथ नदिएको मेसुको गुनासो छ । सम्पुर्ण विरामीहरुको दैनिक प्रोगे्रस रिपोर्ट अध्यावधिक रुपमा चुस्त दुरुस्त गर्न निर्देशन दिएपनि चिकित्सक तथा नर्सहरुले कार्यान्वयन गरेका छैनन् ।
उनको सबैभन्दा नराम्रो पक्ष के हो भने उनी सबैलाई समन्वय गरेर जानै चाँहदैनन् । त्यसकारण कर्मचारीहरु उनीबाट असंतुष्ट छन् । उनी आईसकेपछि केही सप्ताह अघि मात्र सिटी स्कयान मेसिन संचालनमा आउनु ठुलो कुरा हो । तर, उक्त मेसिन अहिले फेरी बन्द हुनु दुर्भाग्य हो ।
२०७२ अषाढ २७ गते आईतबार